नेभिगेशन
3 Minute

९ क्लबले भने : होम एन्ड अवेका लागि तयार छैनौं 

नौ वटा ए डिभिजन क्लबहरूले आफूहरु होम एन्ड अवे फरम्याटमा लिग खेल्न तयारी नपुग्ने बताएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो पुसमा शहीद स्मारक ए डिभिजन लिग सञ्चालन गर्ने तयारी गरेको छ । लिगलाई होम एण्ड अवे फरम्याटमा खेलाउने एन्फाको तयारी छ । 

तर शनिबार नौ वटा क्लबले ललितपुरको कुपण्डोलमा पत्रकार सम्मेलन गरी होम एण्ड अवे फरम्याटमा लिग खेल्न तयार नभएको बताएक हुन् । 

एन्फाले गत असोज ४ गते पत्रमार्फत शीर्ष डिभिजनका क्लबलाई असोज २६ गते लागि बैठकमा बोलाएको छ । तर, त्यो बैठक अगाडि नै क्लबहरूले एन्फाले आयोजना गर्न लागेको लिगमा होम एण्ड अवे नराख्न दबाब दिएका छन् । 

पत्रकार सम्मेलनमा न्युरोड टिम (एनआरटी), फ्रेन्ड्स क्लब, श्री भगवती क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मछिन्द्र क्लबका पदाधिकारीको उपस्थिति थियो ।

क्लबहरुले नेपाली फुटबलमा व्यावसायिकता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न एन्फाले आधारभूत मुद्दाहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । 

क्लबहरुले एन्फालाई एसियाली फुटबल महासंघ (एएफसी)सँग समन्वय गरि लिग सञ्चालन गर्न पूर्ण अधिकारसहितको स्वतन्त्र लिग समिति गठन गर्न आग्रह गरेका छन् । समितिलाई आर्थिक, कानुनी, निष्पक्ष तथा व्यवस्थित तरिकाले लिग व्यवस्थापन गर्न अधिकार दिनुपर्ने क्लबहरुको माग छ ।

त्यस्तै क्लबहरुले एन्फाले लिग आयोजना गर्नुभन्दा पहिले उचित पूर्वाधारमा सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै ‘होम एन्ड अवे’ खेलका बारेमा स्पष्ट प्रावधान माग गरेका छन् । 

एन्फाले एएफसी र एन्फा स्वयंको मापदण्ड अनुरुप कम्तीमा १० वर्षको लागि घरेलु मैदानको कानुनी अधिग्रहणलाई सहज बनाउन माग गरेका छन् ।

क्लबहरुको जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार क्लबहरुलाई ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउन र शीर्ष ६ भित्र अटाउने क्लबहरुको पुरस्कार रकम बढाउने माग पनि उल्लेख गरिएको छ ।

यसैगरी सम्बन्धित सरकारी निकायहरुसँगको समन्वयमा नेपालको कानूनअन्तर्गत ‘म्याच फिक्सिङ’ र सट्टेबाजी जस्ता आपराधिक कार्यलाई कडाईका साथ रोक्न आधिकारिक निकाय गठन गर्ने प्रस्ताव पनि क्लबहरुले गरेका छन् ।

एएफसी क्लब लाइसेन्स मापदण्डहरु पूरा गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै एन्फालाई लिग सुरु हुनुभन्दाअघि नै सबै १४ टोलीले आवश्यक मापदण्डहरु पूरा गर्न सक्ने वातावरण सिर्जना गर्न क्लबहरुले आग्रह गरेका छन् । 

यसबीच सहभागी सबै टोलीसँग परामर्श र सहमतिपछि मात्र लिग ‘मोडेल’ र प्रतिस्पर्धाका नियमहरुलाई अन्तिम रूप दिन जोड दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute