१४ वर्षपछि भयो आमा-छोरीको भेट, बुबालाई प्रश्न : बाटोमै छाडेर किन हिँडेको ?
सामाजिक सञ्जाल नियमित चलाउनु हुन्छ भने यो तस्वीर देख्नु भएकै होला । आमा छोरीको १४ वर्षपछि पुनर्मिलन भएको तस्वीर हो यो, जसले धेरैको मन छोएको छ ।
धुलिखेलस्थित सिद्धार्थ बालगृहकी सञ्चालिका शर्मिला श्रेष्ठका अनुसार २०६८ साल वैशाख १७ गते स्थानीय राधा श्रेष्ठले चौरमा बसेर रोइरहेको अवस्थामा स्वस्तिका केसीलाई भेट्टाएकी थिइन् ।
त्यसबेला उनी मात्र ६ वर्षकी थिइन् । उनले बताए अनुसार उनी आफ्नो बुबासँग त्यहाँ आएकी थिइन् । उनका बुबाले स्कुलमा बालबालिका खेलिरहेको देखाए, अनि खाना लिएर आउँछु, तिमी यहीँ बस भनेर गए ।
स्कुल छुट्टी भयो, बालबालिकाहरु घर गए, तर खाना लिन गएका बुबा फर्किएनन् । स्वस्तिका चौरमा बसेर रोइरहेको देखेपछि राधाले प्रहरीलाई खबर गरिन्, अनि आफूसंगै घरमा राख्न लगिन् । राधाका छोरा सुवासले बताए अनुसार एक वर्षजति स्वस्तिका त्यहीँ बसिन्, अनि बालगृह चलाइरहेकी शर्मिला श्रेष्ठको सम्पर्कमा पुगिन् ।
उनी त्यहीँ हुर्किइन्, पढिन् । अहिले १२ कक्षा पढिरहेकी छन् । १८ वर्षकी भइसकिन् । उनलाई बुबाको नाम विष्णु केसी र आमाको नाम मञ्जु केसी भन्ने थाहा छ त्यो बाहेक अरु केही जानकारी छैन ।
तर यतिखेर नागरिकता बनाउने बेला भएपछि बालगृहले परिवार खोज्ने प्रयास गर्यो । बालगृह सञ्चालक श्रेष्ठ र स्वस्तिका, अर्जुन भुसालको सम्पर्कमा पुगे । उनले भिडियो बनाएर सामाजिक सञ्जालमा राखे । जसमा स्वस्तिकाले बुबालाई छोरी छ भनेर आउन आग्रह गरिन् ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भयो । चितवनमा रहेकी स्वस्तिकाकी आमा मञ्जुले पनि त्यो भिडियो देखिन् । तत्कालीन समयमा श्रीमानसँग छाडेर हिँडेको छोरी बालआश्रममा हुर्किएको थाहा पाउँदा उनलाई छागाँबाट खसे जस्तो भयो । हतारहतार भुसालको सम्पर्कमा पुगिन् ।
मञ्जु केसीले बताएअनुसार उनको विष्णु केसीसँग २०५९ सालमा विवाह भएको थियो । त्यसबेला उनीहरु दाइभाउजुसँग काठमाडौंमा बस्थे ।
विष्णु वीरगञ्जको पेट्रोल पम्पमा काम गर्ने सिलसिलामा उनीहरु वीरगञ्ज पुगेँ । २०६३ साल असार १० गते वीरगञ्जमै स्वस्तिकाको जन्म भयो । तर विष्णु र मञ्जुको सम्बन्ध राम्रो रहेन ।
मञ्जु घरबाट निस्किएर हिँडिन् । आफू कहाँ जाने हो टुंगो नभएकाले छोरी स्वस्तिकालाई विष्णुसँगै छाडेर हिँडेको उनले बताएकी छिन् ।
विष्णुसँग छुट्टिएर उनी नारायणघाट पुगिन् । एउटा परिवारले उनलाई आश्रय दियो । त्यहीँ बिहे भयो, सन्तान भयो । त्यसबेला उनले आफ्नो पहिलो परिवारबाट छोरी रहेको मात्र सुनाइनन्, वीरगञ्जमा सोधीखोजी समेत गरिन् । तर उनीसंग फोटो पनि थिएन, घर परिवारबारे पनि धेरै जानकारी भएन । पूर्वश्रीमानसँगै छोरी हुर्किरहेकी होलिन् भनेर चित्त बुझाइन्, आफ्नै घर गृहस्थीमा ब्यस्त रहिन् ।
पछिल्लो दिन सामाजिक सञ्जालमा फोटो देखेपछि छोरी चिनिहालिन् । ९ महिनासम्म कोखमा राखेर हुर्काएकी आमा न हुन्, किन नचिन्नु ! परिवारमा सरसल्लाह गरिन्, अनि छोरी भेट्न दौडिएर आइपुगिन् ।
आमा–छोरीको भेट भयो । मञ्जुले छोरीलाई देख्नासाथ चिनिहालिन् । तर स्वस्तिकाले चिन्न सकिनन् । जब उनले आमा हो भन्ने थाहा पाइन्, आँसु थाम्न सकिनन् । आमा छोरी भेटमा निकै खुसी भएका छन् ।
स्वस्तिकाले आफ्ना बुबा विष्णुलाई पनि सम्पर्कमा आइदिन आग्रह गरेकी छन् । किनकी उनीसंग बुबालाई सोध्नुपर्ने एउटा प्रश्न छ, मलाई किन बाटोमै छाडेर हिँडेको ?

मन्त्रीज्यू ! घरमै सुत्नुस् संसदमा होइन

महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने

झण्डै २ लाख भत्ता बुझेका थिए, अहिले परिवार नै बेपत्ता

'बाँदरका कारण गाउँमा मान्छे सक्किसके, हामी अपजस खेपेर बस्नुपरेको छ'

मुम्बईबाट २ हप्ताअघि आएका दिदीबहिनी भक्तपुरमा मृत भेटिए
