नेभिगेशन
समाज

हरेक उथलपुथलपछि आउँछ सन्दुकलाई प्रस्ताव, उनी भन्छन् – बिरामीको सेवामै खुशी छु

जेनजी आन्दोलन सफल भएपछि नयाँ सरकार गठन हुने चरणमा प्रधानमन्त्री बनाउनुपर्ने भन्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नाम पनि आएको थियो । 

जेनजी युवाहरुले सामाजिक सञ्जाल डिस्कर्डमा गरेको छलफलमा धेरै मत पाएपछि सुुशीला कार्की प्रधानमन्त्री बनिन् । अहिले उनी मन्त्रिपरिषद विस्तारको चरणमा छिन् । 

पहिलो आइतबार चरणमा रामेश्वर खनाललाई अर्थ, कुलमान घिसिङलाई भौतिक पूर्वाधार र ऊर्जा अनि ओमप्रकाश अर्याललाई गृह मन्त्री बनाइन् । अब सन्दुक रुइतलाई स्वास्थ्यमन्त्री बनाउनुपर्छ भन्ने मतहरु सामाजिक सञ्जालमा देखिएका छन् । 

मंगलबार उनी नियमित आँखा जाँचका लागि तिलगंगा आँखा प्रतिष्ठानमा गएकी थिइन् । त्यहाँ डा. सन्दुक रुइत र वरिष्ठ नेत्र चिकित्सक डा. रीता गुरुङले प्रधानमन्त्रीको आँखा जाँच गरे । अस्पतालबाट फर्किने बेलामा डा. सन्दुक रुइत गाडीसम्म छाड्न आएका थिए । पत्रकारहरुले प्रश्न सोधिहाले, 'प्रधानमन्त्रीज्यू डा. सन्दुक रुइतलाई क्याबिनेटमा लैजाने हो ? 

जवाफ डा. रुइतले दिए, ‘यहाँ (अस्पताल) छाडेर आउने ? यत्रो छ काम । यहाँ छाडेर आउने ? बिरामीलाई छाडेर आउँदिन ।’

रुइतले मन्त्रिपरिषदमा सहभागी हुन इन्कार गरेका छन् । बरु अस्पतालमा बिरामी जाँचेर बस्ने बताएका छन् । 

तिलगंगा आखा प्रतिष्ठान डा. सन्दुक रुइतकै अगुवाइमा स्थापना भएको हो । तिलगंगामा आँखाका बिरामीको जाँच हुनुका साथै यसले आँखाका लेन्सहरु उत्पादन गर्छ ।

यहाँ उत्पादित इन्ट्राअकुलर लेन्स संसारभर पुगेका छन् । तिलगंगाले देशभर आँखा शिविर पनि सञ्चालन गर्दै आएको छ । यस्ता शिविरहरुमा डा. रुइतले हजारौंको आँखाको मोतिबिन्दुको अपरेशन गरेर दृष्टि दिएका छन् । 

रुइतले सोमबार राति एक विज्ञप्ति जारी गरी आफूलाई हरेक राजनीतिक उथलपुथलपछि  कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिन अनुरोध आउने गरेको खुलाएका छन् । 

‘तर म प्रष्ट छु, मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पुर्‍याउनु हो । मेरो हृदय सफा छ, म यसमै खुसी छु’,उनले भनेका छन् । 

सबै मान्छे आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागेमा देशको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने उनले बताएका छन् । डा रुइतले भनेका छन्, ‘म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु ।’ 

Sanduk-ruit-1758006983.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज