हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
यो क्रिकेट रंगशाला काठमाडौंबाट नजिकैको शहर हेटौंडाको हो ।
यो भव्य रंगशालाले धेरै क्रिकेट पारखीलाई रोमाञ्चित बनाउन सक्छ । बागमती प्रदेशको राजधानीमा बनेको गौरीटार क्रिकेट रंगशाला पछिल्लो वर्ष बनेको नयाँ क्रिकेट पूर्वाधार हो । 
हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा बनिरहेको यो रंगशालाको मुख्य पूर्वाधार निर्माण सकिनै लागेको छ । नियमित खेल खेलाउनु भन्दा अगाडि अन्तिम चरणका केही पूर्वाधार राख्ने काम बाँकी रहेको बागमती प्रदेश खेलकुद परिषदका सदस्यसचिव दीपक लामा बताउँछन् । खेलाडीको पभिलियन र स्कोर बोर्ड राखेपछि मैदानको पहिलो चरणको निर्माण सकिने उनको भनाइ छ । 
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको ११ करोडको लगानीमा यो रंगशाला निर्माण भएको हो । २०६४ सालदेखि नै यहाँ संघीय सरकारले केन्द्रीय खेलकुद प्रतिष्ठान बनाउन सुरु गरेको थियो ।
तर, त्यो योजना बजेट अभावले बीचमै अलपत्र पर्यो । तर, बागमती प्रदेश सरकार बनेपछि यो परियोजना प्रदेशको गौरबको योजनामा समेटियो । यहाँ फुटबल मैदान तयार भइसकेको छ । अब क्रिकेट मैदान पनि अन्तिम चरणमा पुगेको छ । 
क्रिकेट रंगशालामा मुख्य पिच निर्माण भइसकेको छ । मैदान पनि तयार छ । तारबारको काम पनि सकिएको छ । मैदानको एक भागतर्फ प्यारपिटसहितको भवन बनिसकेको छ । भवनभित्र शौचालय, खेलाडी कक्ष, चेन्जिङ रुम लगायतका पूर्वाधार पनि बनेका छन् । 
यो क्रिकेट मैदानमा प्यारापिटमा बसेर ४५० जना दर्शकले खेल हेर्न सक्छन् । वरपर बसेर खेल हेर्न मिल्ने गरी व्यवस्था समेत गर्ने तयारी छ । 
मैदानको वरपर रुख विरुवा रोपेर हरियाली बनाइएको छ । मैदानलाई व्यवस्थित गर्ने काम पनि भएको छ । 
यो मैदानमा आगामी सिजनमा नियमित क्रिकेट खेल्न मिल्ने बनाउने मकवानपुर क्रिकेट संघका सचिव विनोदकुमार बानियाँ बताउँछन् । 
यो रंगशालामा भविष्यमा स्थानीय, प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता समेत गर्न सकिने उनको भनाइ छ । 
बानियाँका अनुसार मैदान चलाउन रोलर, पिच कभर, ३० यार्ड ग्राउन्ड कभर लगायत मैदानका लागि आवश्यक  पर्छ । यस्तै पर्याप्त संख्यामा पिच क्युरेटर र ग्राउन्ड स्टाफ पनि राखेमा मैदानको नियमित रेखदेख र मर्मतसम्भार हुने क्रिेट संघको भनाइ छ । 
अहिले मकवानपुरमा क्रिकेट खेल व्यस्त शहरको बीचमा पर्ने हुप्रचौरमा हुने गरेको छ ।  रंगशाला तयार भएपछि मकवानपुरका क्रिकेटरहरुले गौरीटारमै नियमित अभ्यास गर्न पाउनेछन्। नियमित प्रतियोगिताहरु पनि खेल्न पाउनेछन् । 
अनि यो रंगशालामा भविष्यमा वरपर प्यारापिट विस्तार गर्न सक्ने सम्भावना पनि छ । भविष्यमा अन्तर्राष्ट्रिय रंगशालाका रुपमा विकास गर्न सक्ने अवसर छ । गौरीटारमा क्रिकेटको एकेडेमी समेत चलाउने गरी पूर्वाधार विकास गरिँदैछ । 
काठमाडौंबाट ५ घण्टाको सडक मार्गको यात्रापछि यो रंगशालामा पुगिन्छ । भविष्यमा काठमाडौं तराई फास्ट ट्रयाक निर्माण पछि यो दूरी अझै छोटिनेछ । त्यसैले यो रंगशाला भविष्यमा क्रिकेट पूर्वाधारमा हिसाबले निकै महत्वपूर्ण सावित हुन सक्छ ।
भिडियो हेर्नुस्
                                                    लिग टूमा नेपालको लगातार तेस्रो हार
                                                    NPL मा कुशल मल्लको विकेट लिन चाहन्छु
                                                    नेपालले भारतलाई उसकै भूमिमा हरायो, साबित्राको उत्कृष्ट प्रदर्शन
                                                    लिग टू खेल्न नेपाली टोलीको घोषणा, अनिल र भीमको पुनरागमन
                                                    नेपाल बन्यो विश्वकप छनोट प्रतियोगिताको च्याम्पियन
                                                    
                    
-1761836913.jpg)







