पशुपतिमा नमाज पढेको आरोपमा मुद्दा, २ वर्ष कैद गर्न माग

पशुपतिनाथ मन्दिर साउने सोमबारको मेला हेर्न वीरगञ्जबाट आएका एक मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।
गत साउन २६ गते बिहान ११ बजे पशुपति मन्दिरदेखि पारिपट्टिबाट पशुपति मन्दिरतर्फ फर्केर नमाज पढ्दा हिन्दू धर्मावलम्बीको धार्मिक आस्थामा असर पुर्याएको भन्दै उनलाई पक्राउ गरेर धर्मसम्बन्धी कसुरमा मुद चलाइएको हो ।
यसरी मुद्दा चलाइएका व्यक्ति हुन्, पर्साको धोविनी गाउँपालिका–३ का ६१ वर्षका कुफ मिया ।
मियाँविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २ वर्ष कैद र २० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै भदौ १२ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
के हो घटना ?
साउन २६ गते यस वर्षको साउनको अन्तिम सोमबार । पशुपतिनाथमा हिन्दू भक्तालुहरुको घुइँचो लाग्छ । पर्साका कुफ मियाँ साउने सोमबारको मेला हेर्न भनेर घरबाट साउन २४ गते काठमाडौं आए । काठमाडौं आएर उनी सोझै पशुपति मन्दिर पुगे, दिनभरि मन्दिरतिरै घुमफिर गरेर त्यहीँ बास बसे ।
भोलिपल्ट बिहान गौशालाको पशुपति धर्मशालामा आएर नुहाइ धुवाइ गरेर नमाज पढे । दिउँसो घण्टाघर, नारायणहिटी दरबार घुमफिर गरेर फेरि पशुपति मन्दिर परिसरमा नै गएर सुते । उनी काठमाडौं आएको तेस्रो दिन साउन २६ गते अन्तिम सोमबार थियो ।
उनी त्यस दिन पनि बिहान उठेर गौशालाको धर्मशालामा गएर नुहावइ धुवाइ गरेर पशुपति फर्किए । मन्दिर भित्र जान खोजेका थिए, उनले लगाएको टोपी हेरेर प्रहरीले मुस्लिमहरु मन्दिर भित्र जान पाइदैन भनेर रोक लगायो । मिया त्यहाँबाट फर्किए ।
मिया भोलिपल्ट साउन २७ गते पनि मियाँ पशुपति मन्दिर क्षेत्रमा नै गए । उनी बागमती तरेर पशुपति मन्दिरको पारिपट्टिको खुला स्थानमा गए ।
त्यसपछि पशुपति मन्दिरतर्फ फर्केर नमाज पढे । उनले नमाज पढेको फोटोहरु सामाजिक सञ्जालतिर पनि भेटिएका छन् ।
केही बेरमा पशुपतिको सुरक्षा गार्ड आएर उनलाई किन पशुपति मन्दिर तर्फ फर्केर नमाज पढेर किन हाम्रो हिन्दू धर्मको आस्थामा आघात पुर्याउने काम गरेको भनेर गाली गर्यो, प्रहरीलाई खबर गर्यो, अनि प्रहरी आएर उनलाई पक्राउ गरेर लग्यो ।
पशुपति क्षेत्र विकास कोषका सुरक्षा कमाण्डर भीमबहादुर बुढाथोकीले प्रहरीमा कुफ मियाँ विरुद्ध प्रहरीमा जाहेरी दिए ।
जाहेरी दरखास्तमा भनिए अनुसार कुफ मियाँले नमाज पढिरहेको देख्नेहरुले सुरक्षाकर्मीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मीहरु मियाँ भएको ठाउँमा पुगेका थिए ।
जाहेरीमा हिन्दूहरुको धार्मिक स्थल पशुपति मन्दिरमा आई मन्दिर परिसर एरियामा बसी धार्मिक आस्थामा घृणा गर्ने वा अपमान गर्ने नियतले हिन्दू धर्महरुको पूजा प्रार्थनामा आस्था रहेको पवित्र स्थलमा विपक्षीको आस्था रहेको देवको आराधना गरी जात जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याई अरुको धार्मिक रितिथितिमा बाधा पुग्ने धर्मसम्बन्धी कसुर गरेको ।’
प्रहरीले यो घटनामा जाहेरी दरखास्त दिएका व्यक्तिको वयान लिएको छैन । ३ जना अन्य व्यक्तिको बयान लिएको छ । ३ जनामध्ये सरोज दाहाल त त्यस दिन पशुपति मन्दिर परिसरमा नै नरहेको उनले गरेको घटनाविवरण कागजमा उल्लेख छ ।
दाहालले आफू त्यस दिन चाबहिलमा रहेको र कुफ मियाँले पशुपति मन्दिरतिर फर्केर नमाज पढेको कुरा अन्य व्यक्तिहरुले भनेको सुनेर थाहा पाएको कागज गरेका छन् ।
त्यस दिन पशुपति मन्दिर परिसरमै रहेका लक्ष्मण केसी र घाटे वैद्य शैलेन्द्र बैद्यले पनि कुफ मियाले पशुपति मन्दिरतिर फर्केर नमाज पढेको अन्य व्यक्तिले भनेको सुनेर थाहा पाएको घटना विवरण कागज गरेका छन् ।
यो घटनामा महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो । गौशाला वृत्तका प्रमुख डीएसपी सुकदेव खनालका अनुसार कुफ मियाँले नमाज पढेको भनेर प्रहरीमा गुनासो आएको थियो । त्यसपछि उनकै सुरक्षाका लागि नियन्त्रणमा लिएको उनले बताए ।
तर प्रहरीले धार्मिक आस्थामा आघात पुर्याएको भन्दै धर्मसम्बन्धी कसुरमा मुद्दा चलाउन राय दियो ।
प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कुफ मियाले धार्मिक आस्थामा घृणा गर्ने वा अपमान गर्ने नियतले हिन्दूहरुको पूजा प्रार्थनामा आस्था रहेको स्थलमा नमाज पढी हिन्दू जात जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याएर धर्मसम्बन्धी कसुर गरेको आरोप लगाएको छ ।
उनले गरेको काम मुलुकी अपराध संहिता २०७४ को दफा १५६ को उपदफा (१) विपरीत भएको पुष्टि भएको उल्लेख छ ।
मुलुकी अपराध संहिताको दफा १५६ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउनु हुँदैन भनिएको छ ।
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार पशुपति मन्दिरभित्र पूजा गर्न जान हिन्दू, वौद्ध र जैन धर्मावलम्बीले पाउँछन्, अरुले पाउँदैनन् ।
तर मन्दिर भन्दा बाहिर नमाज पढ्दा त्यसले धार्मिक आस्थामा असर नगर्ने बताए ।

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

हरेक उथलपुथलपछि आउँछ सन्दुकलाई प्रस्ताव, उनी भन्छन् – बिरामीको सेवामै खुशी छु

सर्वोच्चको नियमित सेवा अनिश्चितकालका लागि स्थगित

आन्दोलनका नाममा आगजनी योजनावद्ध षड्यन्त्र हुनसक्छ : प्रधानमन्त्री कार्की

आइसक्रिम चोर्ने शिक्षकको जागिर चट्
