देउवाको सन्देश : नेतृत्वबाट अलग, मंसिरभित्र नियमित महाधिवेशन
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि घरभित्रै आक्रमण भयो । देउवाको गर्धनमा धारिलो हतियारको चोटसमेत लागेको थियो ।
बुढानीलकण्ठस्थित उनको घरमा लुटपाट, तोडफोड र आगजनी भयो । लामो उपचारपछि उनीहरु डेरामा फर्किए । ३४ दिनपछि मंगलबार देउवा दम्पती कांग्रेस पार्टी कार्यालयमा उपस्थित भए ।
पार्टीको केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका देउवाले स्वास्थ्य अवस्थाका कारण पार्टी सभापतिको रुपमा काम नगर्ने बताए । उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए ।
मंगलबार केन्द्रीय समिति बैठकमा देउवाले लिखित भाषण गरे, जसमा जेनजी आन्दोलन, आफूमाथि भएको आक्रमण, प्रतिनिधिसभा विघटन, पार्टीको महाधिवेशनका विषयमा प्रष्ट धारणा राखेका छन् । उनले भदौ केन्द्रीय समिति बैठकमा देउवाले राखेको धारणा मुख्यतः ६ विषयमा केन्द्रित थियो ।
१. ज्यान लिन खोजियो, झुटा प्रचार गरियो
कांग्रेस सभापति देउवाले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते निर्दोष युवाहरुको ज्यान गएकामा आफू मर्माहत रहेको बताएका छन् ।
‘जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो, निर्दोष नवयुवकहरुको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ’, उनले भनेका छन् ।
उनले भदौ २४ गते आफू र आफ्नी पत्नी आरजु देउवामाथि ज्यानै लिने मनसायले सांघातिक हमला भएको बताएका छन् ।
सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि आफूहरुको उद्दार भएको भन्दै देउवाले भनेका छन्, ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो, तपाईहरु जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रुपमा झुटा प्रचार गरियो ।’
भदौ २४ गते देउवाको घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । उनको घरमा नोटहरु पनि जलेको भिडियो सार्वजनिक भएको थियो । त्यसलाई धेरैले देउवाको घरमा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै अनुसन्धानको माग पनि भएको थियो ।
त्यसपछि असोज २ गते देउवाको सचिवालयले विज्ञप्ति जारी गरी फोटो प्रविधिको गलत प्रयोगबाट नोटको फोटो र दृश्य जोडेर भिडियो बनाइएको दावी गरेको थियो । मंगलबार देउवाले त्यसैतर्फ संकेत गर्दै आफूहरुको विषयमा सुनियोजित रुपमा झुटा प्रचार गरेको दाबी गरेका छन् ।
आफू र आफूजस्तै राजनीतिक दलका नेता कार्यकर्तामाथिको आक्रमण व्यक्तिगतजस्तो देखिए पनि देश, पद्धति र पार्टीमाथिको आक्रमण भएको देउवाको भनाइ छ ।
२. जेनजीको नाममा योजनावद्ध र सुनियोजित घटना
सभापति देउवाले जेनजी युवाले भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै गरेको आन्दोलनलाई जायज भनेका छन् । ‘उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्दैपर्छ’, देउवाले भनेका छन् । उनले जेनजीको मागको विषयमा पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गर्नुपर्ने पनि बताएका छन् ।
तर जेनजी आन्दोलनको नाममा अकल्पनीय, अमानवीय र त्रासदीपूर्ण घटनाहरु भएको भन्दै देउवाले ती घटना आकस्मिक वा स्वतःस्फुर्त भन्दा पनि सुनियोजित र योजनावद्ध भएको बताएका छन् ।
‘यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्छ । यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटा भन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’, उनले भनेका छन् ।
३. नेतृत्वबाट अलग
सभापति देउवाले १५ औं महाधिवेशनबाट पार्टीको नेतृत्व छाड्ने दोहोर्याएका छन् । घरमा सधैं एकै जना मुली रहदैन भन्दै उनले पार्टीमा पनि एकै जना सभापति रहिनरहने बताएका छन् ।
‘मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्वप विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा दुविधा छैन’, देउवाले भनेका छन् ।
तर उनले नेतृत्व छाड्न महाधिवेशन पनि पर्खेनन् । यो केन्द्रीय समिति बैठकमा पनि उनी सभापतिका रुपमा सहभागी भएनन्, कार्यबाहक सभापतिको जिम्मा उपसभापति खड्कालाई दिए ।
‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिका रुपमा काम गर्ने गरी तोकेको छु’, उनले भनेका छन् ।
४. संसद बिघटन असंवैधानिक, चुनाव अनिश्चित
कांग्रेस सभापति देउवाले जेनजी आन्दोलनपछि प्रतिनिधिसभा बिघटन गरिनु अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन् । त्यही कारण अहिले संविधान जोखिममा परेको भन्दै उनले सरकारले फागुन २१ गते निर्वाचन गर्ने भनेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न नसकेको बताएका छन् ।
‘निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकायको मनोबल गिरेर निरीह भएका छन्’, देउवाले भनेका छन् ।
निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुन्छ भन्ने सुनिश्चित गर्नु सरकारको दायित्व हुने उनले बताए ।
‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्नेमा हाम्रो विश्वास छ’, उनले भनेका छन् ।
५. राजनीतिक दलहरु एक होऔं
कांग्रेस सभापति देउवाले सरकारले राजनीतिक दलहरुसँग संवाद नगरेकामा पनि असन्तुष्टि जनाएका छन् । यो बेलामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरेर आगामी योजनाबारे छलफल गर्नुपर्ने उनको भनाइ छ ।
‘मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौं’, उनले भनेका छन् ।
६. मंसिरभित्र नियमित महाधिवेशन
देउवाले अहिले पार्टीभित्र एकता कायम राख्नुपर्ने भन्दै विधानले तोकेकै समयमा १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
‘हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ’, उनले भनेका छन् ।
कांग्रेसको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको छ । कांग्रेसमा १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो । त्यस अनुसार २०८२ मंसिरभित्र महाधिवेशन हुनुपर्छ ।
कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । उनीहरुले नियमित महाधिवेशनमा संस्थापन पक्ष तयार नभए विशेष महाधिवेशन गर्ने भन्दै देशभर हस्ताक्षर अभियान चलाएका थिए । तर देउवाले मंसिरभित्रै नियमित महाधिवेशन गर्ने विषयमा केन्द्रीय समितिले निर्णय लिने बताएका छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



