नेभिगेशन
3 Minute

देउवाको सन्देश : नेतृत्वबाट अलग, मंसिरभित्र नियमित महाधिवेशन

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि घरभित्रै आक्रमण भयो । देउवाको गर्धनमा धारिलो हतियारको चोटसमेत लागेको थियो । 

बुढानीलकण्ठस्थित उनको घरमा लुटपाट, तोडफोड र आगजनी भयो । लामो उपचारपछि उनीहरु डेरामा फर्किए । ३४ दिनपछि मंगलबार देउवा दम्पती कांग्रेस पार्टी कार्यालयमा उपस्थित भए । 

पार्टीको केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका देउवाले स्वास्थ्य अवस्थाका कारण पार्टी सभापतिको रुपमा काम नगर्ने बताए । उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए । 

मंगलबार केन्द्रीय समिति बैठकमा देउवाले लिखित भाषण गरे, जसमा जेनजी आन्दोलन, आफूमाथि भएको आक्रमण, प्रतिनिधिसभा विघटन, पार्टीको महाधिवेशनका विषयमा प्रष्ट धारणा राखेका छन् । उनले भदौ केन्द्रीय समिति बैठकमा देउवाले राखेको धारणा मुख्यतः ६ विषयमा केन्द्रित थियो । 

१. ज्यान लिन खोजियो, झुटा प्रचार गरियो 

कांग्रेस सभापति देउवाले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते निर्दोष युवाहरुको ज्यान गएकामा आफू मर्माहत रहेको बताएका छन् । 

‘जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो, निर्दोष नवयुवकहरुको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ’, उनले भनेका छन् । 

उनले भदौ २४ गते आफू र आफ्नी पत्नी आरजु देउवामाथि ज्यानै लिने मनसायले सांघातिक हमला भएको बताएका छन् । 

सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि आफूहरुको उद्दार भएको भन्दै देउवाले भनेका छन्, ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्‍यो, तपाईहरु जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रुपमा झुटा प्रचार गरियो ।’

भदौ २४ गते देउवाको घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । उनको घरमा नोटहरु पनि जलेको भिडियो सार्वजनिक भएको थियो । त्यसलाई धेरैले देउवाको घरमा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै अनुसन्धानको माग पनि  भएको थियो । 

त्यसपछि असोज २ गते देउवाको सचिवालयले विज्ञप्ति जारी गरी फोटो प्रविधिको गलत प्रयोगबाट नोटको फोटो र दृश्य जोडेर भिडियो बनाइएको दावी गरेको थियो । मंगलबार देउवाले त्यसैतर्फ संकेत गर्दै आफूहरुको विषयमा सुनियोजित रुपमा झुटा प्रचार गरेको दाबी गरेका छन् । 

आफू र आफूजस्तै राजनीतिक दलका नेता कार्यकर्तामाथिको आक्रमण व्यक्तिगतजस्तो देखिए पनि देश, पद्धति र पार्टीमाथिको आक्रमण भएको देउवाको भनाइ छ । 

२. जेनजीको नाममा योजनावद्ध र सुनियोजित घटना 

सभापति देउवाले जेनजी युवाले भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै गरेको आन्दोलनलाई जायज भनेका छन् । ‘उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्दैपर्छ’, देउवाले भनेका छन् । उनले जेनजीको मागको विषयमा पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गर्नुपर्ने पनि बताएका छन् । 

तर जेनजी आन्दोलनको नाममा अकल्पनीय, अमानवीय र त्रासदीपूर्ण घटनाहरु भएको भन्दै देउवाले ती घटना आकस्मिक वा स्वतःस्फुर्त भन्दा पनि सुनियोजित र योजनावद्ध भएको बताएका छन्  ।
‘यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्छ । यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटा भन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’, उनले भनेका छन् । 

३. नेतृत्वबाट अलग  

सभापति देउवाले १५ औं महाधिवेशनबाट पार्टीको नेतृत्व छाड्ने दोहोर्‍याएका छन् । घरमा सधैं एकै जना मुली रहदैन भन्दै उनले पार्टीमा पनि एकै जना सभापति रहिनरहने बताएका छन् । 

‘मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्वप विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा दुविधा छैन’, देउवाले भनेका छन् । 

तर उनले नेतृत्व छाड्न महाधिवेशन पनि पर्खेनन् । यो केन्द्रीय समिति बैठकमा पनि उनी सभापतिका रुपमा सहभागी भएनन्, कार्यबाहक सभापतिको जिम्मा उपसभापति खड्कालाई दिए । 
‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिका रुपमा काम गर्ने गरी तोकेको छु’, उनले भनेका छन् । 

४. संसद बिघटन असंवैधानिक, चुनाव अनिश्चित 

कांग्रेस सभापति देउवाले जेनजी आन्दोलनपछि प्रतिनिधिसभा बिघटन गरिनु अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन् । त्यही कारण अहिले संविधान जोखिममा परेको भन्दै उनले सरकारले फागुन २१ गते निर्वाचन गर्ने भनेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न नसकेको बताएका छन् । 

‘निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकायको मनोबल गिरेर निरीह भएका छन्’, देउवाले भनेका छन् । 

निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुन्छ भन्ने सुनिश्चित गर्नु सरकारको दायित्व हुने उनले बताए । 
‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्नेमा हाम्रो विश्वास छ’, उनले भनेका छन् । 

५. राजनीतिक दलहरु एक होऔं 

कांग्रेस सभापति देउवाले सरकारले राजनीतिक दलहरुसँग संवाद नगरेकामा पनि असन्तुष्टि जनाएका छन् । यो बेलामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरेर आगामी योजनाबारे छलफल गर्नुपर्ने उनको भनाइ छ । 

‘मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौं’, उनले भनेका छन् । 

६. मंसिरभित्र नियमित महाधिवेशन  

देउवाले अहिले पार्टीभित्र एकता कायम राख्नुपर्ने भन्दै विधानले तोकेकै समयमा १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

‘हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ’, उनले भनेका छन् । 

कांग्रेसको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको छ । कांग्रेसमा १४ औं  महाधिवेशन २०७८ मंसिरमा भएको थियो । त्यस अनुसार २०८२ मंसिरभित्र महाधिवेशन हुनुपर्छ । 

कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । उनीहरुले नियमित महाधिवेशनमा संस्थापन पक्ष तयार नभए विशेष महाधिवेशन गर्ने भन्दै देशभर हस्ताक्षर अभियान चलाएका थिए । तर देउवाले मंसिरभित्रै नियमित महाधिवेशन गर्ने विषयमा केन्द्रीय समितिले निर्णय लिने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute