नेभिगेशन
3 Minute

भीयूसीएलका सीईओ शाहीले दिए राजीनामा

विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले राजीनामा दिएका छन् । उनले ऊर्जामन्त्री कुलमान घिसिङ समक्ष राजीनामा दिएका हुन् । 

उनी १८ साउन २०८० मा सीईओ नियुक्त भएका थिए । ऊर्जा सचिव सञ्चालक समितिको अध्यक्ष रहने विद्युत उत्पादन कम्पनीमा छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठलाईपछि पार्दै दैलेख दुल्लु नगरपालिकाका शाहीले राजीनामा बुझाएका हुन् । 

भेरी–बबई परियोजनाको परामर्शदाताका रुपमा ‘एनईए इन्जिनियरिङ’ले आह्वान गरेको प्रतिस्पर्धामा टोली नेता समेत बन्न असफल भएका थिए ।  शाही राजनीतिक पहुँच प्रयोग गरेर भीयूसीएलमा राजनीतिक नियुक्ति लिन सफल भएका थिए ।

उनी भीयूसीएलमा नै रहँदा नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक बनेका थिए । दोहोरो पद ओगटेको भन्दै विवाद भएपछि मात्रै उनले पद छाडेका थिए । 

दीपक खड्का ऊर्जामन्त्री भएपछि भीयूसीएल अन्तरगतको जगदुल्ला हाइड्रोपावरको ठेक्कामा सेटिङ गरेको आरोप लागेको थियो । त्यतिबेला १६ अर्बको ठेक्का कम्पनीले प्रतिस्पर्धी चार कम्पनीलाई एक/एक प्रतिशतका दरले १५/१५ करोड दिने र मन्त्री र कर्मचारीलाई दुई प्रतिशत कमिसन दिने गरी लेनदेन भएको विषय अख्तियारमा पुगेको थियो । 

फेरि ठेक्का हुँदा समेत विवाद भएको थियो । अहिले भीयूसीएलभित्र कर्मचारीहरू पनि आन्दोलित छन् ।

जेन–जी आन्दोलनपछि ऊर्जा मन्त्रालयको नेतृत्व फेरिएसँगै शाहीले किन राजीनामा दिए भन्ने खुलेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute