किन देश छाड्दैछन् भारतका करोडपति ?
भारत तीव्र रुपमा आर्थिक प्रगति गरिरहेको छ, करोडपतिहरुको संख्या वर्षेनी बढ्दै गएको छ ।
तर एउटा विरोधाभास के देखिएको छ भने, धनाढ्यहरुको पलायन पनि उल्लेख्य छ ।
देशको करसम्बन्धी कानुन र विश्वका कतिपय देशले गरेका लगानी आकर्षणको कार्यक्रमका कारण भारतीय धनाढ्यले देश छाडिरहेका छन् ।
द हेन्ली प्राइभेट वेल्थ माइग्रेसन रिपोर्ट २०२५ ले वर्षेनी करोडपतिहरु विस्थापित हुने प्रमुख ५ देशको सूचीमा भारतलाई पनि राखेको छ ।
भारतमा स्टार्ट अपको प्रगति, सेयर बजारमा भएको बढोत्तरी, पारिवारिक सम्पत्ति जस्ता कारणले करोडपतिहरुको संख्या बढिरहेको छ । तर अति नियमन, लगानी सुरक्षणको चिन्ता र राम्रो जीवनशैलीको आकांक्षाले करोडपतिहरु भारत छाडिरहेका छन् ।
भारतबाट सन् २०२५ मा ३५ सय करोडपतिले देश छाडेका छन् । सन् २०२३ मा ५१०० जनाले र सन् २०२४ मा ४३ सय जना करोडपतिले देश छाडेका थिए ।
भारतीय करोडपतिहरु किन देश छाडिरहेका छन् त ?
पहिलो कारण हो कर नीति
भारतमा पछिल्ला वर्षमा कर कार्यालयहरुले छानबिन अत्यधिक बढाएका छन् । सेन्ट्रल बोर्ड अफ डिरेक्ट ट्याक्स (सीबीडीटी) ले आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासमा २ खर्ब भारतीय रुपैयाँ कर बक्यौता असुल गरेको छ ।
यो भनेको अघिल्लो आर्थिक वर्षको त्यही अवधिको भन्दा झण्डै दोब्बर हो । कर कार्यालयले यो आर्थिक वर्षमा १९ खर्ब ६० अर्ब भारतीय रुपैयाँ कर बक्यौता असुल गर्ने लक्ष्य राखेको छ । यो लक्ष्यले भारतका उद्योगी, व्यापारीहरुलाई दबाबमा परेका छन् ।
दोस्रो, औपचारिक अर्थतन्त्रको बाध्यता
विगतदेखि हेर्ने हो भने भारतको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक थियो । जसमा नगद लेनदेन ज्यादा हुन्थ्यो र नियमनकारी निकायको निगरानी पनि कम हुन्थ्यो ।
तर हिजोआज सरकारले आर्थिक गतिविधिलाई औपचारिक बनाउन व्यापक दबाब सिर्जना गरेको छ । व्यवसाय दर्ता गर्नुपर्ने, पैसाको अनलाइन कारोबार गर्नुपर्ने जस्ता बाध्यात्मक व्यवस्थाले उद्योगी व्यवसायीलाई अप्ठेरो महसुस भएको छ ।
भारतको अनलाइन पेमेन्ट सिष्टम युनिफाइड पेमेन्ट इन्टरफेसले आर्थिक वर्ष २०२४/२५ मा २६१ लाख करोड भारतीय रुपैयाँको कारोबार गरेको छ । जुन अघिल्लो वर्ष भन्दा ४१ प्रतिशतले बढेको हो ।
युपीआईको हरेक कारोबार स्थायी लेखा नम्बर (पान) सँग लिंक गरिएको छ । यसले गर्दा व्यापारीहरुलाई आम्दानी लुकाउन गाह्रो परेको छ ।
तेस्रो हो, क्रिप्टोकरेन्सी
भारतले पछिल्लो समय क्रिप्टोकरेन्सीलाई भर्चुअल डिजिटल एसेटको रुपमा कानुनी मान्यता दिएको छ । तर क्रिप्टो करेन्सीको कारोबारको नाफामा ३० प्रतिशत पुँजीगत लाभकर लगाएको छ ।
यी कडा कर र नियामकीय निगरानीले धनी व्यक्तिहरुले करको बोझ कम भएको र डिजिटल सम्पत्तिमा खुकुलो नीति भएका देश खोज्न थालेका छन् ।
चौथो हो, राम्रो जीवनशैलीको आकांक्षा
भारतमा गरिएको एक अध्ययनले धनी वर्गका २२ प्रतिशत भारतीय देश छोड्न इच्छुक रहेको देखिएको छ । उनीहरु उच्च जीवनस्तर, स्वास्थ्य, शिक्षा र व्यापारका लागि देश छोड्न चाहेका छन् ।
कतिपयले विश्वका धेरै देशमा भिसा फ्रि ट्राभल सुविधा पनि खोजेका छन्, जुन भारतीय नागरिक भएर सम्भव छैन । भारतजस्तै हैसियतमा रहेका युरोपेली र क्यारेबियन देशहरुको राहदानी भारतको भन्दा बलियो छ, यसले पनि भारतीयहरुलाई राम्रो देश जान प्रेरित गरिरहेको छ ।
यता घरेलु वातावरणले देश छाड्न प्रेरित गरिरहेका बेला युएई, अमेरिका, पोर्चुगल, साउदी अरेबिया जस्ता देशको आकर्षक योजनाले पनि उनीहरुलाई लोभ्याइरहेको छ ।
व्यक्तिगत आयकर नै नलाग्ने, कम पुँजीगत लाभकर र सम्पत्ति हस्तान्तरणको सहज व्यवस्थाले युएई विश्वभरका धनीहरुको रोजाइमा परेको छ ।
लगानीकर्तामैत्री नियम कानुन, विलासी जीवनशैली र लामो अवधिको भिसा सुविधा युएईको अर्को विशेषता हो । त्यसैले भारत, बेलायत, रसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकाका लगानीकर्ताहरु युएईमा आकर्षित भइरहेका छन् ।
युएईसँगै साउदी अरेबियाले पनि वर्षेनी धनीहरुलाई आकर्षित गरिरहेको छ । सन् २०२५ मा २४ सय करोडपति साउदी अरेबिया गएको अनुमान छ ।
अमेरिकाले धनीहरुलाई आकर्षित गर्न ल्याएको ईबी फाइभ भिसामार्फत धेरै भारतीयहरु अमेरिका पुगेका छन् ।
अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले ईभी फाइभ भिसाको सट्टा गोल्ड कार्ड भिसाको अफर गरेका छन् । उनले ५० लाख डलर तिर्न सक्ने व्यक्तिलाई गोल्ड कार्ड दिने घोषणा गरेका छन् । ट्रम्पको यो योजनाले पनि धेरै भारतीय करोडपतिहरु अमेरिकाप्रति आकर्षित हुने देखिन्छ । यद्यपि अहिलेसम्म अमेरिकामा ट्रम्पको गोल्ड कार्ड नीति लागू भइसकेको छैन ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)