'सामाजिक सञ्जाल बन्द गर्दा सडकमा निराशा पोखिनसक्छ'

सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धको मारमा अहिले सर्वसाधारण नागरिकदेखि सामाजिक सञ्जालमा आधारित सबै प्लाटफर्महरु परेका छन् ।
‘रुटिन आफ नेपाल बन्द’ नेपालमा समाजिक सञ्जालमा युवापुस्तामाझ चर्चित फेसबुक पेज हो । यसले समाजिक सञ्जालकै माध्यमबाट सूचना दिने गरेको छ, जुन समाग्रीलाई युवा पुस्ताले निकै रुचाएका पनि छन् । यो पेजको संस्थापक हुन् भिक्टर पौडेल । उनी युवा पुस्तामाझ रुटिने र रुटु उपनामले समेत चर्चित छन् ।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध निर्णयले उनी अच्चिमित छन् । उनी समाज सुधार्न काम गर्नुपर्ने सरकार सामाजिक सञ्जालले समाज बिगारेको हो भन्ने ढंगबाट प्रस्तुत भएको ठान्छन् ।
सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयबारे पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
सरकारले लामो समय दर्ता नभएका समाजिक सञ्जालहरु बन्द गर्छु भनिरहेकै थियो । तर हिजो बन्द नै गर्यो । यो सुन्दा तपाईको प्रारम्भीक प्रतिक्रिया के थियो ?
यो सुन्दा त अच्चम नै लाग्यो । आफ्नो प्लाटफर्म भन्दा पनि म आफैं पनि सामाजिक सञ्जालको प्रयोगकर्ता भएकाले पनि यो कुरा अनौठो लाग्ने नै भयो ।
यो हुने नै भयो भने हामीले बुझ्न खोजेका थियौं ।
सामाजिक सञ्जालको नियमन नराम्रो होइन । तर एक्कासी बन्द गर्दा मान्छेलाई दैनिक जीवनयापनमै गाह्रो भइरहेको छ । यो तपाईं हामी सबैले देखेकै छौं, भोगेकै छौं ।
सरकारले सामाजिक सञ्जाल निर्देशिका र अदालतको आदेशलाई देखाएर यो प्रतिबन्धको निर्णय लिएको छ । यसमा धेरैले प्रश्न उठाएका छन्, तपाई के लाग्छ ?
सरकारको यो निर्णय कानुनी आधारबाट त्यति बलियो हो भन्ने मलाई पनि लाग्दैन । एक किसिमले तर्कहीन पनि छ । फेसबुक बन्द गर्नु त एउटा कुरा भयो, तर नर्मल म्यासेजिङ एप ह्वाट्एप नै ब्यान्ड गरिएको छ । आईम्यासेज जस्ता अरु म्यासेजिङ एप फेरि चलिरहेकै छ । यसले त प्रश्न उठ्छ, किन ह्वाट्सएप मात्रै ? यो त एउटा एउटा उदाहारण मात्र हो, सरकारले तर्कहीन ढंगको काम गरेको ।
कानुनी रुपमा पनि आधारहीन छ भनेर मान्छेहरुले अदालतमा रिट हाल्न लाग्नुभएको छ भन्ने सुनेको छु । सरकारले खास आवश्यकता र औचित्य हेरेर निर्णय गरेको देखिँदैन । राम्रो तयारी समेत नगरी प्रतिबन्धको निर्णय भएको जस्तो लाग्छ ।
हामीले अनौपचारिक ढंगले बुझ्दा कतिपय प्लाटफर्मलाई बन्द गरिंदैछ समेत थाहा छैन रहेछ ।
हाम्रो टिमले कुरा गर्दा कतिपयलाई ब्यान्ड भएकै पनि थाहा रहेनछ । यसले पर्याप्त छलफल, गृहकार्य र तयारी नगरिएकै देखिाउँछ । सरकारले राम्रोसँग छलफल गरेको थियो भने प्लाटफर्महरुले पनि केही न केही सोच्थ्यो, केही न केही गथ्र्यो होला ।
सरकारले किन यसो गर्यो होला भन्ने लाग्छ ?
सरकारले जे जे–जे भनेपनि सरकारको अल्टिमेट टार्गेट भनेको कन्टेन्ट फिल्टरेसन नै हो । किनकी सरकारले नियमन मात्रै गर्न चाहेको हो भने त सोसियल मिडिया प्लाटफर्मले नेपालमा कर तिरेकै छन् । करोडौं रुपैयाँ राजश्व तिरिरहेकै छन् । त्यसैले सरकारको मोटिभ कन्टेन्टको फिल्टरेसन जस्तो देखिन्छ ।
नेपालमा जथाभावी कन्टेन्ट हाल्ने समस्या नभएको हैन । त्यसलाई मात्रै फिल्टर गर्ने उद्देश्य हो भने त ठीकै होला । तर मलाई चाहिँ सरकारको असल भन्दा पनि खराब नियत छ कि भन्ने आशंका छ । यो भोलिका दिनमा अझ प्रष्ट होला ।
तपाईंको आशंका, सरकार विरुद्धको आवाज दबाउन यसो गरिएको हो ?
सरकार विरोधी आवाज नै दबाउन खोजिएको हो त म भन्न सक्दिनँ । तर, हामीले बुझेको कुरा के हो भने मेटादेखि सबैजसो सोसियल मिडियाले आफ्नो गाइडलाइन बनाएका छन् । त्यसका आधारमा कन्टेन्ट फिल्टर गरिरहेकै छन् । असभ्य भएर कसैले गाली गरेको छ भने सोसियल मिडियाले नै त्यसलाई हटाइरहेका पनि छन् ।
अब सरकारलाई कुन कन्टेन्ट फिल्टर गर्नु परेको होला त ? यो कुरा सरकारलाई नै थाहा होला । किनकी हामी उहाँहरुको मनमा पस्न सक्ने कुरा भएन । के हुनसक्छ भने अहिले हप्तैपिच्छे सरकारका कामकाहरवाहीसम्बद्ध विभिन्न काण्डहरु आइरहेका हुन्छन् । नेपालमा नेताहरुको के–को एक्स्पोज गर्ने भनेर ट्रेन्ड चल्दै थियो ।
यस्तै यस्तै बेलामा यो ब्यान्ड भयो । त्यसैले हामीले सरकारको नियतमा शंका गरेका हौं ।
सामाजिक सञ्जालको दुरुपयोग एउटा पाटो हुनसक्छ । तर साकारात्मक प्रयोग पनि उत्तिकै भएका छन् । रुटिन अफ नेपाल बन्द आफैं पनि त्यसको उदहारण हो । सरकारले यस्तो पक्षलाई किन बिर्सियो होला ?
सरकारले किन बिर्सियो भन्ने कुरा सरकारलाई नै थाहा छ । तर सत्य के हो भने समस्या सामाजिक सञ्जालमा मात्रै छैन । आज आफ्नो अधिकारको दुरुपयोग त भर्चुअल लाइफमा भन्दा रियल लाइफमा बढी भइरहेको छ नि !
मान्छेहरु सामाजिक मर्यादा र कानुन विपरीतका नचाहिने काम गर्दै हिँडिरहेका छन् । समस्या त समाजामा पनि छ । समस्या भयो भनेर समाजलाई नै बन्द गर्ने भन्ने त हुँदैन नि । राम्रो नराम्रो सबै ठाउँमा हुन्छ । सोसियल मिडियामा पनि छ । घर, परिवार, समाज सबैतिर नकारात्मकता धेरै छन् ।
दलहरुले नै स्कुलदेखि कार्याकर्ता बनाएर ढुंगामुडा गर्न सिकाउँछन् । अनि सोसियल मिडियामा त्यही कुरा प्रतिबिम्बित त हुने हो । उहाँहरुकै कार्यकर्ता सोसियल मिडियामा सबभन्दा बढी गालीगलौजमा उत्रिनुहुन्छ । स्कुलिङ जस्तो भयो त्यस्तै समाज हुने त हो । हामीले चिनेका धेरै नेता ढुंगामुढा गरेर, मान्छे मारेरै आउनुभएको त हो । उहाँहरुले सोसियल मिडिया लथालिंग भयो, मान्छेले जे मन लाग्यो त्यही बोल्यो भन्न सुहाँदैन । उहाँहरुले बेलैदेखि राम्रो स्कुलिङ दिनु भएन ।
त्यसैले दलहरुले आफ्ना कार्याकर्तालाई सही कुरा सिकाउनुपर्यो, सरकारले पनि सबैलाई सकारात्मक ढंगले अघि बढ्न प्रेरित गर्ने र सिकाउने काम गर्नु पर्यो । आजको दिनमा डिजिटल लिट्रेसीमा काम गर्नुपर्ने छ । त्यो काम कसले गर्ने त ?
सभ्यता सिकाइदिने हो भने समाज आफैं राम्रो हुन्छ । सामजिक सञ्जालमा कन्टेन्ट पनि फिल्टर हुन्छ ।
कतिपयले के भनिरहेका छन् भने समाजमा ब्याप्त निराशाका कारण सोसियल मिडियाकै माध्यमबाट नयाँ शक्तिहरु उदाए । सोसियल मिडियामा नयाँ अनुहारले बढी साथसमर्थन पाउँदा सरकार नियन्त्रणको बाटोमा हिड्यो । तपाईलाई के लाग्छ ?
सामाजिक सञ्जाल प्रतिबन्धको एउटा कारण यो पनि हो । यही कुरा सोचेर सरकारले सोसियल मिडिया बन्द गरेको हो भने यसले सरकार र पार्टीलाई नै हानी हुन्छ ।
रियल लाइफको कुरा गरौं न, जहाँ जो भेट्दा पनि फ्रस्टेट छन् । इन्ड्राइभ गर्ने चालकसँग कुरा गरौं, चिया पसलमा भेटिएकासँग कुरा गरौं, जो पनि फ्रस्टेट छन् । यो सोसियल मिडियाले गरेर त होइन नि !
अनि सोसियल मिडिया बन्द गरेर त्यो फ्रस्टेसन कसरी कम हुन्छ ? सोसियल मिडिया त समाजको ऐना न हो । यहाँ जे छ, त्यहाँ त्यही देखिन्छ । त्यसैले फेरि पनि भन्छु, समाज नै पहिला राम्रो हुने हो ।
त्यसपछि समाजिक सञ्जालमा भएका नराम्रो आफैं हट्छ । समाजलाई असल, सभ्य, इमान्दार र बिबेकी बनाउने काम सरकारको हो । त्यो भयो भने समाजिक सञ्जाल आफैं समस्यामुक्त बन्छ ।
देशमा कोही मान्छे खुशी छैन । धेरै विदेश गइरहेका छन् । अनि सोसियल मिडया ब्यान्ड भएर फ्रस्टेसन रोकिन्छ भन्ने सोच्नु झन् भ्रम छ । फ्रस्टेसन सधैं दबेर बस्दैन, कुनै न कुनै रुपमा बाहिर आउँछ ।
हिजोसम्म सोसियल मिडिया फ्रस्टेसन पोख्ने माध्यम थियो, त्यसलाई रोक्दा निराशा सडकमा पोखिनसक्छ । किनकी बढ्दो निराशालाई पोखिन नदिने पाटो झन् खतरनाक हुन्छ ।
सरकारले निर्णय त गरिसक्यो । सोसियल मिडिया खुल्ने कि नखुल्ने भन्ने कुरा सम्बन्धित सोसियल मिडियाहरु दर्ता हुन आउँछन् कि आउँदैनन् भन्ने कुरामा निर्भर हुने भयो । यदि चर्चित सोसियल मिडिया दर्ता हुन मानेनन् भने या यो प्रतिबन्ध धेरै लामो समय गयो भने के होला ?
यो प्रतिबन्ध छोटो समय भए त केही छैन, तर लामो समय यो लम्बियो भने समस्या बढ्छ । किनकी नेपालमा अल्टरनेटिभ प्लाटफर्म आउन एकदम गाह्रो छ । भारतमा पनि यसको अनुभव छन् । अन्तिममा यिनै ग्लोगल पटफर्महरुले नै ठाउँ लिने हो ।
उनीहरु दर्तामा आएनन् भने समस्या पर्ने त हामी जनतालाई नै हो । हामीसँग प्रतिबन्ध लागेका सोसियल मिडियाका अन्टरनेटिभ छैनन् । सबै सामाजिक सञ्जालमा आ–आफ्ना विशेषताहरु छन् । उनीहरु आ–आफ्नै तरिकाले चलेका छन् ।
त्यो सबैजसो बन्द गर्दा धेरै मारमा पर्छन् । जस्तो हेरौं न चीनबाट नेपालमा सामान इम्पोर्ट गर्नेहरु वि च्याटबाट कुरा गर्नुुहुन्छ । त्यो नै ब्यान्ड भएपछि अब कसरी चाइनाका पार्टी र क्लाइन्टसँग कुरा गर्ने ?
डेलिलाइफमा नै यसले इफेक्ट गरिसक्यो । हाम्रो ममी बुवालाई नै अब कसरी घर परिवार आफन्जनसँग कुरा गर्ने भन्ने समस्या परिसक्यो । फेसबुक म्यासेन्जर सजिलो थियो उहाँहरुको । सबैले भाइबर चलाउन त पोख्न हुनुहुन्न । हामीलाई विदशेबाटै मान्छेहरुले चिन्ता गर्दै म्यासेज गरिरहनुभएको छ, कसरी घर परिवारमा कुरा गर्ने भनेर । सोसियल कनेक्टिभिटीमा नै यस्तो प्रतिबन्धले समस्या ल्याएको छ ।
अब रुटिन अफ नेपाल बन्दले चाहिँ के गर्छ ?
हामी सरकारले बनाएको नियम मान्छौं । हाम्रो काम भनेको जनतालाई सही सूचना दिनु हो । अहिलेसम्म हामीले फेसबुक र इन्स्टा लगायतका सोसियल मिडियाबाट इन्फरमेसनहरु दिइरहेका छौं । यो ब्यान्ड भएपछि टिकटकबाटै दिन्छौं ।
सरकारले सबै सोसियल साइट नै बन्द गर्यो भने पत्रिका हात हातमै बोकेर भएपनि लान्छौं ।
हाम्रो ब्राण्ड छ, त्यसलाई मान्छेहरुले विश्वास गर्नु भएको छ । जसरी सजिलोसँग सूचना दिन सकिन्छ, त्यसैगरी काम गर्ने हो । विदशेमै गएर भएपनि वा भारतमै कार्यालय सारेर भएपनि सुचना दिने काम त गरिहाल्छौं । समस्या त अरुलाई जस्तै रेगुलर लाइफमै भयो । अब समस्या आयो भने त्यससँगै जुध्ने नै विकल्प हो ।
अन्तितमा, रुटिन अफ नेपाल बन्दले नेपाल र वेस्टइन्डिजबीच हुने टी–२० सिरिजको प्रसारण अधिकार लिएको छ । युट्युब बन्द भएपछि के हुन्छ भन्ने जिज्ञाशा छ, केही भनिहाल्ने अवस्था छ ?
यो खेल दुबईमा हुने हो । हामी दुबईबाट त युट्युबमै लाइभ ब्रोडकास्ट गरिहाल्छौं । नेपालमा मान्छेहरुले युट्युबमै हेर्न नपाउनुहोला भन्ने चिन्ता एक ठाउँ छ । नेपालका लागि टेलिभिजनहरुसँग कुरा गरिरहेका छौं । हामी ओटीटी प्लाटफर्ममा पनि जानसक्छौं, त्यो हाम्रो लागि राम्रो पनि हो । फाइनान्सियल्ली राम्रो भएपनि पब्लिकका लागि नराम्रो होला । त्यसैले हामी सकेसम्म फ्रि मै देखाउन खोजिरहेका छौं ।
त्यतिबेलासम्म युट्युब खुल्छ भन्ने आश छौं । युट्युब खलेन भने पनि अरु विकल्पमा जान्छौं ।

सर्वोच्च अदालत आइतबारदेखि खुल्ने

तत्काल राष्ट्रिय सरकार संविधानको मर्म अनुसार : नेपाल बार

पुरै जल्यो सर्वोच्च अदालत, मुद्दा नै सुनुवाइ गर्न नसक्ने अवस्थामा

डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्यो

बालेनले भने : अब घर फर्किनुहोस्
