मध्यरातमा ससुराली आए, सालीको हत्या गरेर फरार
सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चोकका गफार मियाको घरका सबै जना राति मस्त निद्रामा थिए । आइतबार राति साढे २ बजे घरभित्रै एक्कासी गोली चल्यो ।
के भयो भनेर सबैजना ब्युँझिएर हेर्दा घरभित्र सुतिरहेकी गफारकी साइली छोरी १८ वर्षकी अरसी खातुनलाई गोली लागेको रहेछ । टाउको र गालामा गोली लागेकी उनको घटनास्थलमै मृत्यु भयो ।
उनलाई गोली हान्ने व्यक्ति कोही नभएर उनकै जेठो भिनाजु आजाद मियाँ थिए । उनको घर सीमापारी करिब ५०० मिटर टाढा भारतीय भूमिमा हो ।
आइतबार राति अरसी र उनकी माइली दिदी सँगै सुतेका थिए । अरसीलाई गोली लागेपनि सँगै सुतेकी दिदीलाई भने केही भएको छैन । उनले नै गोली हान्ने व्यक्ति पहिचान गरेकी थिइन् ।
गफारकी जेठी छोरीको विवाह आजादसँग २०७० सालमा भएको थियो ।
घटना थाहा पाएपछि बिहान पौने ४ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार केही दिनअघि पनि आजाद ससुराली आएका थिए ।
उनले ससुरा गफारसँग १० हजार रुपैयाँ मागेका थिए । तर गफारले पैसा छैन भनेर फर्काइदिएका थिए । तर आइतबार राति एक्कासी आएर सालीलाई गोली हानेर फरार भएको देखिएको प्रहरीको भनाइ छ ।
गोली हान्नुको कारण भने अहिलेसम्म खुलेको छैन । यस विषयमा अनुसन्धान सुरु गरिएको डीएसपी खतिवडाले जानकारी दिए ।
गोली हान्ने व्यक्ति आजाद मियाँ भारतमा पनि चोरी मुद्दामा प्रहरीको फरार सूचीमा छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले मातहतका सबै कार्यालयबाट प्रहरी परिचालन गरेको छ ।
प्रहरीले घटनास्थलमा सानो हतियारमा लाग्ने एउटा नपड्किएको गोली पनि फेला पारेको छ । मृतकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
ललितपुर–२ का मतदाता नयाँ खोज्दै छन् कि पुरानै ?
किन राखियो बागमतीमा लहरै ड्रम ?
काठमाडौंमा रातिराति लुटपाट मच्चाउने गिरोहको कथा
खोला किनारको मापदण्डबारे सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला
'कोरिया गएको साथीले ८० लाखमा घडेरी किन्यो, म १० लाख ऋणमा छु'







