नेभिगेशन
समाज

खेलकुदमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : एनपीएलमा हस्तक्षेप नगर्नू

नेपाल क्रिकेट संघले गत वर्ष आयोजना गरेको एनपीएलको पहिलो सिजन भव्य भयो । चार महिनापछि हुने दोस्रो सिजनलाई अझ भव्य बनाउन नेपाल क्रिकेट संघ तयारीमा जुटिसकेको छ । 

फ्रेन्चाइज टिमहरुले खेलाडी रिटेन गरिसके । अब मिनी अक्सनका लागि तयारी भइरहेको छ । त्यही बेलामा खेलकुद मन्त्री चौधरीले गठन गरेको एउटा कार्यदलले प्रतियोगिताको सम्पूर्ण काम रोक्न निर्देशन दिएपछि खेल क्षेत्र तरंगित भएको छ । 

खासमा क्यान आफैंले एनपीएल गर्ने निर्णय गरेदेखि नै विवाद सुरु भएको थियो । सुरुमा अमिर अख्तरको जोहरा स्पोट्स म्यानेजमेन्टले एनपीएलको स्वामित्व आफ्नो नाममा भएको भन्दै मुद्दामामिला गर्‍यो । प्रारम्भिक सुनुवाइका क्रममा उनले मागे जस्तो आदेश आएन र, एनपीएलको पहिलो सिजन गर्ने बाटो खुल्यो । 

तर विवाद झिक्न छाडिएन । स्टार स्पोट्र्सबाट लाइभ गर्ने निर्णयलाई लिएर नेपालका टेलिभजन सञ्चालकहरुले समेत विरोध गरे । 

यद्यपि एनपीएलको पहिलो सिजन सोचेभन्दा धेरै नै भव्य रह्यो । शिखर धवन, मार्टिन गप्टिल, जिम्मी निसम, रवि बोपारा जस्ता स्टार विदेशी खेलाडीहरु आए । स्टार स्पोर्ट्सबाट लाइभ भयो । 

आर्थिक रुपमा पनि पहिलो सिजन नै सय करोड क्लबमा पुग्यो एनपीएल । 

एनपीएलको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी पर्‍यो । अख्तियारले उजुरी मन्त्रालय पठायो । मन्त्रालयले राखेपमा पठाएर छानबिन गरिरहेको थियो । 

तर, मन्त्री चौधरीले पुरानो समिति भंग गराए र, आफू मालिक रहेको नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानको नेतृत्वमा अर्को समिति बनाए, जसलाई उनैले राखेप बोर्ड सदस्य मनोनित गरेका थिए ।  

छानबिन समितिले सार्वजनिक खरिद ऐन अनुसार काम नगरेको लगायतका विषयमा प्रश्न सोधेको थियो । क्यानले लिखित जवाफ पनि दियो । त्यसमा चित्त नबुझेको भनेर छानबिन समितिले फेरि जवाफ मात्र मागेन, अख्तियारको छानबिन पूरा नहुँदासम्म एनपीएलको कुनै पनि काम नगर्नु नगराउनु भन्ने निर्देशन दियो । 

पहिला त एनपीएलबारे अख्तियारले छानबिन गरेकै छैन । अर्को, छानबिन समितिले अनुसन्धानमा के देखियो, त्यो प्रतिवेदन बुझाउने हो । त्यसका आधारमा निर्णय गर्ने राखेपले हो । तर छानबिन समितिले नै आफैं तयारी रोक्न निर्देशन दिनु शंकास्पद छ ।

स्रोतका अनुसारमा मन्त्रीकै आडभरोसा पाएर छानबिन समितिले यस्तो निर्देशन दिएको थियो । यसमा क्रिकेट संघको राजनीतिले पनि काम गरेको हुनसक्ने कतिपयको आशंका छ । 
तर बिहीबार प्रधानमन्त्री ओलीले प्रष्ट शब्दमा भनिदिएका छन्, एनपीएल हुनुपर्छ । 

राष्ट्रिय खेलकुद परिषदले सातदोबाटोमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब बनाएको छ । यसको उद्घाटन बिहीबार प्रधानमन्त्री ओलीले गरे । कार्यक्रममा राखेपका अध्यक्ष समेत रहेका खेलकुद मन्त्री तेजुलाल चौधरी पनि थिए । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्रष्ट शब्दमा एनपीएल हुनुपर्ने बताए । एनपीएल देशको गर्वको विषय भएको भन्दै उनले मन्त्री र सदस्य सचिवतिर हेरेर भने, ‘यो खेलिनुपर्छ, तपाईंहरु तयारी गर्नुस् । एनपीएल अगाडि बढाउन खेलकुद परिषद् र क्रिकेट संघको ध्यान जाओस् ।’ 

उनी यतिमा मात्र रोकिएनन्, खेलकुदमा राजनीति नगर्न र आगामी मंसिरमा दशौं राष्ट्रिय खेलकुद गर्न समेत निर्देशन दिएका छन् । 

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गत मंसिरमा नै हुनुपर्ने हो । तर जाडो मौसम र भौतिक पूर्वाधार तयार नभएको कारण देखाएर त्यसलाई चैतमा सारियो, त्यसपछि फेरि जेठमा सारियो । जेठमा पनि प्रतियोगिता हुन सकेन । अब मंसिरमा गर्ने भनिएको छ । 

यसपटक भने प्रधानमन्त्रीले खेलकुद मन्त्रीलाई प्रष्ट निर्देशन दिएका छन्, अब मंसिरको डेट नसार्नू । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज