'आउने चुनावलाई जनमत संग्रहका रुपमा प्रयोग गरौं'
संविधानविद वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई अहिले नेपालको संविधानको केही धाराहरुमा ग्रहण लागेको मान्छन् ।
जेनजी पुस्ताको आन्दोलनको दबाबमा केही शर्मा ओलीले राजीनामा दिएपछि संसदभित्रैबाट प्रधानमन्त्री बनाउनु संवैधानिक हुने उनको मत छ । अन्तरिम सरकारको पनि वैधता भने रहेको भन्दै उनी तर त्यसपछि संसद विघटन गर्नुलाई पनि अनुचित मान्छन् ।
भट्टराईसँग गरिएको कुराकानीको सारसंक्षेप :
अहिले हाम्रो संविधानको केही धाराहरु क्रियाशील छैनन् । धारा ७४, धारा ७५, धारा ७६,७७, ७८ र धारा १३२ बाहेक सबै धाराहरु क्रियाशील छन् ।
यो संविधानले सिर्जना गरेका सबै संरचना कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र संवैधानिक आयोगहरु यथावत छन् । यसले जन्माएका संरचनाहरु क्रियाशील छन् । यो संविधानमाथि त्यति ठूलो प्रश्न पनि उठेको छैन ।
धारा ७४, संविधानको आत्मा हो । जसले बहुलवादको परिकल्पना गर्छ, बहुदलीय व्यवस्थाको वकालत गर्छ । बहुदलीय व्यवस्थामा दलहरुले सरकार बनाउँछन् । तर अहिलेधारा ७४ मा ३ वटा प्रश्न उठेको छ, त्यो के भने, यो सरकार दलहरुले बनाएको पनि होइन, दलहरुको सिफारिसमा बनेको पनि होइन र निर्वाचनबाट बनेको पनि होइन ।
अहिलेको सरकार जनताबाट निर्वाचित नभएकाले यो संविधानमा रहेको जनताको शासकीय अधिकार पनि खोसिएको छ ।
धारा ७५ मा नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा रहने छ र त्यसको प्रयोग संविधान बमोजिम हुनेछ भनिएको छ । तर मन्त्रिपरिषद संसदप्रति जवाफदेही र उत्तरदायी हुन्छ भनिएको छ । अहिलेको सरकार संसदप्रति जवाफदेही र उत्तरदायी छैन ।
धारा ७६, ७७ र ७८ मा प्रतिनिधिसभाबाट सरकार गठन हुने कुरा उल्लेख छ, त्यसैले यो धारा पनि क्रियाशील छैन ।
धारा १३२ मा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरु कुनै पनि सरकारी कामकाजका लागि मनोनयन र नियुक्तिका लागि योग्य हुने छैनन् भनेको छ । तर अहिले पूर्वप्रधानन्यायाधीशकै नेतृत्वमा सरकार बनेकाले धारा १३२ पनि क्रियाशील छैन । यी सबै कुरालाई मैले संविधानका यी धाराहरुमा र संविधानको प्रस्तावनामा ग्रहण लागेको छ भन्ने गरेको छु ।
संविधान भनेको कानुनी र राजनीतिक दस्तावेज हो । बन्नेबेलामा राजनीतिक हुन्छ, बनेपछि संवैधानिक र कानुी दस्ताबेज हुन्छ । बिद्रोह, क्रान्ति र आन्दोलनले संविधान परिवर्तन गर्न सक्छ । तर त्यही उद्देश्यका लागि बिद्रोह, क्रान्ति वा आन्दोलन भएको हुनुपर्छ ।
जेनजी पुस्ताको आन्दोलन हेर्दा संविधान संशोधन वा परिवर्तन र निर्दलीय सरकार परिकल्पना गरेको हामी देख्दैनौं ।
जेनजी बिद्रोहले तत्कालिन सरकारप्रति आक्रोश व्यक्त गरेको थियो । २३ गतेको घटनामा उनीहरुको माग सरकार परिवर्तन देखिँदैन । तर त्यस दिन क्रुर र अमानवीय तबरले जेनजी आन्दोलनकारीको हत्या भएपछि भदौ २४ गते सरकारको राजीनामाको माग उठ्यो ।
यो सरकारले राजीनामा दिएपछि अर्को सरकार संविधानभित्रैबाट बनाउने सम्भावना थियो, त्यो सम्भावनाको खोजी गरिएन ।
दल र दलका नेता आफ्नो व्यक्तिगत सुरक्षातर्फ लागे । उनीहरु व्यक्तिगत सुरक्षातिर लागेपछि संविधानको प्रावधानहरुलाई क्रियाशील गराउने दायित्व राष्ट्रपतिको थियो । राष्ट्रपतिले धारा ७६ (२) बमोजिम केपी ओलीले राजीनामा दिएपछि ७६ (२) कै अर्को सरकार बनाउन आह्वान गर्न सक्नुहुन्थ्यो ।
राष्ट्रपतिले सरकार गठनको आह्वान नगरे पनि बाँकी रहेका दलहरुले हामी फलानोलाई प्रधानमन्त्री बनाउन चाहन्छौं भनेर गएको भए हुन्थ्यो । दुबै पक्षबाट कमजोरी भयो र गैरदलीय सरकार बन्यो ।
यो सरकारलाई पुरै असंवैधानिक भन्न सकिँदैन । यसको वैधता कहाँ छ भने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउन सिफारिस गर्नुभएको छ । त्यो कुरा राष्ट्रपतिको विज्ञप्तिमा लेखिएको छ । त्यसैले सरकार वैधताविहीन त होइन, तर संविधानको मर्म र भावना विपरीतको भने हो ।
प्रमुख राजनीतिक दलहरुले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई एक हदसम्म समर्थन गरेको देखिन्छ, तर सरकार बनेपछि प्रतिनिधिसभा विघटनलाई भने असंवैधानिक भनेका छन् ।
सुशीला कार्कीको नियुक्ति अगाडि नै प्रतिनिधिसभा विघटन गर्नुपर्छ भन्ने कुरा थियो । त्यसमा राष्ट्रपतिले अडान लिनुभयो । हामी संवैधानिक कानुनका विज्ञहरुले पनि राष्ट्रपतिलाई आफ्ना कुरा राख्यौं । यो प्रतिनिधिसभा विघटनतर्फ लैजाने शक्ति को हो भन्ने रहस्यमय छ ।
आन्दोलनकारीको माग थिएन, राजनीतिक दलहरुको सिफारिस थिएन, राष्ट्रपति तयार हुनुहुन्थेन तैपनि प्रतिनिधिसभा विघटन भयो ।
आन्दोलनकारीको शासकीय स्वरुप परिवर्तनको माग थियो र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राख्नुपर्छ भन्ने माग थियो, त्यो सपनाको हत्या भने प्रतिनिधिसभाको बिघटनबाटै भयो ।
यो संविधानमा रिभ्यू गर्ने बेला भइसकेको छ । आउने निर्वाचनमा दलहरुले संविधान संशोधनको एजेण्डामा एक ठाउँमा आउन सक्ने दलहरुले साझा प्रतिवद्धता गरुन्, आउँदो चुनावलाई जनमत संग्रहको रुपमा उपयोग गरौं । दलहरुको ध्यान त्यतातिर गयो भने जेनजी पुस्ताको पनि माग संबोधन हुन्छ ।
थप विवरण भिडियोमा हेर्नुहोस् :
 
                                                    'चुनाव जितेर सत्तामा गइहालौं भनेर पार्टी खोलेको होइन'
                                                    'स्वीकार गर्नुस्, हर्क युगको सुरुवात भयो'
                                                    '०४६ पछि राज्यकोषको ठूलो पैसा राजनीतिक क्षेत्रमा गएको छ, छानबिन हुनुपर्छ'
                                                    'म भुइँमान्छेको कथा लेख्छु, तर राजनीतिसँग ठोक्किहाल्छ'
                                                    
                    
-1761836913.jpg)






