'चक्रे मिलनले बर्थडे मनाउँदा छिमेकीहरु डराए'
राजधानी काठमाडौं बाक्लो जनघनत्व भएको ठाउँ भएकाले अपराधका घटना पनि धेरै नै हुन्छन् । अत्यधिक सवारी साधन गुड्ने भएकाले सडक दुर्घटना पनि उत्तिकै हुन्छ ।
भीआईपीहरुको बसोबास र ओहोरदोहोर भइरहने हुनाले उनीहरुको सुरक्षाको जिम्मा पनि प्रहरीकै जिम्मेवारीमा छ । नारा, जुलुस, धर्ना प्रदर्शनको सुरक्षामा पनि प्रहरीले खटिएको हुन्छ । मनसुनको समय भएकाले बाढी, पहिरो र डुवानको जोखिम पनि उत्तिकै हुन्छ ।
यस्तो अवस्थामा प्रहरीले काम कसरी गरिरहेको छ ? यसै सन्दर्भमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीसँग नेपाल शोका विनोद ढकालले गरेको कुराकानी :
अहिले काठमाडौंको मुख्य सुरक्षा चुनौती के हो ?
काठमाडौंमा धेरै खालको सुरक्षा चुनौती छ, तत्कालका लागि चाहिँ मनसुन नै सुरक्षा चुनौती हो । मनसुनको समयमा बाढी पहिरोका कारण मानिसको जिउधनको क्षति हुने सम्भवना रहेकाले हाम्रो मुख्य चासो विपदका बेला कसरी जनधनको क्षति कम गर्ने भन्ने विषयमा छ ।
त्यसबाहेक विभिन्न अपराधका घटना, उपत्यका प्रवेश गर्ने नाकाहरु र लागूऔषधको समस्या, सडक दुर्घटना, साइबर अपराध पनि सुरक्षा चुनौती हुन् । तीबाहेक परम्परागत रुपमा हुने अपराधको चुनौती त छँदैछ ।
यही बेला हिन्दू महिलाहरुको प्रमुख चाड तिज पनि आइरहेको छ । तीजका बेला उत्सव मनाइरहँदा चोरीका घटना हुन सक्छन् ।
जिल्ला प्रहरी परिसरले गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक प्रस्तुत गर्दा सबैभन्दा धेरै घटना बैंकिङ कसुरका छन् । जिल्ला प्रहरीमा दर्ता भएका करिब १३ हजार घटनामध्ये बैंकिङ कसुरको मात्र साढे ६ हजार घटना छन् । बैंकिङ कसुरका घटना किन यति धेरै बढेको होला ?
परम्परागत रुपमा हेर्दा पहिला मान्छेको आवश्यकता खाने–लाउने मात्र थियो, मान्छेको खोज खानाको हुन्थ्यो, त्यसपछि लगाउने लुगा, बालबच्चाको पालनपोषण मात्र थियो । आर्थिक गतिविधि बढेसँगै मानिसहरुको आर्थिक अवस्था पनि सुधार हुँदै गयो, विज्ञान प्रविधिको विकासले बिटक्वाइनजस्ता अभौतिक मुद्राको जमाना आइसक्यो ।
नेपालमा पनि बैंकिङ प्रणालीबाट गरेको कारोबार सेटल गर्न नसक्ने र बैंकिङ प्रणालीबाट गरेको कारोबारबाट अनुचित लाभ लिन खोज्ने प्रवृत्ति देखिएको छ । कोही ब्याजको लोभमा पर्दा पर्दा बैंकिङ कसुर, चेक अनादरको मुद्दा बढेको देखिन्छ । यो समस्या कोरोना महामारीपछि अत्यन्तै बढेको देखिन्छ ।
जिल्ला प्रहरी परिसरको तथ्यांक हेर्दा दोस्रो धेरै घटना अभद्र व्यवहारको देखिन्छ । अभद्र व्यवहारमा कस्ता घटना पर्छन् ?
अभद्र व्यवहार के हो भन्नेबारेमा फौजदारी अपराध संहितामा स्पष्ट ब्याख्या छ । कसैले पनि सार्वजनिक ठाउँमा अशान्ति गर्ने, कसैलाई जिस्क्याउने, हैरानी दिने सामान्य प्रकारको शान्ति व्यवस्थालाई खलल पुर्याउने कसुरलाई अभद्र व्यवहार भनिन्छ ।
अहिले प्रहरीले अभद्र व्यवहारको कसुरमा नै मिलन चक्रेमाथि अनुसन्धान गरिरहेको छ । उनलाई बर्थडे मनाइरहेको ठाउँबाट प्रहरीले पक्राउ गरेको थियो, उनी पक्राउ परेपछि बर्थ डे मनाउन पनि नपाइने भन्ने प्रश्न पनि उठेको छ नि ?
त्यस दिन प्रहरीको हटलाइन नम्बर १०० मा होहल्ला भयो, अशान्ति भयो, निकै लामो बेर भइसक्यो, हामी सुत्न पाएनौं, डर त्रासको अवस्था भयो, धेरै मान्छे छन्, के हो, कसो हो भनेर लगातार फोन आएपछि हामीले उनलाई पक्राउ गरेको हो । यो घटना अभद्र व्यवहार नै हो ।
काठमाडौंमा बढेको अर्को घटना हो, लागुऔषध कारोबारको, लागू औषधको कारोबार बढ्नुको कारण के होला ?
संसारमा गैरकानुनी तरिकाले पैसा कमाउने ३ वटा माध्यममध्ये लागूऔषध कारोबार पनि एक हो । यसको कारोबार बढ्नुको मुख्य कारण हो, यसले युवाहरुलाई प्रभाव पारिरहेको छ । मान्छेले आनन्द लिने दुई तरिका हुन्छ । एउटा डिपेन्डेन्ट आनन्द, अर्को इन्डिपेन्डेन्ट आनन्द हो ।
इन्डिपेन्डेन्ट आनन्द भनेको ध्यान गर्ने हो, डिपेन्डेन्ट आनन्द भनेको आफ्नो आनन्दको साचो अर्कोलाई बुझाउने हो । यसमा सबैभन्दा सहयोग गर्ने चिज नशा हुन्छ, त्यसकारण लागुऔषधको बजार फस्टायो ।
तर काठमाडौंमा गत वर्षको तुलनामा लागुऔषध विरुद्धको प्रहरी कारबाही निकै आक्रामक भएको छ, निकै धेरै संख्यामा पक्राउ परेर मुद्दा धेरै दर्ता भएको छ ।
काठमाडौं परिसरको तथ्यांक हेर्दा कुनै घटनाको सूचना पाएको ५ मिनेट भन्दा कम समयमै ४२ प्रतिशत घटनामा प्रहरीले रेस्पोन्स गरेको देखिन्छ । तर कतिपय घटनामा प्रहरी समयमा आइनपुगेको गुनासो पनि त्यत्तिकै छ नि ?
हाम्रो हटलाइन नम्बर १०० मा कल आउनेबित्तिकै नजिकको प्रहरीलाई हाम्रो कन्ट्रोल रुमले अटोमेटिक रुपमा एक्टिभेट गर्छ । कुनै कुनै घटनामा निरन्तर फलो गरेर भन्न पनि सक्छ । अहिले हाम्रो ५२२ ठाउँमा स्ट्याबलिसमेन्ट छ, ती ठाउँबाट जहाँ जहाँ सहजता छ, त्यहाँ प्रहरी पुग्छ । ५२२ ठाउँलाई हामीले ६/७०० ठाउँमा पुर्याउन सक्यौं भने अझै छिटो रेस्पोन्स पनि हुन सक्छ ।
साधन स्रोत, सहयोग माग्नेसम्मको दूरी, त्यहाँसम्म आवागमन वा सडक पूर्वाधारको अवस्था, यी सबै कुराहरुले रेस्पोन्सको टाइम कति लाग्छ भन्नेमा फरक पार्छ । हाम्रो प्रयास सकेसम्म कम समयमा नागरिकले प्रहरीको रेस्पोन्स पाओस् भन्ने छ ।

डोजरले टहरा भत्काएपछि सुकुम्बासी बस्तीमा रुवाबासी

फास्ट ट्र्याक कहिले तयार हुन्छ ? सेनाको दाबीमा रक्षामन्त्रीकै आशंका

पासपोर्ट बनाउन रातिदेखि लाइनमा, अन्डरग्राउन्डमा गुम्सिन्छन् सेवाग्राही

'विद्यार्थीलाई सरकारले नदिएको सुविधा हामी किन दिने ?'
