नेभिगेशन
विश्व

अफगानिस्तानदेखि विमानको ल्यान्डिङ गियरमा लुकेर भारत आइपुगे बालक

अफगानिस्तानबाट भारत आएको एक विमानमा १३ वर्षका बालक ल्याण्डिङ गियरको माथिल्लो भागमा लुकेर यात्रा गरेको फेला परेको छ । 

आइतबार अफगानिस्तानको काबुलबाट भारतको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा आइपुगेको काम एयरको जहाजको ल्यान्डिङ गियरको माथिल्लो पट्टी मानिस भेटिएको हो । 

जहाज जमिनमा ल्याण्ड गर्दा टेक्ने पांग्राभन्दा माथिल्लो भागमा थोरै खाली ठाउँ हुन्छ । त्यहीँ लुकेर बालकले यात्रा गरेका हुन् । 

काम एयरको फ्लाइट नम्बर आरक्यू–४४०१ नम्बरको जहाजमा उनी करिब डेढ घण्टाको यात्रा गरेर दिल्ली आइपुगेका हुन् । जब जहाजबाट मानिसहरु झरेपछि जहाज पार्किङ गरेर राखियो, एयरलाइन्सका फि सेक्युरिटी अफिसरले एक बालक जहाज नजिकै ट्याक्सीवेमा हिँडिरहेको फेला पारे । 

त्यसपछि एयरपोर्ट सेक्युरिटी अपरेसन्स कन्ट्रोल सेन्टरले उनलाई नियन्त्रणमा लिएको थियो । एयरपोर्ट सेक्युरिटी र सेन्ट्रल इन्ड्रस्ट्रियल सेक्युरिटी फोर्सले उनलाई लामो समय नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 

ती बालक अफगानिस्तानको कुन्दुजका हुन् । सोधपुछमा संलग्न अधिकारीहरुका अनुसार विमान उड्नुअघि एयरपोर्ट प्रवेश गरेर ल्यान्डिङ गियरमा लुकेका थिए । 

ती बालकलाई आइतबार अपरान्ह पुनः विमानमार्फत अफगानिस्तान फिर्ता पठाइएको छ । 

जहाजको ल्याण्डिङ गियरको माथि निकै साँघुरो ठाउँ हुन्छ । जब जहाज उचाइमा पुग्छ, यहाँ अक्सिजनको अभाव हुन सक्छ, अत्यधिक चिसो पनि हुन्छ । त्यसैले यस्ता प्रयास घातक हुनेछ । 

विश्वमा यस्ता घटना बेला बेलामा भइरहन्छन् । सन् २०२४ को जनवरीमा डोमिनिकन रिपब्लिकमा जेटब्लु फ्लाइटको ल्याण्डिङ गियरमा २ जना मानिसहरु मृत भेटिएका थिए । 

यस्तै सन् २०२३ को डिसेम्बरमा अल्जेरियाको ओरानबाट फ्रान्सको पेरिस गएको विमानमा पनि एक युवक ल्याण्डिङ गेयरमा भेटिएका थिए । ती युवक अत्यधिक चिसोका कारण गम्भीर बिरामी अवस्थामा भेटिएका थिए । 

त्यस्तै सन् २०२१ मा ग्वाटेमालाबाट अमेरिकाको मियामी जाँदै गरेको एक जहाजमा एक जना व्यक्ति पांग्रामा लुकेर यात्रा गरेका थिए र उनी सुकशल थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व