सर्वोच्चको फैसला : २०७२ असोज १४ अघि विवाह गरेका छोरीले अंश पाउँदैनन्

सर्वोच्च अदालतले २०७२ असोज १४ गते भन्दा अगाडि विवाह गरेका छोरीहरुले पैत्रिक सम्पत्तिमा दाबी गर्न नपाउने फैसला गरेको छ ।
विवाहित छोरीले पैत्रिक सम्पत्तिमा दाबी गर्न पाउने कि नपाउने भन्ने विवादमा सर्वोच्च अदालतले कट अफ डेट २०७२ असोज १४ गतेलाई तोकेको हो ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको इजलासमा सुनुवाइ भएको यो मुद्दामा राय बाझियो ।
न्यायाधीशहरु मनोजकुमार शर्मा, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानले २०७२ असोज १४ गते अगाडि विवाह गरेका छोरीहरुले अंश नपाउने राय दिए ।
तर न्यायाधीशहरु सपना प्रधान मल्ल र महेश शर्मा पौडेलले भने छोरीहरुले जहिलेसुकै विवाह गरे पनि अंश पाउनुपर्ने राय दिए । बहुमतको राय भएकाले विवाहित छोरीहरुले अंश पाउने कि नपाउने भन्ने विवादमा २०७२ असोज १४ गतेको मितिलाई नै कट अफ डेट मान्ने फैसला भयो ।
२०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि सरकारले मुलुकी ऐन २०२० लाई संशोधन गरेको थियो ।
मुलुकी ऐनको त्यस संशोधन भन्दा अगाडिसम्म पैत्रिक सम्पत्तिमा छोरीको पनि समान हक लाग्ने तर विवाह गरेपछि भने पैत्रिक सम्पत्ति लैजान नमिल्ने व्यवस्था थियो ।
अनि विवाह गरिसकेकी छोरीको अंशबण्डा गर्नुपर्ने छैन भन्ने व्यवस्था थियो । तर नयाँ संविधान जारी गरेपछि सरकारले लैगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ मार्फत मुलुकी ऐनको संशोधन गरेको थियो ।
त्यो संशोधनले अंशबण्डाको महलको १ क. मा रहेको विवाह गरिसकेको छोरीको अंशबण्डा गर्न पर्ने छैन भन्ने व्यवस्थालाई खारेज गरिदिएको थियो ।
ललितपुर घर भई अमेरिका बस्ने पुनम मुडवरीले आफूलाई बाबु र कान्छी आमाले अंश नदिएको भन्दै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले करिब १२ वर्षपछि फैसला गरेको हो ।
यसअघि २०६८ सालमा जिल्ला अदालत काठमाडौंले पुनमले अंश पाउने ठहर गरेको थियो । त्यसपछि २०७० सालमा तत्कालिन पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।
त्यसपछि विपक्षी राममणि मुडवरीले मुद्दा दोहोर्याई पाउँ भनेर सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । २०८१ भदौ १३ गते सर्वोच्चले यो मुद्दा बृहत पूर्ण इजलासमा पठाएको थियो ।
बृहत पूर्ण इजलासका ३ जना न्यायाधीशले नेपालमा विवाहित छोरीको अंशबण्डा हुने कानुन २०७२ असोजमा मात्र बनेको तर पुनमको २०४३ सालमा नै विवाह भएको देखिएकाले उनले अंश दाबी गर्न नमिल्ने फैसला गरेको हो ।
तर न्यायाधीशहरु सपना प्रधान मल्ल र महेश शर्मा पौडेलले यसमा फरक राय दिए । उनीहरुले महिलाको पैत्रिक सम्पत्तिमा हक अकाट्य हुने भन्दै कानुन ढिला बनेको नाममा अंश नपाउने भन्न नमिल्ने राय दिएका छन् ।

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

हरेक उथलपुथलपछि आउँछ सन्दुकलाई प्रस्ताव, उनी भन्छन् – बिरामीको सेवामै खुशी छु

सर्वोच्चको नियमित सेवा अनिश्चितकालका लागि स्थगित

आन्दोलनका नाममा आगजनी योजनावद्ध षड्यन्त्र हुनसक्छ : प्रधानमन्त्री कार्की

आइसक्रिम चोर्ने शिक्षकको जागिर चट्
