नेभिगेशन
समाज

महिला फुटबल विवाद : एन्फा गलत कि प्रशिक्षक ?

खेलकुदमा एउटा भनाइ चर्चित छ– जित्यो भने सबै कमजोरी माफ हुन्छ । हार्‍यो भने चाहिँ एक–एक कमजोरी केलाउन सुरु हुन्छ । 

नेपाली फुटबलमा पनि त्यही भइरहेको छ । एएफसी वुमेन्स एसियन कप छनोटमा असार २१ गते राति नेपाल, आयोजक उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ ले पराजित भयो, त्यसपछि एकपछि अर्को विवाद बाहिर आयो ।

अझ प्रो लाइसेन्स प्राप्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले दिएको अभिव्यक्तिले त नेपाली फुटबल नै तरंगित भइरहेको छ । 

नेपालले एक महिना अगाडि मात्र महिला टिम हेर्ने गरी बेल्जियमका वाइल्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले पनि नेपाललाई एसिया कपमा पुर्‍याउने लक्ष्य राखेका थिए । 

एकदमै छोटो तयारीका साथ उज्वेकिस्तान पुगेका उनले जुन शैलीमा खेलाए, त्यसले धेरैको मन जितेको पनि थियो । नेपालले लाओस र श्रीलंकामाथि गोलको वर्षा नै गर्‍यो भने उज्वेकिस्तानविरुद्ध पनि उत्कृष्ट खेल्यो ।

विश्व वरियतामा आफूभन्दा धेरै माथि रहेको उज्वेकिस्तानले ३–१ को अग्रता लिइसकेको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गरेर बराबरीमा ल्याएको थियो । र, खेल टाइब्रेकरमा पुग्यो । 

दुर्भाग्य, टाइब्रेकरमा नेपालले हार्न पुग्यो । यसको श्रेय महिला टोलीका मुख्य प्रशिक्षक वाइल्डलाई नै जान्छ । 

हो, पहिलो पटक एसिया कप खेल्ने अवसर गुम्नु नेपाली फुटबलका लागि एउटा धक्का थियो । तर जसरी नेपालले खेल्यो, त्यसले भोलिका दिनमा निकै आशावादी हुने ठाउँ दिएको थियो । 

तर नेपाली फुटबल कन्ट्रोभर्सीमा फस्यो ।

१. कप्तान परिर्वतन विवाद  

एन्जिला तुम्बापो सुब्बा पछिल्ला वर्षहरुमा गोलकिपर मात्र होइन, राष्ट्रिय टिमको कप्तान समेत थिइन् । तर एएफसी वुमेन्स कप छनोटमा उनले कप्तान मात्र होइन, प्लेइन ११ समेत गुमाइन् । तीनवटै खेलमा बेञ्चमा बसेर फर्किइन् । 

सवित्रा भण्डारी साम्बा कप्तान भइन् । तर कप्तान बनाउने बेला विवाद भएको खुल्यो । 

मुख्य प्रशिक्षक वाइल्डले गोलकिपरलाई टिमको कप्तान बनाउन नसक्ने भनेका थिए । किन भन्ने प्रश्नमा फिफाको नयाँ नियम सम्झाए । जस अनुसार खेलको समयमा रेफ्रीसँग कप्तान मात्र संवाद गर्नुपर्छ, अरु खेलाडीले संवाद गरे कार्ड पाउनसक्छ । अर्थात् खेल भइरहेका बेला गोलकिपर मैदानमा आएर रेफ्रीसँग कुरा गर्न सम्भव हुन्न, त्यसैले अरु खेलाडी नै कप्तान बन्नुपर्छ । 

महिला टोलीका गोलकिपर प्रशिक्षक सुरज रानाका अनुसार उनले कोचिङ स्टाफहरुसँग छलफल गरेका थिए । तर उनको निर्णय प्रष्ट थियो, एन्जिलालाई कप्तान बनाउन सक्दिन ।

सहायक प्रशिक्षक राजेन्द्र तामाङका अनुसार मुख्य प्रशिक्षक वाइल्डले साम्बा र गीता रानामध्ये एक जनालाई कप्तान बनाउने बताएका थिए । 

एन्फाले बिदाइ कार्यक्रममा नै कप्तान तोक्न चाहेको थियो । 

तर प्रशिक्षक वाइल्डले मानेनन् । नेपाली टोलीको डेलिगेट्स हेड सरिला श्रेष्ठ मलेगोका अनुसार प्लेइङ ११ समेत खेल सुरु हुनुभन्दा ९० मिनेट अगाडि मात्र दिने बताएका थिए । उनले अन्तिम समयमा एउटा लिस्ट दिए, जसमा कप्तान को भन्ने तोकिएको थिएन । 

त्यसैले डेलिगेट्स हेडले सूचीमा भएका खेलाडीहरुमध्ये सिनियर रेनुका नगरकोटीलाई कप्तान राखेर सूची पठाइन् । तर जब आर्मब्याण्ड लगाएर मैदान जाने बेला भयो, मुख्य प्रशिक्षक वाइल्डले रेनुका नभई साम्बा कप्तान भएको बताएका थिए । 

यद्यपि यसमा आफूहरुले कुनै विवाद नगरेको उनको दाबी छ । 

२. एन्जिलालाई किन नखेलाएको ? 

उज्वेकिस्तानसँग हार्नु अगाडिसम्म नेपाली टिमको गोलकिपरबारे खासै प्रश्न उठेको थिएन । तर जब उज्वेकिस्तानसँग भएको खेलमा अञ्जना रानामगरले ३ गोल खाइन् । पेनाल्टी प्रहार एउटा पनि रोक्न सकिनन् मात्र होइन, गोल गर्न समेत असफल भइन्, अनि प्रश्न उठ्यो । 

एन्फाले त यसमा केही भनेको छैन, तर समर्थकहरुले एन्जिलालाई किन नखेलाएको भनेर प्रश्न गरेका छन् । महिला टोलीका गोलकिपर प्रशिक्षक सुरज रानाका अनुसार मुख्य प्रशिक्षक वाइल्डले लाओससँग खेल हुनुभन्दा २ दिन अगाडि नै एन्जिालालाई नखेलाउने निर्णय लिइसकेका थिए । 

उनले गोलकिपर प्रशिक्षकसँग विकल्प मागे । उनले आफ्नो राय दिए । मुख्य प्रशिक्षक वाइल्डले अञ्जनालाई छनोट गरे । 

कसलाई खेलाउने कसलाई नखेलाउने भन्ने मुख्य प्रशिक्षकको निर्णय भएकाले अरुले प्रश्न गरेनन् । 

Woman-Football-Team-1-1752074042.jpg
३. खेलाडीका लागि आइस समेत भएन 

मुख्य प्रशिक्षक वाइल्डले एउटा अन्तर्वार्तामा खेलाडीका लागि आइस समेत उपलब्ध गराउन नसकेको बताएका थिए । 

एन्फा पदाधिकारीहरुले यसलाई आधा स्वीकार गरेका छन् । टिम म्याजेनर बिन्द्रा देवानका अनुसार श्रीलंकासँगको खेल भन्दा अगाडि मुख्य प्रशिक्षक वाइल्डले अन द स्पट फिजियोसँग आइस खोजेका थिए । 

होटलमा सीमित मात्र भेटियो । ३/४ वटा सुपर मार्केट चाहार्दा बल्ल ५/६ केजी आइस पाएको उनले बताइन् । 

४. सहायक प्रशिक्षकलाई कम्प्युटर चलाउन आउँदैन 

मुख्य प्रशिक्षक वाइल्डले कम्प्युटर अन गर्न समेत नआउने सहायक पाएको बताएका थिए । महिला टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ हुन् । ए लाइसेन्स प्राप्त उनले मुख्य प्रशिक्षक भएर समेत काम गरिसकेका छन् । तर यो पटक सहायक भएर काम गर्न पनि तयार भए । तर मुख्य प्रशिक्षक वाइल्डको शैली रुखो भएपनि धेरै सिक्न पाएको राजेन्द्रको अनुभव छ ।

उनका अनुसार कम्प्युटर अन गर्न नआउने त होइन, तर मुख्य प्रशिक्षक वाइल्डले खोजेको जस्तो पावर प्वाइन्ट प्रिजिन्टेसन र एनिमेसन गर्न भने नसक्ने स्वीकार गरे । 

तर यसबारे आफूले नेपालमा भएको बेलामा नै जानकारी गराएको बताए । 

५. प्राविधिक स्रोत साधन भएन 

मुख्य प्रशिक्षक वाइल्डले प्रशिक्षणका लागि चाहिने स्रोत साधन नपाएको गुनासो गरेका थिए । 

एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काले कमजोरी स्वीकार गरे । उनका अनुसार मुख्य प्रशिक्षकले मागेको जीपीएस प्रविधि नेपालसँग छैन । डाइटिसिनको काम फिजिओले नै गर्दै आइरहेको छ । फिटनेस ट्रेनर पनि छैन । टेक्निकल एनालिस्ट पनि छैन । 

प्रशिक्षक समेत रहेका खड्काको विचारमा मुख्य प्रशिक्षक वाइल्डले कमजोरीबारे नेपाल आएर एन्फासँग छलफल गरेको भए हुन्थ्यो । यद्यपि उनको माग जायज भएको उनले स्वीकारे । 

उज्वेकिस्तानको खेलअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुसँग भिडियो कन्फ्रेन्समा कुरा गरेको विषयमा पनि विवाद भएको थियो । मुख्य प्रशिक्षक वाइल्डले प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्सका कारण पनि खेलाडीहरुलाई दबाब भएको एक अन्तर्वार्तामा बताएका थिए । 

तर नेपाली टोलीकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मलेगोले मुख्य प्रशिक्षक वाइल्डलाई सोधेर नै प्रधानमन्त्रीसँग भिडियो कन्फरेन्स गराएको बताएकी छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो बचाउ गरेपनि एन्फाकै कमजोरी धेरै देखिएको छ । मुख्य प्रशिक्षक वाइल्डको बोल्ने शैलीमा रुखो पन होला, अरु पनि कमजोरी होलान् । तर उनी नेपाली महिला फुटबललाई नयाँ दिनसक्ने प्रशिक्षक हुन् भन्ने प्रष्ट भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज