नेभिगेशन
3 Minute

गुण्डुबाट ओलीले दिन खोजेको ५ सन्देश

भदौ २३ र २४ गतेको आन्दोलनपछि सबैभन्दा बढी प्रश्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उठेको छ । 

भदौ २३ गते गोली हानेर १९ जना नवयुवाको हत्या गर्नुमा ओली र उनका गृहमन्त्री रमेश लेखक मुख्य दोषी हुन्, उनीहरुलाई पक्राउ गर्नुपर्छ भन्ने मत ठूलो छ । सामाजिक सञ्जालमा एरेस्ट केपी ओली ह्यास ट्याग चलेको छ । 

जेनजी आन्दोलनका अगुवाहरु प्रहरी कार्यालयमा निवेदन दिन पनि गएका छन् । गृह मन्त्रालय र प्रधानमन्त्री निवासमा केपी ओली र रमेश लेखकलाई पक्राउको विषयमा छलफल पनि चलेको छ । 

उता केपी ओलीको भने झन् ठूलो हुंकार छ, उनले सरकारलाई असंवैधानिक भनेका छन्, जेनजी आन्दोलनलाई तथाकथित भनेका छन्, बितण्डा भनेका छन् । गृहमन्त्रीलाई बाबु भनेका छन्, अनि संसद पुनर्स्थापना गराएरै छाड्ने संकल्प सुनाएका छन् । 

जेनजी आन्दोलनपछि राजीनामा दिएर सेनाको सुरक्षामा गएका उनी फर्केपछि भक्तपुरको गुण्डुमा एमालेका स्थानीय नेताको घरमा बसिरहेका छन् । त्यहीँ बसेर नेता कार्यकर्ता भेटिरहेका छन् । गुण्डुमै फाट्टफुट्ट सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन् । 

Uml-cader-1760011771.jpg
 

बिहीबार उनी गुण्डुमा एमालेले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भए । उनले आधाघण्टा लामो भाषणको अधिकांश समय सरकार र जेनजी आन्दोलनप्रति आक्रोश पोखे । उनले आफ्नो अभिव्यक्तिबाट मुख्य ५ सन्देश दिन खोजेका छन् : 

१. सरकार असंवैधानिक 

ओलीले यो सरकारलाई असंवैधानिक भनेका छन् । संविधानले प्रधानन्यायाधीश र न्यायाधीशलाई लाभको पदमा जान रोकेको भन्दै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारलाई उनले बलमिच्याइँबाट बनेको टिप्पणी गरेका छन् । 

‘हामी कसैलाई भ्रम पर्न हुँदैन, यो सरकार संविधानसम्मत छैन, यसको क्रियाकलाप लोकतान्त्रिक संविधानसम्मत, कानुनी राज अनुसार छैन’, उनले भनेका छन् । 

२. सरकार प्रतिशोधको बाटोमा छ 

ओलीले यो सरकारले आफूहरुसँग प्रतिशोधको बाटोमा हिँडेको टिप्पणी गरेका छन् । आफूहरुको पासपोर्ट रोक्का गर्न खोजेको र उपत्यका छाड्न रोक लगाएकामा पनि आपत्ति जनाएका छन् । 

सरकारले आफूलाई र आफ्नो क्याबिनेटका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा छलफल गरेकामा पनि ओली आक्रोशित छन् । 

गृहमन्त्री ओमप्रकाश अर्यालप्रति पनि उनले आक्रोश पोखेका छन् । गृह मन्त्रीलाई नउत्तालिन, नचम्किन, सम्हालिन भनेका छन् । 

गृहमन्त्रीले विभिन्न व्यक्तिलाई बोलाएर नेताहरुविरुद्ध उजुरी हाल्न लगाएर पक्राउको हल्ला फिजाएको ओलीको आरोप छ । 

३. जेनजी आन्दोलन होइन बितण्डा हो 

केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई आन्दोलनको रुपमा स्वीकारेका छैनन् । जेनजी आन्दोलनलाई तथाकथित आन्दोलन  भनेका छन् । हा हु भनेका छन् । 

३ करोड नेपालीको बसोबास भएको देशमा आन्दोलनको नाममा १ लाख जति मात्र सडकमा निस्केको जिकिर गरेका छन् । अनि त्यसलाई प्रतिशतमा हिसाब गर्दै आन्दोलन गर्नेहरु १ प्रतिशतको पनि एक तिहाइ मात्र हो भनेका छन् । 

आन्दोलनको नाममा बितण्डा मच्चाएको भनेका छन् । जेनजी युवाहरुलाई भ्रममा पारेको भनेका छन् । अनि भदौ २३ गते आन्दोलनकारी युवामाथि सरकारले गोली चलाएकामा एकरत्ति स्वीकारोक्ति छैन । 

बरु भोलिपल्ट तोडफोड, लुटपाट र आगजनी गर्न अघिल्लो दिन नै माहोल बनाएको भन्दै अदृश्य शक्तिमाथि प्रश्न उठाएका छन् । 

‘२३ गतेको गोलीकाण्ड २४ गतेको आगजनी तोडफोड लुटपाटका लागि आधार बनाइएको थियो, तयारी थियो त्यसका लागि’, उनले भनेका छन् । 

kp-sharma-oli-23-1760011824.jpg
४. गौरीबहादुर कार्की आयोगलाई मान्दिन 

एमाले अध्यक्ष ओलीले सुशीला कार्की सरकारले गठन गरेको जाँचबुझ आयोगलाई नमान्ने भनेका छन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामा प्रश्न उठाएका छन् । 

कार्कीले आयोगको अध्यक्ष हुनु भन्दा पहिला नै केपी ओलीलाई समानुपर्छ, मुद्ुदा लगाउनुपर्छ भनेको भन्दै अहिले उनकै नेतृत्वमा आयोग बनाउनुलाई नाटक भनेका छन् । कार्की निष्पक्ष नभएकाले राजीनामा मागेका छन् । 

‘तपाईहरुको प्रतिवेदन लेख्नुस्, बुझाउनुस् फैसला गर्नुस्, एमालेलाई मान्य छैन । मान्दैनौं हामी, गर्नुस् के के गर्नुहुन्छ’,  ओलीले भनेका छन् । 

५. चुनाव होइन, संसद पुनर्स्थापना 

ओलीले सरकारले फागुन २१ मा तोकेको चुनाव पनि नमान्ने बताएका छन् । उक्त चुनावलाई उनले नाटक भनेका छन् । नेतालाई जेल हालेर, मुद्दा लगाएर अपमान गरेर, चुनाव लड्न नदिएर आफूलाई विजय घोषणा गर्ने सपना देखेको आरोप लगाएका छन् ।

यो चुनावलाई अस्वीकार गर्न उनले नेपाली कांग्रेस र अरु दलहरुको पनि साथ खोजेका छन् । 

अहिलेको समस्याको निकास संसद कायम राखेर मात्र खोज्नुपर्ने उनको भनाइ छ । ‘अब हामीले देशलाई सही बाटोमा फर्काउन संसद तत्काल फिर्ता गर्ने माग राखेर अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन’, ओलीले भनेका छन् । 

कतिपयले फागुन २१ को चुनाव नभए संसद पुनर्स्थापना हुन सक्ने आशंका गरेका छन् । तर ओलीले यसमा कडा असहमति राखेका छन् । उनले संसद पुनर्स्थापनाका लागि फागुन २१ सम्म पर्खिन नसकिने जिकिर गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute