गुण्डुबाट ओलीले दिन खोजेको ५ सन्देश
भदौ २३ र २४ गतेको आन्दोलनपछि सबैभन्दा बढी प्रश्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उठेको छ ।
भदौ २३ गते गोली हानेर १९ जना नवयुवाको हत्या गर्नुमा ओली र उनका गृहमन्त्री रमेश लेखक मुख्य दोषी हुन्, उनीहरुलाई पक्राउ गर्नुपर्छ भन्ने मत ठूलो छ । सामाजिक सञ्जालमा एरेस्ट केपी ओली ह्यास ट्याग चलेको छ ।
जेनजी आन्दोलनका अगुवाहरु प्रहरी कार्यालयमा निवेदन दिन पनि गएका छन् । गृह मन्त्रालय र प्रधानमन्त्री निवासमा केपी ओली र रमेश लेखकलाई पक्राउको विषयमा छलफल पनि चलेको छ ।
उता केपी ओलीको भने झन् ठूलो हुंकार छ, उनले सरकारलाई असंवैधानिक भनेका छन्, जेनजी आन्दोलनलाई तथाकथित भनेका छन्, बितण्डा भनेका छन् । गृहमन्त्रीलाई बाबु भनेका छन्, अनि संसद पुनर्स्थापना गराएरै छाड्ने संकल्प सुनाएका छन् ।
जेनजी आन्दोलनपछि राजीनामा दिएर सेनाको सुरक्षामा गएका उनी फर्केपछि भक्तपुरको गुण्डुमा एमालेका स्थानीय नेताको घरमा बसिरहेका छन् । त्यहीँ बसेर नेता कार्यकर्ता भेटिरहेका छन् । गुण्डुमै फाट्टफुट्ट सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन् ।

बिहीबार उनी गुण्डुमा एमालेले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भए । उनले आधाघण्टा लामो भाषणको अधिकांश समय सरकार र जेनजी आन्दोलनप्रति आक्रोश पोखे । उनले आफ्नो अभिव्यक्तिबाट मुख्य ५ सन्देश दिन खोजेका छन् :
१. सरकार असंवैधानिक
ओलीले यो सरकारलाई असंवैधानिक भनेका छन् । संविधानले प्रधानन्यायाधीश र न्यायाधीशलाई लाभको पदमा जान रोकेको भन्दै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारलाई उनले बलमिच्याइँबाट बनेको टिप्पणी गरेका छन् ।
‘हामी कसैलाई भ्रम पर्न हुँदैन, यो सरकार संविधानसम्मत छैन, यसको क्रियाकलाप लोकतान्त्रिक संविधानसम्मत, कानुनी राज अनुसार छैन’, उनले भनेका छन् ।
२. सरकार प्रतिशोधको बाटोमा छ
ओलीले यो सरकारले आफूहरुसँग प्रतिशोधको बाटोमा हिँडेको टिप्पणी गरेका छन् । आफूहरुको पासपोर्ट रोक्का गर्न खोजेको र उपत्यका छाड्न रोक लगाएकामा पनि आपत्ति जनाएका छन् ।
सरकारले आफूलाई र आफ्नो क्याबिनेटका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा छलफल गरेकामा पनि ओली आक्रोशित छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालप्रति पनि उनले आक्रोश पोखेका छन् । गृह मन्त्रीलाई नउत्तालिन, नचम्किन, सम्हालिन भनेका छन् ।
गृहमन्त्रीले विभिन्न व्यक्तिलाई बोलाएर नेताहरुविरुद्ध उजुरी हाल्न लगाएर पक्राउको हल्ला फिजाएको ओलीको आरोप छ ।
३. जेनजी आन्दोलन होइन बितण्डा हो
केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई आन्दोलनको रुपमा स्वीकारेका छैनन् । जेनजी आन्दोलनलाई तथाकथित आन्दोलन भनेका छन् । हा हु भनेका छन् ।
३ करोड नेपालीको बसोबास भएको देशमा आन्दोलनको नाममा १ लाख जति मात्र सडकमा निस्केको जिकिर गरेका छन् । अनि त्यसलाई प्रतिशतमा हिसाब गर्दै आन्दोलन गर्नेहरु १ प्रतिशतको पनि एक तिहाइ मात्र हो भनेका छन् ।
आन्दोलनको नाममा बितण्डा मच्चाएको भनेका छन् । जेनजी युवाहरुलाई भ्रममा पारेको भनेका छन् । अनि भदौ २३ गते आन्दोलनकारी युवामाथि सरकारले गोली चलाएकामा एकरत्ति स्वीकारोक्ति छैन ।
बरु भोलिपल्ट तोडफोड, लुटपाट र आगजनी गर्न अघिल्लो दिन नै माहोल बनाएको भन्दै अदृश्य शक्तिमाथि प्रश्न उठाएका छन् ।
‘२३ गतेको गोलीकाण्ड २४ गतेको आगजनी तोडफोड लुटपाटका लागि आधार बनाइएको थियो, तयारी थियो त्यसका लागि’, उनले भनेका छन् ।

४. गौरीबहादुर कार्की आयोगलाई मान्दिन
एमाले अध्यक्ष ओलीले सुशीला कार्की सरकारले गठन गरेको जाँचबुझ आयोगलाई नमान्ने भनेका छन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामा प्रश्न उठाएका छन् ।
कार्कीले आयोगको अध्यक्ष हुनु भन्दा पहिला नै केपी ओलीलाई समानुपर्छ, मुद्ुदा लगाउनुपर्छ भनेको भन्दै अहिले उनकै नेतृत्वमा आयोग बनाउनुलाई नाटक भनेका छन् । कार्की निष्पक्ष नभएकाले राजीनामा मागेका छन् ।
‘तपाईहरुको प्रतिवेदन लेख्नुस्, बुझाउनुस् फैसला गर्नुस्, एमालेलाई मान्य छैन । मान्दैनौं हामी, गर्नुस् के के गर्नुहुन्छ’, ओलीले भनेका छन् ।
५. चुनाव होइन, संसद पुनर्स्थापना
ओलीले सरकारले फागुन २१ मा तोकेको चुनाव पनि नमान्ने बताएका छन् । उक्त चुनावलाई उनले नाटक भनेका छन् । नेतालाई जेल हालेर, मुद्दा लगाएर अपमान गरेर, चुनाव लड्न नदिएर आफूलाई विजय घोषणा गर्ने सपना देखेको आरोप लगाएका छन् ।
यो चुनावलाई अस्वीकार गर्न उनले नेपाली कांग्रेस र अरु दलहरुको पनि साथ खोजेका छन् ।
अहिलेको समस्याको निकास संसद कायम राखेर मात्र खोज्नुपर्ने उनको भनाइ छ । ‘अब हामीले देशलाई सही बाटोमा फर्काउन संसद तत्काल फिर्ता गर्ने माग राखेर अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन’, ओलीले भनेका छन् ।
कतिपयले फागुन २१ को चुनाव नभए संसद पुनर्स्थापना हुन सक्ने आशंका गरेका छन् । तर ओलीले यसमा कडा असहमति राखेका छन् । उनले संसद पुनर्स्थापनाका लागि फागुन २१ सम्म पर्खिन नसकिने जिकिर गरेका छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



