नेभिगेशन
विश्व

भारतमा अभिनेता विजयको चुनावी र्‍यालीको भागदौडमा ३९ जनाको मृत्यु 

भारतको तमिलनाडु राज्यको करुरमा शनिबार राति चुनावी र्‍यालीमा भागदौड  हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।

राजनीतिमा प्रवेश गरेका तामिल अभिनेता विजयको चुनावी र्‍यालीमा भागदौड हुँदा १७ जना महिला र १० बालबालिकासहित ३९ जनाको मृत्यु भएको हो । दुर्घटनामा १०० भन्दा धेरै घाइते भएका छन् । 

विजयको दल तमिलगा वेट्री कडगम (टीवीबे) ले तामिलनाडुको करुरमा चुनावी र्‍याली आयोजना गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार शनिबार साँझ विजयले चुनावी र्‍यालीमा सम्बोधन सुरु गरेपछि एक्कासी भागदौड मच्चिएको थियो । बिजुली अवरुद्ध भएपछि मानिसहरुमा भागदौड मच्चिएको थियो । 

विजयको चुनावी भाषण सुन्न हजारौं मानिसहरु उपस्थित भएका थिए । विजय आउने भन्ने थाहा पाएपछि विहानैदेखि सर्वसाधारण भेला भएका थिए । विजय भने साँझ ७ बजेमात्र आएका थिए । विजयको गाडीलाई पछ्याउँदै ठूलो समूह करुर आएर चुनावी सभामा मिसिएको थियो । 

तामिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतकलाई जनही १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । 

विजयले आफ्नो एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई जनही २० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । त्यस्तै घाइतेलाई २–२ लाख रुपैयाँ दिने बताएका छन् । 

विजयको दल टीवीकेले कार्यक्रममा १० हजार मानिस सहभागी हुने अनुमान गरेको थियो । तर प्रहरीका अनुसार २७ हजार मानिस सहभागी भएका थिए । 

विजयको यसअघिको चुनावी कार्यक्रम भन्दा यो धेरै अव्यवस्थित थियो । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाको छानबिनका लागि एक सदस्यीय आयोग बनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व