सुन तस्करी प्रकरणमा माओवादी नेता महरा थुनामा पठाइए
सुन तस्करीमा संलग्नको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा सुनुवाइ हुँदा न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
अदालतको आदेशलगत्तै उनलाई सुन्धाराको केन्द्रीय कारागार पठाइएको छ ।
२०७९ पुसमा चीनबाट विद्युतीय चुरोट भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको घटनामा महरा आरोपित थिए ।
चिनियाँ ब्यापारीले ल्याएको भेपमा सुन तस्करी भएको शंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसलाई रोकेको थियो । ती सामान छुटाउन महराले दबाब दिएको देखिएको भन्दै सरकारले गठन गरेको सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगले सिफारिस गर्दा प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री थिए । त्यतिबेला पनि महरा पक्राउ परेका थिए, सीआईबीले दुई दिन बयान लिए पनि बयान नसकिँदै महरा छुटेका थिए ।
त्यसपछि लामो समयसम्म यो प्रकरणको अनुसन्धान सीआईबीमै पेन्डिङ रहेको थियो । असोज २५ गते सीआईबीले महरालाई पक्राउ गरेको थियो । महराको बयान लिएपछि आज अदालतमा पेश गरिएको थियो । त्यसपछि अदालतले बुधबार नै पुर्पक्षका लागि थुनामा पठाएको हो । यो सुन तस्करी प्रकरणमा महराका छोरा राहुल पुर्पक्षका लागि थुनामै छन् ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अब यो मुद्दामा नियमित सुनुवाइ पनि छिटै सुरु हुनेछ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






