नेभिगेशन
समाज

राजीनामा दिन्न, दोषी देखिए कारबाही भोग्न तयार छु : मन्त्री अधिकारी 

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सार्वजनिक भएको अडियो प्रकरणमा आफ्नो दोष देखिए कारबाही भोग्न तयार रहेको बताएका छन् । 

कास्कीको एक जग्गाको दर्ता विवादमा घुस लेनदेनको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । 

सार्वजनिक अडियोहरुमा भूमिव्यवस्थामन्त्री बलराम अधिकारीको नाम पनि आएको थियो । तर मन्त्री अधिकारीले आफूले घुस लेनदेन नगरेको भन्दै यो विषयमा राज्यका निकायहरुले छानबिन गर्न सक्ने बताए । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सम्बन्धित निकायहरु छन्, हेर्ने, बुझ्ने, मूल्यांकन गर्ने, म संलग्न भएको देखियो भने कारबाही भोग्न तयार छु ।’

उनले कसैले आरोप लगाएको आधारमा आफूले राजीनामा नदिने बताए । बरु मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने भन्दै मन्त्री अधिकारीले मन्त्री रहन्जेल आफ्नो जिम्मेवारीमा रहेको काम राम्रोसँग गर्ने बताए । 
‘एक वर्षपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति नै हो, हुनेवाला नै छ । पुनर्गठन हुँदाखेरि को हुन्छ, को हुँदैन, सबै हुन्छन् कि, जहिलेसम्म रहिन्छ त्यतिबेलासम्म मन्त्रालय र आफ्नो जिम्मेवारी व्यवस्थित रुपमा सञ्चालन गर्ने हो’, उनले भने । 

मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरु आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको बताए । उनले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्य आफूले कुनैपनि घुस नलिएको जिकिर गरे । मन्त्री अधिकारीले विचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पूरा गर्नको लागि चरित्र हत्या गरिएको पनि बताए । 

‘जग्गाजमिन र सरुवाको विषयमा उजरी आएको सम्बन्धमा तत्काल हुन्छ नभए नियमित तरिकाले जान्छ । मन्त्रीमा भ्रष्टाचार गरेर खायो भनेर आएको छ । मेरो छोराको नाम पनि छन् । त्यहाँ मेरो चरित्र हत्या गर्न गरेको कुप्रयास हो । मैले भनेको नमानेपछि आफ्नो अभिष्ट पूरा गर्नको लागि मेरो र मेरो परिवारको चरित्र हत्या गर्ने प्रयास गरिएको छ’, उनले भने । 

मन्त्री अधिकारीमाथि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग घुस लिएको दाबीसहितको अडियो सार्वजनिक भएको थियो ।

मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख लिएको अडियोमा बोलेको सुनिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज