जापानमा पहिलो महिला प्रधानमन्त्री, तेस्रो प्रयासमा टकाइचीले मारिन् बाजी
जापान विश्वकै चौथो धनी देश हो । यति धनी र विकसित देश हुँदाहुँदै पनि जापानमा अहिलेसम्म महिलाहरु प्रधानमन्त्री बन्न सकेका थिएनन् ।
केही दिनअघि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्ष पदका लागि भएको चुनाव जितेपछि सनाइ टकाइची पहिलो महिला प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
६४ वर्षकी उनले अक्टोबर १५ देखि प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछिन् ।
लामो समयदेखि पुरुष प्रधान रहँदै आएको जापानको राजनीतिमा सनाइ टकाइचीको जितलाई ठूलो डिपार्चरकै रुपमा हेरिएको छ ।
*****
हेभी मेटल ब्याण्डकी ड्रमर, टिभी होस्ट हुँदै राजनीतिमा आएकी सनाइ टकाइची पटक पटक मन्त्री भइसकेकी वरिष्ठ राजनीतिज्ञ हुन् । यसअघि उनी उद्योग वाणिज्य राज्यमन्त्री, अर्थमन्त्री र आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनिसकेकी छन् ।
उनले यसअघि दुई पटकसम्म पार्टीको अध्यक्षको चुनाव पनि लडेकी थिइन् । तर दुबै पटक पराजित भइन् ।
तर यसपटक उनले पार्टी नेतृत्वका लागि भएको चुनावमा कृषिमन्त्री सिन्जिरो कोइजुमी र चिफ क्याबिनेट सेक्रेटरी योसिमासा हायासीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
पहिलो राउन्डमा कसैको पनि बहुमत नआएपछि फाइनल राउन्डमा टकाइची र कृषिमन्त्री ४४ वर्षका सिन्जिरो कोइजुमीबीच प्रतिस्पर्धा भएको थियो । र टकाइचीले बाजी मारेकी थिइन् ।
सन् १९६१ मा जापानको नारामा जन्मेकी टकाइचीका बाबु जागिरे थिए भने आमा प्रहरी अधिकृत थिइन् । उनी हुर्कने बेलामा परिवार राजनीतिबाट धेरै टाढा थियो ।
उनी आफ्नो कलेजको समयमा हेभी मेटल ब्याण्डको ड्रमर थिइन् । उनी स्कुबा डाइभर र कारको सौखिन पनि थिइन् ।
राजनीतिमा प्रवेश गर्नुअघि टकाइचीले टेलिभिजन होस्टका रुपमा पनि काम गरिन् । सन् १९८० को दशकपछि भने उनलाई राजनीतिमा चासो बढेको थियो ।
त्यतिबेला अमेरिका र जापानबीच ट्रेड वार चलिरहेको थियो । उनले अमेरिकाको जापान नीतिबारे लामो अध्ययनसमेत गरेकी थिइन् ।
टकाइचीले पहिलो संसदीय चुनाव सन् १९९२ मा लडिन् । त्यतिबेला स्वतन्त्र हैसियतमा चुनाव लड्दा उनी पराजित भएकी थिइन् ।
तर त्यसको पछिल्लो वर्ष उनी संसद निर्वाचित भइन् र सन् १९९६ मा लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) मा प्रवेश गरिन् ।
अहिलेसम्म उनी १० पटक सांसद निर्वाचित भइसकेकी छन् भने जम्मा एक पटक मात्र पराजित भएकी छन् । जापानको सत्तारुढ पार्टीमा उनी कन्जरभेटिभ आवाजको स्पष्टवक्ता मानिन्छिन् ।
टकाइचीले सन् २०२१ मा पहिलो पटक एलडीपीको अध्यक्षका लागि चुनाव लडेकी थिइन् । त्यतिबेला फुमियो किसिदासँग पराजित भइन् । त्यसपछि सन् २०२४ मा निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबासँग चुनाव लडिन् र पराजित भइन् ।
तेस्रो प्रयासमा पार्टी अध्यक्ष चुनिएपछि उनले जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पाइन् ।
उनी बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो आइडल मान्छिन् । मार्गरेट थ्याचरको नेतृत्व कौशल र सम्झौता नगर्ने बानीका कारण आइरन लेडी नामले चिनिन्छिन् । सनाइ टकाइचीले सत्तारुढ पार्टीको अध्यक्ष जितेपछि धेरैले उनलाई जापानको आइरन लेडी भन्न थालेका छन् ।
टकाइची जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबेकी शिष्य हुन् । अबे प्रधानमन्त्री हुँदा उच्च सार्वजनिक खर्च र सस्तो ऋणको नीति लिएका कारण जापानमा यस्तो नीतिलाई अबेनोमिक्स भनिन्छ । टकाइचीले अबेनोमिक्सलाई पुनर्जीवित गर्ने वाचा गरेकी छन् ।
सनाइ टकाइचीले लिबरल डेमोक्रेटिक पार्टीभित्र एक कट्टर कन्जरभेटिभ नेताको छवि बनाएकी छन् । उनी महिलाका मुद्दामा पनि रुढीवादी मानिन्छिन् । उनले विवाहित महिलाले विवाहपछि श्रीमानको थर झुण्डयाउनुपर्ने धारणा राखेकी छन् । उनी समलिंगी विवाहको पनि विपक्षमा छिन् ।
उनी प्रधानमन्त्री बन्ने भएपछि जापानमा मन्त्रिपरिषद समावेशी हुने र राजनीतिमा पनि महिला प्रतिनिधित्व बढ्ने आशा बढेको छ । तर कतिपयले भने टकाइची आफैं महिला मामिलामा रुढीवादी भएकाले धेरै आशा गर्न नसक्ने भनाइहरु पनि राखेका छन् ।
जापानको तल्लो सदनमा जम्मा १५ प्रतिशत महिलाको प्रतिनिधित्व छ । र ४७ जना गभर्नरमध्ये जम्मा २ जना महिला छन् । सनाइ टकाइची आप्रवासीको मामिलामा पनि अनुदार रहेकी छन् ।
जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) सन् १९५५ मा स्थापना भएको हो । पछिल्लो ७० वर्षमा यो पार्टी अधिकांश समय सत्तामा छ ।
तर पछिल्ला २ चुनावमा पार्टी पराजित भएपछि यसअघिका प्रधानमन्त्री सिगेरु इसिबाले एलडीपीको अध्यक्षबाट गत सेप्टेम्बर पहिलो हप्ता राजीनामा दिएका थिए ।
अक्टोबर २०२४ मा प्रधानमन्त्री बनेका उनले एक वर्ष नबित्दै राजीनामा दिएका थिए । उनको नेतृत्वमा लडेको चुनावमा एलडीपीले पछिल्लो १५ वर्षमा पहिलो पटक तल्लो हाउसमा बहुमत गुमाएको थियो ।
एलडीपी र उसको गठबन्धन सहयात्रीले सन् १९५५ पछि पहिलो पटक दुबै हाउसमा बहुमत गुमाएको छ । र अल्पमतको सरकार चलाइरहेको छ ।
जापानमा पछिल्लो समय मूल्यवृद्धि निकै बढेको छ । त्यसमा पनि चामलको मूल्य एक वर्षमै दुई गुणाले बढेको छ । बिग्रदो अर्थतन्त्र र घट्दो जनसंख्याका कारण जापानमा सत्ताप्रति तिब्र असन्तुष्टि छ ।
यही बेलामा जापानमा उग्र दक्षिणपन्थी दल सान्सेइतो पार्टीको जनमत बढिरहेको छ । यो पार्टीले दिएको जापनिज फस्र्टको नाराले धेरैलाई आकर्षित गरेको छ । केही महिनाअघि भएको राष्ट्रियसभाको चुनावमा सान्सेइतो पार्टीले आश्चर्यजनक रुपमा १४ सिट जितेको थियो ।
यस्तो बेलामा सनाइ टकाइची लामो बिरासत बोकेको एलडीपीको अध्यक्ष चुनिएकी छन् । जापानमा उग्र दक्षिणपन्थी जनमत बढिरहेका बेला उनलाई पार्टीको पुरानै विरासत कायम राख्ने चुनौती मात्र छैन । न्यून जन्मदर र भूराजनीतिक समस्याहरु समाधान गर्नुपर्ने चुनौती पनि आइपरेको छ ।
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?






-1765982600.jpg)


