अनलाइन ठगीका बादशाह चेनको कम्बोडिया कनेक्सन
बाहिरबाट देख्दा ठूलो ब्यापारी र समाजसेवी ।
घरजग्गा व्यवसाय, होटल र बैंकका सञ्चालक ।  
पूर्वप्रधानमन्त्री र मन्त्रीका सल्लाहकार । सरकारबाट विभिन्न पुरस्कार पनि पाएका । 
यस्ता प्रतिष्ठित मान्छे अवैधानिक काममा लाग्न सक्छ भन्ने कसैले सोच्नै नसक्ने । 
कम्बोडियाका यस्तै प्रतिष्ठित व्यवसायी चेन झीमाथि हालै अमेरिका र बेलायतले गम्भीर अपराधको आरोप लगाएका छन् । 
उनीहरुले भनेका छन्, कि उनको आम्दानीको मुख्य स्रोत क्रिप्टोकरेन्सी र अनलाइन ठगी धन्दा हो । 
उनले कम्बोडियामा ठूला कम्पाउन्डसहितको अफिसमा विदेशी कामदार राखेका छन्, उनीहरुमार्फत विभिन्न लोभलालच र धम्की दिएर विश्वभरका मानिसहरुलाई ठगी गरिरहेका छन् । 
०००० 
पातलो बोकेदारी र बच्चाको जस्तो अनुहारका कारण चेन झी आफ्नो उमेर भन्दा पनि कान्छो देखिन्छन् । उनी भर्खर ३८ वर्ष पुगेका छन्, उनी कम्बोडियाको मल्टिनेशनल ब्यापारिक घराना प्रिन्स होल्डिङ ग्रुपका संस्थापक र अध्यक्ष हुन् । यसले रियलस्टेट, बैंक र कस्टुमर सर्भिसको काम गर्ने दाबी गरेको छ । 
तर के कुरा सत्य होे भने उनी एकदमै छिटो धनी भएका व्यक्ति हुन् । 
गत हप्ता अमेरिकी न्याय मन्त्रालयले उनलाई कम्बोडियामा ठगी धन्दा चलाएर विश्वभरका मानिसहरुबाट अर्बौं क्रिप्टोकरेन्सी चोरेको आरोप लगाएको छ । 
अमेरिकाको अर्थ मन्त्रालयले १४ अर्ब बिलियन बिटक्वाइन जफत गरेको छ । जुन चेनसँग सम्बन्धित भएको दाबी गरेको छ । 
उनको कम्पनी कम्बोडियन प्रिन्स ग्रुपको वेबसाइटमा उनलाई एक सम्मानित उद्यमी र प्रसिद्ध समाजसेवी भनिएको छ । 
तर अमेरिका र बेलायतको अनुसन्धानले उनी अनलाइन ठगीका मास्टरमाइन्ड भएको देखाएको छ, उनले संसारभर अनलाइन ठगी धन्दा फैलाएका छन् । 
उनीहरुको आरोप छ कि उनले विभिन्न देशबाट दबाबपूर्वक ल्याइएका मानिसहरुलाई अनलाइन मार्फत ठगी धन्दामा लगाउने गरेको छ । 
पछिल्ला वर्षहरुमा कम्बोडिया र म्यानमारमा यस्तो धन्दा निकै फस्टाएको छ । झुटा विज्ञापन देखाएर हजारौं मानिसहरुलाई अनलाइनमार्फत ठगीका लागि प्रयोग गरिएको छ । 
००० 
चेन सन् २०१० तिर चीनको दक्षिण पूर्वी राज्य फुजियानबाट कम्बोडिया गएका थिए । २०१० को अन्त्य वा सन् २०११ को सुरुतिर सानो इन्टरनेट गेमिङ कम्पनी सुरु गरेका थिए, जुन सुरुमा त्यति धेरै सफल थिएन । त्यसपछि उनले रियल स्टेट बिजनेस गरे ।
उनको समयमा कम्बोडियामा रियलस्टेट क्षेत्र निकै फैलिएको थियो । शक्तिशाली राजनीतिकर्मीको मातहतमा रहेको धेरै जग्गाको उपलब्धता र चिनियाँ पैसाको बाढीका कारण यहाँ रियल स्टेट क्षेत्र निकै फस्टाएको थियो । 
चिनियाँ धनाढ्यले आफ्नो सम्पत्ति विस्तारका क्रममा कम्बोडियामा जग्गा खरिद गर्ने क्रम बढेको थियो । अनि चीनबाट घुम्न आउनेको संख्या पनि उत्तिकै बढिरहेको थियो । 
चिनियाँ लगानीका कारण कम्बोडियाको राजधानी नोम पेन्ह नाटकीय रुपमा परिवर्तन भयो । फ्रान्सेली उपनिवेशका समयमा बनेका होचा घरहरु अग्ला गगनचुम्बी घरहरुले विस्थापित भए । 
त्यस्तै समुद्री किनारमा पर्ने शहर सिहानोकभिल पनि धेरै परिवर्तन भयो । पहिले सानातिना रिसोर्ट रहेको यो क्षेत्र पछि चिनियाँहरुको छुट्टी मनाउने, लगानी गर्ने र जुवा खेल्ने प्रख्यात ठाउँ बन्यो ।
त्यो ठाउँमा भव्य, विलासी होटल र अपार्टमेन्ट ब्लकहरु बन्न थाले, नयाँ नयाँ क्यासिनोहरु खुले । 
तर चेन झी कम्बोडियामा लगानीको सोझो बाटोबाट धनी भएका होइनन् । 
सन् २०१४ मा उनले चिनियाँ नागरिकता त्याग गरे र कम्बोडियाको नागरिक बने । त्यसपछि उनले कम्बोडियामा आफ्नै नाममा जग्गा किन्न पाए ।
कम्बोडियाको नागरिकता लिन २ लाख ५० हजार डलर लगानी गर्नुपर्ने वा सरकारलाई डोनेसन दिनुपर्ने नियम छ । चेन झी ले त्यो रकम रकम कहाँबाट ल्याए भन्ने अहिलेसम्म खुल्दैन । 
सन् २०१९ मा चेनले कम्बोडियामा बैंक खाता खोल्दा एक जना काकाको नाम लेखाएका थिए, जसले सन् २०११ मा प्रपर्टी कम्पनी सुरु गर्न आफूलाई २० लाख अमेरिकी डलर दिएको उल्लेख गरेका थिए । तर यसको प्रमाण अहिलेसम्म भेटिएको छैन ।
चेन झीले घर जग्गा कारोबार गर्ने गरी सन् २०१५ मा प्रिन्स ग्रुप सुरु गरेका थिए । त्यतिबेला उनी जम्मा २७ वर्षका थिए ।
उनले सन् २०१८ मा कमर्सियल बैंकको लाइसेन्स पाए र प्रिन्स ब्यांक स्थापना गरे । त्यसै वर्ष उनले साइप्रसको पासपोर्ट पनि लिए, साइप्रसको पासपोर्ट लिन त्यहाँ २५ लाख अमेरिकी डलर लगानी गरेको हुनुपर्थ्यो । त्यहाँ उनले गरेको लगानी पनि पारदर्शी छैन । साइप्रसको पासपोर्टले उनलाई युरोपेली देशहरुमा आवतजावत सजिलो बनायो । पछि उनले भानुआतुको पनि नागरिकता लिए । 
चेनले कम्बोडियामा एयरलाइन्स कम्पनी पनि खोले । कम्बोडियाको तेस्रो एयरलाइन्स उनकै थियो । प्रिन्स प्रपर्टीले राजधानी नोम पेन्हमा भव्य मल पनि सञ्चालन गरेको छ, सिहानोकभिलमा पाँचतारे होटल छ । र त्यहीँ एउटा महत्वाकांक्षी इको सिटी बनाउने घोषणा पनि प्रिन्स ग्रुपको छ । १६ बिलियन डलरको उक्त इको सिटीको नाम बे अफ लाइट्स राखिएको छ । 
चेन झीले सन् २०२० मा कम्बोडियाको उच्च तहको राष्ट्रिय सम्मान पाए, सरकारलाई ५ लाख अमेरिकी डलर चन्दा दिनेहरुले मात्र राजाबाट यस्तो सम्मान पाउन सक्छन् । 
उनी सन् २०१७ देखि कम्बोडियाका आन्तरिक मामिला मन्त्री सार खेङको सल्लाहकार पनि छन् । उनी ती मन्त्रीका छोरा सार सोखाका बिजनेस पार्टनर पनि हुन् । त्यस्तै उनी कम्बोडियाका शक्तिशाली राजनीतिकर्मी तथा पूर्व प्रधानमन्त्री हुन सेनका पनि सल्लाहकार हुन् । सन् २०२३ देखि कम्बोडियामा हु्न सेनका छोरा हुन मानेत प्रधानमन्त्री छन् । 
कम्बोडियाको सञ्चार माध्यममा चेन झीको परिचय एक समाजसेवीको रुपमा रहेको छ । उनले कम आय भएका विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरेका छन् । उनले विगतमा कोरोना महामारीको समयमा सरकारलाई धेरै आर्थिक सहयोग गरेका थिए । 
तर उनी चर्चाबाट टाढै रहेका छन्, एक रहस्यमय व्यक्तिकै रुपमा । पब्लिक फोरमहरुमा कम नै देखिए । 
सन् २०१९ मा कम्बोडियाको सिहानोकभिलमा ग्याम्बलिङ बिजनेसमा चिनियाँ आपराधिक समूहहरुको संलग्नता बढ्न थाल्यो । यस्ता समूहहरुबीच आपसमा हिंसात्मक घटनाहरु हुन थाले । पर्यटकहरु डराउने अवस्था आयो । 
त्यसपछि चीनको दबाबमा तत्कालिन प्रधानमन्त्री हुन सेनले सन् २०२३ को अगस्टबाट अनलाइन गेमिङमा प्रतिबन्ध लगाए । त्यसपछि ४ लाख ५० हजार चिनियाँले त्यो शहर छोडे र जवा व्यवसाय पनि कोल्याप्स भयो । प्रिन्स ग्रुपले बनाएको धेरैजसो घरहरु पनि खाली भए । 
तर चेन झीले आफ्नो बिजनेस अझै विस्तार गरिरहे, पैसा पनि प्रशस्त खर्च गरिरहे । 
बेलायती अधिकारीहरुका अनुसार चेनले सन् २०१९ मा उत्तरी लन्डनमा १२ मिलियन पाउण्डमा भव्य हवेली किनेका थिए । त्यसपछि व्यापारिक क्षेत्रमा ९५ मिलियन पाउन्डमा अफिस ब्लकहरु किनेका थिए । 
उनले अमेरिकाको न्यूयोर्कमा पनि सम्पत्ति किनेका छन् । एउटा निजी जेट पनि किनेका छन् । 
अमेरिका र बेलायतले अनुसन्धान गरेपछि चीनले पनि प्रिन्स ग्रुपमाथि अनुसन्धान गरिरहेको छ । 
चीनको बेइजिङ म्युनिसिपल पब्लिक सेक्युरिटी ब्यूरोले प्रिन्स ग्रुपमाथि अनुसन्धान गर्न एउटा कार्यदल नै बनाएको छ । यसले प्रिन्स ग्रुपले कम्बोडियामा गरेको अनलाइन गेमिङको कारोबार हेर्नेछ । 
अमेरिका र बेलायतको आरोप छ कि भियतनामको सीमा क्षेत्रमा पर्ने चोरी थोम भन्ने ठाउँमा प्रिन्स ग्रुपले स्थापना गरेको गोल्डेन फच्र्युन साइन्स एण्ड टेक्नोलोजी पार्क छ । ठूलो कम्पाउण्ड भित्र रहेको यही कार्यालयबाट अनलाइन ठगी धन्दा हुँदै आएको छ । 
विगतमा प्रिन्स ग्रुपले आफू कुनै पनि ठगी धन्दामा संलग्न नभएको जिकिर गर्दै आएको थियो । अनि गोल्डेन फच्र्युन कम्पनीमा आफ्नो संलग्नता नरहेको पनि बताएको थियो । तर अमेरिका र बेलायतको अनुसन्धानले प्रिन्स ग्रुप र गोल्डेन फच्र्युचनबीच सीधा ब्यापारिक सम्बन्ध भएको देखाएको छ । 
गोल्डेन फच्र्युनसँग प्रिन्स ग्रुपको कनेक्सनबारे अनुसन्धानमा संलग्न एदामोभिक डेभिसले गोल्डेन फच्र्युन नजिकै बस्ने र काम गर्ने धेरै मानिसहरुसँग सोधपुछ र कुराकानी गरेका छन् । उनीहरुले अनलाइन ठगी धन्दा चलाउन बाध्य पारिएपछि भाग्न खोज्दा आफूहरुमाथि ब्यापक कुटपिट भएको बताएका छन् । यसमा चिनियाँ, भियतनामी र मलेसियालीहरु रहेका छन् । 
चेनको नेतृत्वमा कम्बोडियामा ठूला कम्पाउन्ड भएका घरमा जबर्जस्ती ल्याइएका विदेशी कमदारलाई क्रिप्टोकरेन्सीमा लगानी र अरु ठगी धन्दामा लगाउने गरिएको छ । यसबाट ठूलो मात्रामा नाफा कमाउने गरिएको छ । 
संयुक्त राष्ट्रसंघले सन् २०२३ मा कम्बोडियामा लगभग १ लाख मानिसहरु विभिन्न तरिकाका अनलाइन ठगीमा तानिएको बताएको थियो । 
त्यस्तै म्यानमारमा १ लाख २० हजार र थाइल्याण्ड, लाओस र फिलिपिन्ससमा पनि दशौं हजार मानिसहरु अनलाइन ठगीमा परेका छन् ।
अमेरिका र बेलायतले प्रतिबन्ध लगाएसँगै अरु देशमा पनि प्रिन्स ग्रुपसँग जोडिएका व्यापारमाथि अनुसन्धान सुुरु भएको छ । सिंगापुर र थाइल्याण्ड सरकारले प्रिन्स ग्रुपका भगिनी कम्पनीहरुमाथि अनुसन्धान सुरु गरेको छ । 
कम्बोडिया सरकारले भने चेन झीबारे धेरै केही बोलेको छैन । उसले अमेरिका र बेलायतले लगाएको आरोप प्रमाणित गर्न पर्याप्त प्रमाण छ भन्ने सुनिश्चित गर्न माग गरेको छ ।
कम्बोडियाका आन्तरिक मामिला मन्त्रीले एएफपीसँग चेनमाथिको अनुसन्धानमा सरकारले अरु देशहरुलाई सहयोग गरिरहेको बताएका छन् । 
‘कानुन उलंघटन गर्ने जोसुकै ब्यक्तिलाई हामी संरक्षण गर्दैनौं’ उनले भनेका छन् । तर अमेरिका र बेलायतले लगाएजस्तो आफूहरु प्रन्स ग्रुप र चेन झीलाई आरोप लगाउने पक्षमा नभएको पनि बताएका छन् । 
कम्बोडियाको सत्तासँग अहिले नै चेन झी बाट टाढिन सम्भव छैन । किनकी चेन झी ले त्यहाँको सत्तासँग लामो समयदेखिनिकट रहेर काम गरिरहेका छन् । 
तर कम्बोडियाले अनलाइन ठगी धन्दा रोक्न पहल नगरेको भन्दै आलोचना खेपिरहेको छ । एक अनुमान अनुसार कम्बोडियाको अर्थतन्त्रको आधा हिस्सा अनलाइन ठगी धन्दाकै छ ।
                                                    ४ मिनेटमा कसरी लुटियो विश्वकै सुरक्षित संग्रहालय ?
                                                    फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेल चलान
                                                    जापानले पायो पहिलो महिला प्रधानमन्त्री
                                                    मादागास्कर जेनजी आन्दोलन : राष्ट्रपति भागे, सेनाले लियो सत्ता
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)


