उजुरी दिन खोज्दै थिइन्, अर्कै बाटो रोजिन्
नाम : सम्झना भट्ट । उमेर १८ वर्ष । पढाइमा अब्बल । उनी पढ्न चाहन्थिन् । शनिबार मात्र बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयमा पवनसँग भन्दै थिइन्, ‘मलाई महेन्द्रनगर वा कुनै शहरमा राखेर पढाऊ । म परिवारको दबाव झेल्न सक्दिन ।’
तर सोमबार विहान खबर आयो, सम्झना आफ्नै घरमा मृत भेटिइन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २ सिहपाल टोलकी सम्झना घरमै मृत भेटिएकी थिइन् । झ्याल ढोका बन्द रहेको कोठामा उनी झुण्डिएको अवस्थामा भेटिएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आंशका छ । तर परिवारिक बेमेल भएकाले उनका पति २४ वर्षका पवन भट्टलाई पक्राउ गरेर अनुसन्धान थालिएको कञ्चनपुर प्रहरीले बताएको छ ।
१८ वर्षकी सम्झना र २४ वर्षका पवनले केही समय पहिले विवाह गरेका थिए । सम्झना १३/१४ वर्षको हुँदा नै पवनसँग प्रेममा परेकी थिइन् । उनीहरुको प्रेम सम्बन्धबारे परिवारले थाहा पाएपछि सम्झनालाई सम्झाएको थियो ।
तर उनले १६ वर्षको उमेरमा नै परिवारको सहमति वेगर विवाह गरिन् । विवाहपछि सम्बन्ध राम्रो रहेन । बेलाबेला पवन र सम्झनाबीच विवाद भइरहन्थ्यो । उनीहरुको विवाद पटक–पटक प्रहरी कहाँ समेत पुग्यो ।
पछिल्लो पटक शनिबार उनीहरु इलाका प्रहरी कार्यालय बेलडाँडी पुगेका थिए । प्रहरी अधिकृतहरुले दुबैलाई राखेर काउन्सिलिङ गरे । पवन आफैं ब्याचलर पढ्दैछन् । उनको कुनै जागिर छैन । सम्झना पनि पढ्दै थिइन् ।
त्यसैले अहिले आ–आफ्नो घरमा बसेर पढ्ने र निश्चित समयपछि आफ्नो विषयमा आफैं निर्णय लिन प्रहरीको सुझाव थियो ।
छलफलका क्रममा पवनले भने सम्झनाले डिप्रेसनको औषधि खाइरहेको बताए । आफूहरुबीच विवाद हुने गरेको स्वीकार गरे । त्यसक्रममा एक अर्कालाई हात हाल्ने गरेको समेत बताए ।
उनीहरुसँग २ घन्टा छलफल गरेका प्रहरी अधिकृतहरुका अनुसार उनीरुको सम्बन्ध निकै कमजोर भइसकेको देखिन्थ्यो । यद्यपि सम्झनाले आफूलाई महेन्द्रनगर वा अन्य कुनै ठाउँमा राखेर पढाइदिने हो भने स्वीकार्य हुने बताएकी थिइन् । उनले प्रष्ट शब्दमा परिवारको दबाव सहन नसक्ने बताएकी थिइन् ।
सम्झनाले यथास्थितिमा सँगै बस्न नसक्ने बताएपछि प्रहरी अधिकृतहरुले कानुनी उपचारको बाटो देखाए ।
सम्झनाले जिल्ला प्रहरीमा उजुरी दिए हुन्छ कि इप्रकामा दिनुपर्छ भनेर सोधिन् । किनकी उनलाई इप्रकाभन्दा जिल्ला प्रहरी कार्यालय नजिक पर्छ । प्रहरी अधिकृृतहरुले जहाँ उजुरी दिएपछि हुने बताए । त्यसपछि सम्झनाले पवनलाई आफूलाई घरमा छोडिदिन आग्रह गरिन् । दुबै जना त्यहाँबाट निस्किए ।
भोलिपल्ट विहानै सादा पोसाकमा केही प्रहरी सम्झना र पवनको घर पनि पुगेको थियो । प्रहरीले पवन र सम्झनालाई भेट्यो, उनीहरुको आमा बाबुलाई पनि सम्झाएर फर्कियो ।
तर सोमबार एक्कासी सम्झना आफ्नै घरमा मृत अवस्थामा भेटिएको खबर आयो । प्रहरी टोली पुग्दा बन्द कोठाभित्र सम्झना झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
उनको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा पठाइएको छ । पवन भने प्रहरी हिरासतमा छन् ।
सम्झनाको माइती पक्षले आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेका छन् ।
उनीहरुका अनुसार सम्झनामाथि निरन्तर हिंसा भएको थियो । आइतबार मात्र सम्झनाले आफ्ना साथीहरुसँग आफूमाथि कुटपिट भएको र अब बाँच्न नसक्ने बताएकी थिइन् । त्यसैले सम्झनालाई आत्महत्या गर्न बाध्य पारिएको परिवारको दाबी छ ।
जाहेरी दर्ता भएपछि त्यसका आधारमा अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए ।

'दु्र्गा प्रसाईंले सत्ता पल्टाउन खोज्यो भन्नु सुरक्षा कमजोरी हो'

कक्षा १२ मा ६१ प्रतिशत विद्यार्थी पास, ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ मा

हायु परिवार सिन्धुली फर्कियो, अहिले वडाध्यक्षकै घरमा बस्ने

महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने
