नेभिगेशन
अर्थतन्त्र

धरानको कोसेली, माया धराने बेसार

धरान हिजोआज धेरैको चासो र चर्चाको विषय । यसको कारण हो, मेयर हर्क साम्पाङ । 

मेयर जितेपछि उनले श्रमदानको अभियान चलाए, जसलाई धेरैले मन पराएका छन् । उनको नगर सञ्चालन शैली आफ्नै छ, जसका कारण उपमयेर, वडाध्यक्ष र सदस्यहरुसँग उनको विवाद भइरहन्छ ।

पछिल्लो साता यो निकै हट टपिक बनेको छ । फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा अनगिन्ती फोटो तथा भिडियो आइरहेको छ ।

धरान उपमहानगरपालिका–२० कोकाहामा रहेको माया धराने बेसारको असार २७ गते मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । 

बेसारलाई प्याकेजिङ गरेर बजारमा ल्याउने काम भने माया धराने बेसार कृषि तथा उपभोक्ता समितिले गरेको छ । यो समितिका सचिव ओम सुच्चा राईका अनुसार अहिले धरान मात्र होइन, काठमाडौं, पोखरा जस्ता ठूला शहरबाट पनि बेसारको माग भइरहेको छ । 

यो बेसार उद्योग धरान उपमहानगरपालिकाले नै स्थापना गरेको हो । 

धरान उपमहानगरपालिकाले २०८१ सालमा १७ लाख रुपैयाँ खर्चेर बेसार उद्योगका लागि भवन बनाएको थियो । २०८२ सालमा करिब १० लाख रुपैयाँको लागतमा बेसार पिध्ने र प्याकेजिङ गर्ने मेसिन पनि धरान उपमहानगरले नै किनिदियो ।

त्यसपछि स्थानीय उपभोक्ताले ५ लाख पुँजी जुटाएर माया धराने बेसार कृषि तथा उपभोक्ता समिति गठन गरे । अहिले त्यही समितिले बेसार उद्योग सञ्चालन गरिरहेको छ । 

बेसार पिँध्न र प्याकेजिङ गर्न ज्यालादारीमा ८ जना कामदार राखिएको छ । उपभोक्ता समितिका पदाधिकारीहरुले बजार व्यवस्थापनको काम गर्छन् । 

उद्योगले धरान उपमहानगरपालिका–२० को भञ्ज्याङ र वडा नं १८ को धरान बजारमा गरी दुईवटा आउटलेट सञ्चालनमा ल्याएको छ ।

दुबै आउटलेटमा बेसार किन्नेहरुको भीड लागेको छ । उपभोक्ता समितिका सचिव राईका अनुसार हालसम्म २५ सय किलो बेसार प्याकेजिङ गरेर आउटलेटमा पठाइएको छ ।

काठमाडौं र पोखरामा पनि माग भएपछि बिक्रीका लागि पठाइएको छ । 

उपभोक्ता समितिले आधा किलोको प्याकेटको मूल्य ४०० रुपैयाँ राखेको छ । 

उपभोक्ता समितिका सचिव राईका अनुसार धरानको कोसेलीका रुपमा बिक्री गर्ने योजना अनुसार माया धराने बेसारको उत्पादन गर्न थालिएको थियो । तर सुरुवाती प्रतिक्रियाले व्यवसायिक उत्पादन गर्न सकिने आशा बढेको छ ।

मिसावटरहित र गाउँको उत्पादन भएकाले पनि धेरैले मन पराएको समितिको बुझाइ छ । 

धरानको वडा नम्बर २० बेसारको पकेट क्षेत्र नै हो । यहाँ २०५०/५१ सालदेखि नै बेसार खेती हुँदै आएको छ । स्थानीय किसानहरुका अनुसार त्यतिबेला सरकारी स्तरबाटै सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत बेसार खेती हुन थालेको थियो । 

यो कार्यक्रम सकिएपछि पनि किसानहरुले बेसार खेतीलाई निरन्तरता दिए । 

धरान–२० मा वर्षमा करिब ६०/७० टन जति बेसार उत्पादन हुने अनुमान छ । बेसार प्राय चैत वैशाख महिनामा लगाइन्छ र पुसमा खन्ने गरिन्छ । 

किसानहरुले बेसार खनेर त्यसलाई पखालेर, ताछेर सुकाएर सुठो बनाएर बेच्ने गर्थे । स्थानीय ब्यापारीहरुले धरानको बेसार भारतसम्म पुर्‍याउँथे ।  

अहिले गाउँमै उद्योग खुल्यो । उद्योगले घरघरमै गएर ३०० रुपैयाँ किलोमा सुठो किन्न थाल्यो । किसानले आफैं उद्योगसम्म बेसार ल्याएमा ढुवानी खर्च पनि उद्योगले नै दिन्छ । यसरी किनेको बेसर उद्योगले पिधेर, प्याकेजिङ गरेर आधा किलोको ३०० रुपैयाँमा बेच्छ । 

व्यवसायिक सम्भावना देखिएकाले अब बेसार पखाल्न वासिङ मेसिन र सुकाउन ड्राइङ मेसिन किन्ने योजना रहेको उपभोक्ता समितिका सचिव राईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थतन्त्र