नेभिगेशन
एक्सप्लेनर भिडियो

कंगो, भुटान र सोमालियासँग पनि नेपालको व्यापार घाटा 

नेपालले १६५ भन्दा बढी देशसँग सामान किनबेच गर्छ, १३४ वटा देशसँग त घाटाको व्यापार गरिरहेको छ ।  नेपालले घाटाको व्यापार गर्ने देशको नाम हेर्नुभयो भने तपाई दंगै पर्नुहुन्छ । युद्ध र गरिबीले ग्रस्त अफ्रिकी मुलुकबाट हुने आयात हामीले गर्ने निर्यात भन्दा ठूलो छ । 

नेपालले २०८१ साउनदेखि २०८२ असारसम्मको एक वर्षमा १८ खर्ब ४ अर्ब रुपैयाँको सामान आयात गर्छ । निर्यात भने जम्मा २ खर्ब ७७ अर्बको गर्छ । यो भनेको नेपालले विदेशबाट ९ रुपैयाँको सामान किन्दा जम्मा १ रुपैयाँको सामान मात्र बिक्री गर्छ । 

आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वैैदेशिक व्यापारबाट १५ खर्ब २७ अर्ब रुपैयाँ घाटा भएको छ । 

अरु छाडिदिनुस्, चरम गरिबी झेलिरहेको अफ्रिकी देश कंगो र सोमालियासँगको व्यापारमा समेत नेपालले घाटा सहिरहेको छ । 

भन्सार विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०८१/८२ मा कंगोबाट नेपालले ७ करोड २९ लाखको सामान किन्यो । तर यहाँबाट ६ लाख ७४ हजार रुपैयाँको सामान बिक्री गरेको छ । यसरी कंगोसँगको व्यापारमा नेपालले ७ करोड २३ लाख रुपैयाँ घाटा सहेको छ । 

नेपालले सोमालियाबाट १ लाख ३६ हजार रुपैयाँको सामान किनेको छ । तर त्यहाँ बिक्री भने १ रुपैयाँको पनि गर्न सकेन । अफ्रिका महादेशकै तान्जानियासँग नेपालले ७४ करोड ५७ लाख रुपैयाँ ब्यापार घाटा सहेको छ । अनि जिम्म्बावेसँग ६७ करोड ३१ लाख । 

अफ्रिका महादेशकै बेनिनसँग ४३ करोड र ग्वााटेमालासँग ३९ करोड ४४ लाख रुपैयाँ घाटा सहेको छ । 

इजिप्टसँग २५ करोड ४४ लाख र सेनेगलसँग ३० करोड ६९ लाख, टोगोसँग २१ करोड ४० लाख र नाइजेरियासँग ६ करोड ८९ लाख रुपैयाँको व्यापार घाटा छ । 

दक्षिण अफ्रिकासँग २० करोड ८९ लाख र इथियोपियासँग १४ करोड ४१ लाखको घाटा छ । गाबोन, युगान्डा, मादागास्कर, सर्बिया, नाइजर, गुयना, भानुआतु, रुवान्डा, सियरालियोनसँग समेत नेपाल व्यापार घाटा सहिरहेको छ । 
अफ्रिकाको मात्र होइन, दक्षिण एसियाली देश भुटानसँग पनि नेपालले घाटाको व्यापार गरिरहेकोछ । त्यो पनि सानो अंकको होइन, १ अर्ब ३८ करोड रुपैयाँको । नेपालबाट भुटानमा वर्षभरिमा १३ करोड ६९ लाखको वस्तु निर्यात भएको छ । 

तर, भुटानबाट नेपालले १ अर्ब ५१ करोडको वस्तु आयात गरेको छ ।
 
नेपालमा भुटानबाट गार्मेन्ट, बिजुली ट्रान्सफर्मर र हस्तकलाका सामान आयात हुन्छन्, यी सबैजसो चिज नेपालमै उत्पादन हुन्छ । मूल्य र गुणस्तरका कारण मात्र भुटानको सामान ल्याइएको हो । 

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा चाहिँ भारतसँगै छ । भारतसँगको व्यापारमा नेपाललाई ८ खर्ब ४६ अर्ब घाटा छ । चीनसँग ३ खर्ब ३८ अर्ब र अर्जेन्टिनासँग ९९ अर्ब २९ करोडको व्यापार घाटा छ ।
युक्रेन, यूएई, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया र ब्राजिल नेपालको धेरै व्यापार घाटा हुने मूलुकको सूचीमा टप टेनमा छन् ।
 
कतार, फ्रान्स, साउदी अरेबिया, क्यानडा, अमेरिका, भियतनाम, कोरिया, सिंगापुर, जापान, बंगलादेश, टर्की, बेलायत, ओमान, म्यान्मार र तुर्कीमिनिस्तानसँग पनि नेपालले घाटाको व्यापार गर्छ । 
 
विदेशबाट सामान किन्न भारतबाहेक जुनसुकै देशलाई अमेरिकी डलरमा पैसा चाहिन्छ । अर्थात् डलर नकमाई कुनै पनि देशले विदेशबाट सामान किन्न सक्दैन ? नेपालले सामान बेचेर त जम्मा २ खर्ब डलर कमाउने हो ? 

त्यसो भए १८ खर्बको सामान चाहिँ कसरी किनिरहेको छ त ? तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो, विदेशमा काम गर्न गएका नेपालीले पठाएको रेमिट्यान्सको पैसाले हामीले विदेशबाट सामान किनिरहेका छौं । अर्थात विदेशबाट सामान किन्न हामीले रेमिट्यान्सबाट आएको रकम प्रयोग गरिरहेका छन् । 

भविष्यमा रेमिट्यान्स आउन कम भयो भने हाम्रो वैदेशिक ब्यापारको अवस्था के होला ? किनकी नेपालसँग डलर कमाउने अरु बाटो छैन । 

त्यसैले व्यापार घाटा मुलुकको लागि जोखिम हो । यसलाई घटाउने र हटाउने काम सरकारको हो । सरकारले २०७५ सालमै व्यापार घाटा न्यूनीकरण कार्ययोजना बनाएर काम गरिरहेको छ । 

फेरि २०७९ मा अर्को कार्ययोजना बन्यो । यस्ता कार्ययोजनामा कुन निकायले के गर्ने भन्ने तय गरेर कामहरु नै तोकिएको थियो । 

यो योजना कार्यान्वयन भएको भए नेपालभित्र कृषि, वनजन्य, औद्योगिक तथा घरेलु उत्पादन बढ्थे । उत्पादनको गुणस्तर बढ्थ्यो र नीतिगत तथा संरचनागत व्यवस्था बदलिन्थ्यो । निर्यातमा सहजीकरण हुन्थ्यो भने नेपालमै उत्पादन हुनसक्ने वस्तुको प्रवद्र्धन गर्ने कामहरु निरन्तर भइरहेको हुन्थ्यो । 

यसले देशभित्र उत्पादन बढेर रोजगारी सिर्जना हुन्थ्यो । युवा शक्ति विदेशिने क्रम घट्न सक्थ्यो । आयात खुम्चिने र निर्यात बढ्ने आधारहरु तयार हुन्थ्यो । 

तर, योजनाहरु कागजमै सीमित भए । सरकारका कुनै निकायले कार्ययोजना अनुसार काम नगर्दा निर्यात खुम्चियो । बरु अनावश्यक आयात बढेको बढ्यै भयो । 

तथ्यांकमा हेर्दा निर्यात केही बढेको देखेर सरकार मख्ख परिरहेकोछ । तर, नेपालमै उत्पादन नहुने वस्तु नेपाल आयात गरेर प्याकिङ गरेर निर्यात भइरहेको तथ्य छाँयामा छ । 

गत वर्ष धेरै निर्यात भएका वस्तुको पहिलो स्थानमा छ सोयाबिनको तेल । सोयाबिनको तेल मात्र नेपालले १ खर्ब ६ अर्ब रुपैयाँको निर्यात गरेको छ । जबकी नेपालमा उत्पादन हुने सोयाबिनले नेपाललाई नै पुग्दैन । निर्यात गर्न त परको कुरा । यो सोयाबिन तेल अर्जेन्टिना र अरु देशबाट आयात गरिएको छ । त्यसैलाई नेपालमा प्याकिङ गरेर भारतलाई बेच्ने हो । 

नेपालबाट निर्यात गर्दा भारत लगायतका सार्क राष्ट्रमा शून्य भन्सार सुविधा लिन पाइने भएकाले व्यापारीहरुले यस्तो गरिरहेका छन् । जुन व्यापारका हिसाबले दिगो व्यापार होइन । यसमा व्यापारीले अत्यधिक मुनाफा कमाएका र धेरै मानिसलाई रोजगारी दिएको अवस्था पनि छैन । त्यसैले सोयाबिन तेल बेचेर नेपाललाई खासै फाइदा छैन । 

निर्यात धेरै हुने सूचीको दोस्रो नम्बरमा सूर्यमुखी तेल छ । यसको कथा पनि सोयाबिनको जस्तै हो । भारतले यसअघि नै तेस्रो देशबाट ल्याएर भारतमा गरिने सूर्यमुखी तेलको निर्यातमा कडाइ गरिसकेको छ । त्यसैले नेपालले यस वर्ष भारतलाई सूर्यमुखी तेल धेरैको बेच्न सकेन । जम्मा १२ अर्बको मात्र निर्यात भयो । भारतले एउटा नीति परिवर्तन गरिदियो भने भविष्यमा सोयाविनको तेलको पनि हालत सूर्यमुखीकै जस्तो हुने हो । 

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाका अनुसार अहिले पनि अर्थ मन्त्रालयको ध्यान राजस्व बढाउनेमा मात्रै केन्द्रित छ । अर्थात विदेशबाट सामान आयात गर्दा सरकारलाई भन्सार राजस्व उठ्छ । त्यसैले आयातलाई जतिधेरै खुला राख्यो उति धेरै राजस्व उठ्ने अवस्था छ । 

त्यसैले सरकारले नेपालमै उत्पादन हुने र राम्रो मुनाफा कमाउन सकिने वस्तु निर्यात गर्ने नीति बनाउनतिर ध्यान दिएको छैन । मौद्रिक नीति, आर्थिक नीति, कर नीति कुनैले पनि आयातलाई निरुत्साहन गरेका छैनन् । 
बरु निर्यातलाई बढाउन ल्याइएका नीति फेल भएका छन् । यसले व्यापार घाटाको खाडल वर्षमै १५ खर्ब नाघिसक्यो । 

पूर्व वाणिज्य सचिव ओझा भन्छन्, ‘व्यापार घाटा कम गर्न योजना बनाएर मात्रै हुँदैन, जनशक्ति, संगठन, बजेट तथा जिम्मेवार निकायको तत्परता चाहिन्छ ।’ 

हो, यही नभएका कारण नेपाल आज आफूभन्दा पनि गरिब मुलकुसँग व्यापार घाटा खेप्दैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो