झण्डै २ लाख भत्ता बुझेका थिए, अहिले परिवार नै बेपत्ता
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठलाई सोमबार बिहान साढे ८ बजेतिर फोन आयो ।
उर्मिला हायुको परिवारका मान्छेहरु ३ दिनदेखि देखेको छैन । गोठमा भैंसीलाई घाँस–पानी खुवाउन पनि कोही आएको छैन । घरमा आएर हेर्दा कुखुरा, बाख्रा छाडा छोडिएको छ ।
खबर पाएपछि वडाध्यक्ष श्रेष्ठ पनि गोलन्जोर गाउँपालिका– ६ विपर कटेरीस्थित उर्मिला हायुको घरमा पुगे । मूल घरसँग जोडिएको भान्साकोठामा आगलागी भएको देखिन्छ ।
हायु लोपोन्मुख जातिमा पर्छ । उर्मिला हायुको परिवारमा १८ जना छन्, जसमध्ये जेठो छोरा र बुहारी विदेशमा थिए भने एक जना नातिनी काठमाडौंमा छिन् । जेठो छोरा ५–७ दिनअघि मात्र विदेशबाट घर आएका थिए । तर अहिले घरमा जम्मा भएका सबै १६ जना नै सम्पर्कविहीन छन् ।
सम्पर्क विहीन हुनेमा घरमूली उर्मिला हायु, उनका ६ जना छोरा, ५ जना छोरी, २ जना ज्वाइँ, एकजना बुहारी र एकजना नातिनी रहेका छन् ।
हायु परिवारको घर एकलासमा छ । अर्को घरसम्म पुग्न १५ मिनेट हिँड्नुपर्छ । यो घर मूलबाटो देखि टाढा पर्ने भएकाले मानिसहरुको आवतजावत पनि हुँदैन ।
हायु परिवारले घरदेखि ४५ मिनेट टाढाको गोठमा भैंसी पालेका थिए । हरेक दिन उनीहरु कोही न कोही भैंसीलाई घाँस र पानी दिन जान्थे ।
तर ३ दिनदेखि कोही पनि गोठमा नआएपछि गोठ नजिकैका छिमेकी उद्धव हायु उनीहरुलाई खोज्दै घरसम्म आएका थिए । कोही पनि नभेटेपछि उद्धवले नै वडाध्यक्षलाई खबर गरेका थिए ।
वडाध्यक्षले त्यो घरका मोवाइल बोक्ने सबै सदस्यलाई फोन हाने । तर सबैको स्वीच अफ छ । घरमा पकाउन बाँकी नै रहेको सुँगुरको २ किलो जति मासु पनि भेटिएको छ ।
ओढ्ने ओछ्याउने र भाँडाकुँडाहरु फालिएको अवस्थामा भेटिएको छ । पूजा सामग्री र अबिरहरु पोखिएको देखिएको छ ।
घटना थाहा पाएपछि गाउँलेहरु उर्मिला हायुको घरमा भेला भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धलीका प्रमुख एसपी लालध्वज सुवेदी पनि सोमबार अपरान्ह घटनास्थल पुगेका छन् । प्रहरी र गाउँलेहरुले घरदेखि ३०० मिटर क्षेत्रभित्र खोला खोल्सी र वनजंगल तिर पनि खोजेका छन् । तर कतै अत्तोपत्तो छैन ।
घटना रहस्यमय देखिएको वडाध्यक्ष श्रेष्ठले बताए । लोपोन्मुख जाति भएकाले गोलन्जोर गाउँपालिकाले हायु परिवारका सबै सदस्यलाई मासिक ४ हजार रुपैयाँ भत्ता दिन्छ ।
उनीहरुले गत आर्थिक वर्षको अन्तिम चौमासिकको भत्ता पनि हालै बुझेका थिए । सबैको एकमुष्ट भत्ता हिसाब गर्दा करिब १ लाख ९० हजार रुपैयाँ उनीहरुले लिएको देखिएको वडाध्यक्षको भनाइ छ ।
साउन ९ गते उनीहरु सबै जना वडा कार्यालयमा उपस्थित भएर सामाजिक सुरक्षा भत्ता पाउने कार्ड नवीकरण गरेका थिए ।
हायु परिवारले बैंक तथा वित्तीय संस्थामा ऋण तिर्नुपर्ने रहेको पनि पाइएको छ । तर कुन संस्थामा कति हो भन्ने खुलेको छैन ।
ऋण उठाउन बेला बेलामा उनीहरुको घरमा मान्छे आउने गरेको गाउँलेले बताएका वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
अहिले उनीहरु हराउनुको कारण त्यही ऋण हो वा होइन पनि खुलेको छैन ।
कसैले हालै भत्ता बुझेर आएकाले हायु परिवार लुटपाटमा परेक कि भन्ने आशंका पनि गरेका छन् । कसैले भने बिहे गरेका छोरी ज्वाइँ पनि ससुराली आएको देखिएकाले उनीहरु कै घरतिर गए कि भन्ने अनुमान पनि लगाएका छन् । तर सबैको फोन स्वीच अफ भएको र छरछिमेकीले पनि नदेखेको हुनाले घटना रहस्यमय नै देखिन्छ ।
सोमबार अपरान्ह नेपाल शोको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले आफू भर्खरै घटनास्थल आइपुगेको बताए । अब यस विषयमा विस्तृतमा अनुसन्धान गर्ने उनले बताए ।

मन्त्रीज्यू ! घरमै सुत्नुस् संसदमा होइन

महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने

'बाँदरका कारण गाउँमा मान्छे सक्किसके, हामी अपजस खेपेर बस्नुपरेको छ'

मुम्बईबाट २ हप्ताअघि आएका दिदीबहिनी भक्तपुरमा मृत भेटिए
