नेभिगेशन
समाज

तत्काल राष्ट्रिय सरकार संविधानको मर्म अनुसार : नेपाल बार

नेपाल बार एशोसिएसनले संविधानको मर्म अनुसार तत्काल राष्ट्रिय सरकार गठन गर्न आग्रह गरेको छ । कानुन व्यवसायीहरुको छाता संस्था बारले बिहीबार अहिलेको घटनाक्रमबारे सल्लाहकारसहितको भर्चुअल बैठक गरेको थियो । 

उक्त बैठकपछि बारका अध्यक्ष विजय मिश्र र महासचिव केदार कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस जटिल परिस्थितिमा संविधानको मर्मभित्र रही तत्काल राष्ट्रिय सरकार गठन गरी शासन प्रणालीलाई सहज बनाउनुपर्ने आवश्यकतामा हामी जोड दिन्छौं ।’ 

बारले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्तिलाई स्वीकार नगर्ने पनि प्रष्ट पारेको छ । ‘हालको संकको निकास संवैधानिक मान्यताभित्र खोज्न जेनजी लगायत सम्पूर्ण समुदायमा नेपाल बार एशोसिएसन हार्दिक अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । 

जेनजी पुस्ताले सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्था माग गरेको भन्दै बारले यो माग भूराजनीतिक चपेटामा परेर अँध्यारो सुरुङतर्फ प्रवेश गर्‍यो भने नेपाली सार्वभौमसत्तामा नै आँच आउन सक्ने खतरा औंल्याएको छ । 

‘यो माग यदि भूराजनीतिक चपेटामा परेर अँध्यारो सुरुङतर्फ प्रवेश गर्‍यो भने पुर्खाको रगतबाट सिञ्चित नेपाली सार्वभौमसत्तामा आँच आउने अवस्था हुन्छ, जुन नेपालका लागि कुनै पनि नागरिकले सपनामा समेत स्वीकार्न सक्दैन’, बारको विज्ञप्तिमा भनिएको छ । 

बारले संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गर्न सकिने भन्दै अहिलेलाई संविधान जोगाउनुपर्ने बताएको छ । ‘कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशितासहितको संघीयता जस्ता स्थापित संवैधानिक उपलब्धिहरुमा सम्झौता नगरौं’ बारले विज्ञप्तिमा भनेको छ । 

संविधान बमोजिम राष्ट्रको अभिभावकको रुपमा राष्ट्रपतिको भूमिका अहम रहेको भन्दै बारले संविधान अनुसार मुलुकलाई अघि बढाउन राष्ट्रपतिको सक्रिय, अनुभूत गर्न सकिने र देखिने सहभागिताको अपेक्षा गरेको छ । बारले तत्काल नागरिक शासन कायम गर्न पनि माग गरेको छ । 

त्यस्तै न्यायमा पहुँच सुनिश्चित गर्न अदालतका कामहरु निर्वाध रुपमा सञ्चालन गर्न पनि बारले आग्रह गरेको छ ।

हेर्नुहोस् बारको विज्ञप्ति

Nepal-bar-1757588662.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज