मादागास्कर जेनजी आन्दोलन : राष्ट्रपति भागे, सेनाले लियो सत्ता
जेनजी बिद्रोहले अफ्रिकी देश मादागास्करमा पनि सत्ता पल्टायो ।
राष्ट्रपति आन्द्रे राजोएलिना देश छाडेर हिँड्न बाध्य भए । अहिले शासन सत्ता सेनाको नियन्त्रणमा छ ।
सत्ताच्यूत भएका शासक आन्द्रे राजोएलिना कुनै समय आफैं क्रान्तिकारी थिए । युवाहरुमा लोकप्रिय थिए, राजधानी शहरको मेयर थिए । आन्दोलनबाटै सत्तामा आएका थिए । पटक पटक गरी उनी ११ वर्ष सत्तामा रहे ।
तर जनताले उनलाई पनि लखेट्नुपर्यो । पढ्नुहोस् मादागास्करको जेनजी बिद्रोहबाट पदच्यूत भएका राष्ट्रपति आन्द्रे राजोएलिनाको राइज एण्ड फलको कथा :
हिन्द महासागरको टापु देश मादागास्कर दक्षिण पूर्वी अफ्रिकामा पर्छ । ५ लाख ८७ हजार ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो देश विश्वको चौथो ठूलो टापु पनि हो ।
सन् १९६० सम्म यहाँ फ्रान्सको उपनिवेश थियो । अफ्रिकी महादेशमा पर्ने भएपनि लामो उपनिवेशका कारण मादागास्कर फ्रान्ससँग राजनीतिक, साँस्कृतिक र आर्थिक रुपमा नजिक छ ।
यहाँको जनसंख्या ३ करोड १९ लाख छ ।
नेपालमा सेप्टेम्बर ८ मा भ्रष्टाचार र सुशासनको माग गर्दै जेनजीहरु सडकमा आएका थिए ।
मादागास्करमा लोडसेडिङ र पानी संकटको विरोधमा सेप्टेम्बर २५ बाट जेनजीहरु सडकमा आए । उनीहरुले जेनजी मादा भन्ने ग्रुप बनाएर फेसबुक र टिकटकमार्फत क्याम्पेनिङ गरे ।
छोटो समयमै उनीहरुको आन्दोलन राजधानी शहर एन्तानानारिभो र अरु ८ वटा शहरमा फैलिएको थियो ।
मादागास्कर विश्वकै गरिब देशहरु मध्ये एक हो । यहाँका ७५ प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् ।
बिजुली र पानीको ठूलो संकट छ । ३६ प्रतिशत जनसंख्यामा मात्र विजुलीको पहुँच पुगेको छ । राजधानी एन्तानानारिभोमा ६ देखि १२ घण्टासम्म लोडसेडिङ छ ।
पानीको अभाव यति चर्को छ कि, सर्वसाधारणले घरायसी प्रयोगका लागि पनि पानी पाउँदैनन् । युनिसेफका अनुसार दक्षिणी क्षेत्रका ७० प्रतिशत घरधुरीमा आधारभूत खानेपानीकै अभाव छ ।
बिजुली र पानीको सेवा दिने सरकारी कम्पनी जिरामामा ठूलो भ्रष्टाचार र अनियमितता भएको आरोप छ । यो कम्पनी ५ करोड २९ लाख अमेरिकी डलर घाटामा छ ।
युवा बेरोजगारी दर पनि उच्च छ । शहरी क्षेत्रमा ३० प्रतिशत बेरोजगारी छ ।
मादागास्करको प्रतिव्यक्ति आय जम्मा ४५३ अमेरिकी डलर छ, यो भनेको नेपालको प्रतिव्यक्ति आय भन्दा पनि झण्डै ४ गुणा कम हो ।
भ्रष्टाचारका सूचकांकका आधारमा मादागास्कर १८० देशमध्ये १४० औं स्थानमा छ ।
देशको अवस्था जर्जर हुनुमा शासकहरु नै मुख्य जिम्मेवार रहेको भन्दै युवाहरु सडकमा आएका थिए । उनीहरुले राष्ट्रपति राजोएलिना आउटको नारा लगाएका थिए ।
जेनजीको आन्दोलनलाई नागरिक समाज, विपक्षी राजनीतिक दलहरुले पनि समर्थन गरे । विपक्षी दलका नेता र एकजना पूर्वराष्ट्रपति मार्क राभालोमानानाले संयुक्त विज्ञप्ति निकालेर आन्दोलनमा समर्थन गर्दै विज्ञप्ति निकाले ।
देशको सबैभन्दा ठूलो मजदुर संगठन मालागासी ट्रेड युनियन सोलिडारिटीले समर्थन गर्यो । सेप्टेम्बर २५ मा हजारौं मानिसहरु सडकमा आए ।
सरकारले सुरुदेखि नै दमनको नीति लियो, प्रदर्शकारीमाथि टियर ग्यास, वाटर क्यानन र रबरको गोली चलायो । आन्दोलन मत्थर पार्ने उद्देश्यले सेप्टेम्बर २९ मा राष्ट्रपति आन्द्रे राजोएलिनाले प्रधानमन्त्री बर्खास्त गरे र आन्दोलनकारीलाई वार्तामा बोलाए ।
तर प्रदर्शन रोकिएन । प्रदर्शनकारीको माग राष्ट्रपति राजोएलिनाकै राजीनामा थियो । सँगसँगै उनीहरुले त्यहाँको संसद नेशनल एसेम्बली, निर्वाचन आयोग र हाइ कोर्ट पनि बिघटन गर्न माग राखे ।
किनकी यी संस्थाहरु राष्ट्रपतिले दुरुपयोग गरिरहेको आन्दोलनकारीको जिकिर थियो ।
आन्दोलनकारी वार्तामा नआएपछि राष्ट्रपति राजोएलिनाले सैनिक कु लाई उक्साउन खोजेको आरोप लगाए । अनि आफूलाई हटाउन विदेशी शक्ति लागेको टिप्पणी गरे ।
अक्टोबर ११ मा सेनाको विशेष युनिट क्यापसाट नै आन्दोलनकारीको पक्षमा सडकमा आयो । क्यापसाटका प्रमुख माइकल रान्ड्रिया निरिना आफैं आन्दोलनकारीसँगै जुलुसमा मिसिए । त्यसपछि भने राष्ट्रपति राजोएलिना देश छाडेर हिँडे । नेशनल एसेम्बलीले उनलाई महाअभियोग लगायो ।
सेनाको विशेष युनिट क्यापसाटका प्रमुख माइकल रान्ड्रिया निरिनाले राष्ट्रपति निवास अगाडि उभिएर अन्तर्राष्ट्रिय मिडियासँग भने, ‘अब देशको जिम्मा सेनाले लियो ।’
संवैधानिक अदालतले उनैलाई देशको कार्यकारी प्रमुख भएको फैसला दियो । अनि दुई वर्षभित्र चुनाव गराउने म्यान्डेट पनि ।
००००
जेनजी विद्रोहपछि देश छाडेर भागेका राष्ट्रपति आन्द्रे राजोएलिना आफैं आन्दोलनबाट उदाएका नेता हुन् ।
एन्ड्री राजोएलिनाले सन् २००७ देखि २००९ सम्म मादागास्करको राजधानी एन्तानानारिभोको मेयर थिए ।
उनी सैनिक अधिकारीका छोरा थिए । किशोर अवस्थामा राजोएलिना डिजे थिए । उनले धेरै इभेन्टहरु आयोजना गरे । १९ वर्षको हुँदा उनले इभेन्ट म्यानेजमेन्ट कम्पनी स्थापना गरेका थिए ।
सन् १९९९ मा डिजिटल प्रिन्टिङ कम्पनी सुरु गरे । सन् २००० देखि विज्ञापन एजेन्सी चलाए । २००७ मा रेडियो र टेलिभिजन नै किने ।
त्यसपछि भने उनी राजनीतिमा आए र २००७ मै राजधानी एन्तानानारिभोको मेयरमा उठे । करिब ६३ प्रतिशत मत ल्याएर चुनाव जिते । मेयर हुँदा उनी युवामाझ लोकप्रिय भए । संघीय सरकारसँग उनको सम्बन्ध राम्रो भएन । उनको तत्कालिन राष्ट्रपति मार्क राभालोमानानासँग विवाद बढ्दै गयो ।
राष्ट्रपतिसँगको टकरावले राजोएलिनालाई मुलुकको बलियो विपक्षी अनुहारका रुपमा चिनिँदै गए ।
सन् २००८ मा एक जना पूर्वराष्ट्रपतिको अन्तर्वार्तालाई लिएको विषयमा सरकारले राजोएलिनाको टेलिभिजन नै बन्द गराइदियो ।
त्यतिबेला विवादास्पद भूमि सम्झौतालाई लिएर सरकारको आलोचना भइरहेको थियो ।
सन् २००९ को सुरुवातदेखि भने आन्दोलन चर्कियो । आन्दोलनको नेता मेयर राजोएलिना नै थिए । सेनाले पनि राष्ट्रपति राभालोमानानालाई सपोर्ट गरेन, मेयरलाई नै साथ दियो । राजोएलिनाले राष्ट्रपतिलाई पद छाड्न दबाब दिए । तर उनले पद छाड्न मानेनन्, बरु जनमत संग्रहको प्रस्ताव गरे, राजोएलिनाले मानेनन् ।
त्यसपछि सेनाले केन्द्रीय बैंक र राष्ट्रपति भवन नियन्त्रणमा लियो । अनि राष्ट्रपति राभालोमानानाले सत्ता छाडे । सेनाले राजोएलिनालाई अन्तरिम सरकारको प्रमुख बनायो ।
यसरी एक सैनिक कु मार्फत राजोएलिना मेयरबाट मादागास्करको राष्ट्रपति बन्न पुगे । तर सैनिक कु भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले मान्यता दिन अस्वीकार गरे । मादागास्कर क्षेत्रीय संगठन र आर्थिक सहायता गर्ने संस्थाहरुबाट एक्लियो ।
देशभित्र पनि असन्तुष्टि कायमै रिहे । पदच्यूत भएका राष्ट्रपति राभोलोमानानाको समर्थकले राजोएलिना सरकारविरुद्ध निरन्तर प्रदर्शन गरिरहे । दुई पक्षबीच विवाद चर्किँदै गयो । सहमति कायम गर्ने घरेलु र बाह्य शक्तिको प्रयास सफल भएन ।
विवादकै बीच राजोएलिनाले सन् २०१० मा नयाँ संविधान जारी गरे । उनलाई राजनीतिक शक्तिहरुको समर्थन थिएन, तर सेनाको साथ थियो । उनी सन् २०१३ सम्म राष्ट्रपति रहे । २०१३ मा भने राष्ट्रपति पदको चुनाव हुने भयो ।
राजोएलिना र पूर्वराष्ट्रपति राभालोमानानाबीच शक्ति संघर्ष उत्कर्षमा थियो । मध्यस्थता गर्ने अन्तर्राष्ट्र्रिय शक्तिहरुले दुबैले राष्ट्रपतिमा उम्मेदवारी नदिने गरी सहमति गराए ।
तर राभालोमानानाकी पत्नीले उम्मेदवारी घोषणा गरिन् । त्यसपछि राजोएलिनाले पनि सहमति उल्लंघन गरेर उम्मेदवारी दिए । अन्तर्राष्ट्रिय समुदायले सहयोग रोकिदिए, चुनाव पनि स्थगित भयो । अदालतले उनीहरु दुबै जनाको उम्मेदवारी खारेज गरिदियो ।
राष्ट्रपतिको चुनाव राजोएलिनाका सहयोगीले जिते । नेशनल एसेम्बलीमा राजोएलिनाको पार्टीले बहुमत ल्यायो ।
चुनावपछि राजोएलिना र राष्ट्रपति राजाओना रिमाम्पियनसँग सम्बन्ध बिग्रियो । राजोएलिनाले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी गरे । नेशनल एसेम्बलीले महाअभियोग प्रस्ताव पारित गर्यो । तर अदालतले त्यसलाई मान्यता दिएन ।
त्यसपछि राजोलिना देश छाडेर फ्रान्स गएर बसे । त्यहाँ गएर पनि चुप बसेनन्, मादागास्करकै शक्ति हत्याउने दाउमा बसिराखे । जब २०१८ मा फेरि राष्ट्रपति चुनाव हुने भयो, राजोएलिना त्यसमा भाग लिन आए र निर्वाचित भए ।
त्यो कार्यकाल पूरा भएपछि सन् २०२३ नोभेम्बर ९ मा फेरि राष्ट्रपति निर्वाचन भयो । यो चुनावमा राजोएलिनाको उम्मेदवारी नै विवादमा पर्यो । उनले सन् २०१४ मा नै फ्रान्सको नागरिकता लिएको भन्दै अदालतमा मुद्दा पर्यो । तर अदालतले राजोलिनाको पक्षमा फैसला गरिदियो ।
तर चुनावी वातावरण झन् बिग्रिदै गयो । राष्ट्रपति पदका १३ मध्ये १० जना उम्मेदवारले चुनाव बहिस्कार गरे, आफ्ना समर्थकलाई पनि बहिस्कारको अपिल गरे ।
तर चुनाव भइछाड्यो र राजोलिनाले ५९ प्रतिशत भोट पाएर चुनाव जितेको घोषणा गरियो । तर चुनाव जितेको दुई वर्षमै आन्दोलनबाट सत्ताच्यूत हुन पुगे ।
००००
मादागास्करको सत्ता अहिले सेनाले जिम्मा लिएको छ । सेनाको एउटा निकाय क्यापसाटका प्रमुख माइकल रान्ड्रियानिरिनालाई हेड अफ स्टेटका रुपमा काम गरेका छन् । उनले सेनाले २ वर्षभित्र चुनाव गराउने र नागरिक सरकारलाई शासन हस्तान्तरण गर्ने बताएका छन् ।
तर सैनिक कु भएको भन्दै अफ्रिकी युनाइटेडले हाल मादागास्करलाई निलम्बनमा राखेको छ ।
अहिले सरकार प्रमुख भएका सैनिक अधिकारी माइकल रान्ड्रियानिरिनाको सम्बन्ध पदच्युत भएका राष्ट्रपति राजोएलिनासँग राम्रो थिएन ।
सन् २०२३ मा राजोएलिनाले सैनिक कु गर्न खोजेको आरोपमा माइकल रान्ड्रियानिरिनालाई जेल हालेका थिए । तर विद्यार्थी, सेना र राजनीतकर्मीहरुले विरोध गरेपछि सन् २०२४ को फेबु्रअरीमा उनी छुटेका थिए ।
देश छाडेर भागेका राष्ट्रपति राजोएलिनाले हार मानेका छैनन् । आफैं राष्ट्रपति भएको बताइरहेका छन् ।
उनले आफूविरुद्ध महाअभियोग लाग्न सक्ने ठानेर पहिले नै नेशनल एसेम्बली भंग गरेका थिए । तर त्यही नेशनल एसेम्बलीले राजोएलिनालाई महाअभियोग लगाएको थियो ।
राष्ट्रपति राजोएलिना पदमुक्त भएकामा आन्दोलनरत जेनजीहरु खुशी देखिन्छन् । उनीहरुले यो लडाई त जितेका छन्, तर पुरै युद्ध भने जित्न बाँकी नै छ ।
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?






-1765982600.jpg)


