फास्ट ट्र्याक कहिले तयार हुन्छ ? सेनाको दाबीमा रक्षामन्त्रीकै आशंका
तराई मधेश फास्ट ट्र्र्याकको निर्माण कहिले सकिन्छ ? निर्माणको जिम्मा पाएको नेपाली सेनाको दाबी छ कि तोकिएकै समय अर्थात २०८३ को चैतसम्म सकिन्छ ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपस्थित प्रधानसेनापति अशोकराज सिग्देलले सेनाले समयमै काम सक्छ भन्ने विश्वास गर्न आग्रह गरे ।
काठमाडौंलाई तराई मधेशसँग जोड्ने छोटो बाटो फास्ट ट्रयाक निर्माणको सुरुवात सेनाले २०७४ वैशाख २४ गते गरेको थियो । सुरुमा २०८१ चैतसम्म निर्माण सक्ने भने पनि समयमा काम भएन । म्याद थपेर २०८३ चैतसम्म पुर्याइएको छ ।
७० दशमलव ९७ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणको लागत २ खर्ब ११ अर्ब ९३ करोड लाग्ने अनुमान छ ।
तोकिएको समयमा काम सक्न नेपाली सेनासँग अब १ वर्ष ८ महिना बाँकी छ । अहिलेसम्म करिव करिव ४३ प्रतिशत काम मात्र सकिएको छ । सुरुङ र अग्ला पुलहरु भने सेनाले बनाइसकेको छ ।
प्रधानसेनापति सिग्देलका अनुसार अब हुने काम छिटो सकिने खालका छन् । त्यसले अब गति लिन्छ भन्ने विश्वास छ ।
द्रुतमार्गको प्रस्थान विन्दु सरकारले ललितपुरको खोकनालाई तोकेको छ । तर त्यहाँका बासिन्दाले विरोध गरिरहेका छन् । प्रधानसेनापति सिग्देलका अनुसार खोकना क्षेत्रमा फास्ट ट्र्याकको लम्बाई ६.५ किलोमिटरसम्म छ । यसमा ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण ठाउँ छ ।
सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि क्रियापुत्री बस्ने ठाउँहरु छन् ।
फास्ट ट्रयाकले सम्पदा मास्ने भन्दै स्थानीय बासिन्दाले विरोध जनाएपछि ६.५ किलोमिटर खण्डमा निर्माणको ठेक्का पनि लागेको छैन ।
फास्ट ट्रयाक बाहेकका अन्य योजनाहरु खोकनामा नआउने ग्यारेन्टी भए स्थानीय बासिन्दाले धेरै बाधा नगर्ने प्रधानसेनापति सिग्देलको विश्वास छ ।
तर समितिको बैठकमा उपस्थित सांसद मात्र होइन, सेनाको तालुकदार मन्त्रालय रक्षाको नेतृत्व गरेका रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराई/मधेश द्रुतमार्गको काम सकिनेमा विश्वस्त छैनन् ।
मन्त्री राईले सरकारले फास्ट ट्र्याकलाई प्राथमिकतामा राखेर काम गरेको बताए । तर ०८३ सम्म बन्छ भन्ने विश्वास नभएको सुनाए ।

डोजरले टहरा भत्काएपछि सुकुम्बासी बस्तीमा रुवाबासी

'चक्रे मिलनले बर्थडे मनाउँदा छिमेकीहरु डराए'

पासपोर्ट बनाउन रातिदेखि लाइनमा, अन्डरग्राउन्डमा गुम्सिन्छन् सेवाग्राही

'विद्यार्थीलाई सरकारले नदिएको सुविधा हामी किन दिने ?'
