मुम्बईबाट २ हप्ताअघि आएका दिदीबहिनी भक्तपुरमा मृत भेटिए
बिहीबार बिहान जिल्ला प्रहरी परिसर भक्तपुरमा दुई जनाको मृत्यु भएको खबर आयो ।
खबर गर्ने व्यक्ति भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेका चक्रधर प्रजापति थिए । उनले बिहानै आफ्नै घरमा डेरामा बस्ने दुई किशोरीहरु डोरीमा झुण्डिरहेको देखेका थिए ।
ती किशोरीहरुबारे उनलाई पनि धेरै थाहा थिएन, किनकी उनीहरु १५/१६ दिन अघि मात्र त्यहाँ डेरामा बस्न आएका थिए ।
पौने ७ बजे प्रहरी आयो, घटनास्थल र शवको मुचुल्का गर्यो, शव पोस्टमार्टमका लागि अस्पताल पुर्यायो । मृत्यु हुनेहरु त एकै घरका दिदी बहिनी रहेछन् ।
उनीहरु बस्ने घर इँटा र फलामले बनेको २ तले र जस्तापाताले छाएको छ । त्यसको भुइँतलामा बस्ने उनीहरु कोठा बाहिरको प्यासेजमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
उनीहरुमध्ये दिदीको उमेर १७ वर्ष र बहिनीको उमेर १५ वर्ष मात्र छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार उनीहरुका बाबु आमा दुबै भारतको मुम्बईमा बस्छन् । बाबुआमासँग सम्पर्क भइसकेको छ र उनीहरु नेपाल आउँदैछन् ।
प्रहरीका अनुसार दुई किशोरीहरु मुम्बईमा बाबुआमासँग नै बस्थे । तर १५/१६ दिनअघि एक्कासी हराएका थिए । बाबुआमाले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए, खोजी गर्दा गोरखपुर प्रहरीले उनीहरु दुबै जना नेपाल प्रवेश गरेको फेला पारेको थियो ।
काठमाडौंमा प्रहरीले उनीहरुको आफन्त खोजी गर्दा एक जना काकी मात्र रहेको पाएको छ । यो समाचार तयार पार्दासम्म प्रहरीले काकी पनि भेटेको छैन । प्रहरीले उनलाई बिहीबार दिउँसो बोलाएको छ ।
उनीहरु घरमा झगडा गरेर हिँडेको पनि देखिँदैन । त्यसैले अहिलेसम्म उनीहरुको मृत्युको कारणबारे यकिन भन्न नसकिने डीएसपी न्यौपानेले बताए ।
प्रहरीले दिदीबहिनीले प्रयोग गर्ने मोवाइल बरामद गरेको छ । जसमा केही भिडियो पनि छ, त्यसमा उनीहरुले मृत्युसम्बन्धी गीत बजाएका छन्, कसैसँग मृत्युबारे कुरा गरिरहेको जस्तो देखिन्छ । प्रहरीले यही भिडियोमाथि पनि अनुसन्धान गरिरहेको छ । उनीहरुको मोवाइलमा डोरी चलाइरहेको भिडियो र फोटो पनि छ ।
मृतक दिदीबहिनीको घर सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ८ मा पर्छ । तर सानैदेखि दुबै जना भारतमा बाबुआमासँग नै रहेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरु नेपाल किन आए र आएको १५ दिनमा नै यस्तो घटना किन भयो भन्ने कुरा रहस्यमै रहेको छ ।

मन्त्रीज्यू ! घरमै सुत्नुस् संसदमा होइन

महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने

झण्डै २ लाख भत्ता बुझेका थिए, अहिले परिवार नै बेपत्ता

'बाँदरका कारण गाउँमा मान्छे सक्किसके, हामी अपजस खेपेर बस्नुपरेको छ'
