४ मिनेटमा कसरी लुटियो विश्वकै सुरक्षित संग्रहालय ?
फ्रान्सको लुब्र संग्रहालय एउटा प्रख्यात कला संग्रहालय हो । यो विश्वमै धेरै मानिसहरुले अवलोकन गर्ने संग्रहालय हो । यो संग्रहालय विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको चित्र र अन्य ऐतिहासिक कलाका लागि प्रख्यात छ ।
लुब्र संग्रहालयको इतिहास ८ सय वर्ष भन्दा पुरानो छ । ११९० को दशकमा तत्कालिन राजा फिलिप द्धितीयले युद्धबाट पेरिसको सुरक्षा गर्न एउटा किल्ला निर्माण गराएका थिए । त्यही किल्ला रहेको ठाउँमा हाल लुब्र म्युजियम रहेको छ ।
१४ औँ शताब्दीमा राजा चाल्र्सले यही किल्लालाई आफ्नो दरबारको रूपमा प्रयोग गर्न थाले । त्यसपछि यो किल्ला राजदरबारको रूपमा विकास भयो । १६ औँ शताब्दीमा आइपुग्दा राजा फ्रान्सिसले यो किल्ला पुनःनिर्माण गरेर नयाँ शैलीमा बनाए ।
राजा फ्रान्सिसले नै इटालीका प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीलाई फ्रान्स ल्याएका थिए ।
१७ औँ शताब्दीमा लुब्रलाई अझै व्यवस्थित बनाइयो र यस महलभित्र राजदरबारका कला संग्रह गरियो ।
सन् १६८२ मा राजा लुई चौधौं आफ्नो निवास भर्साइल प्यालेस सरेपछि लुब्र महल कलाकार र विद्वानहरुका लागि खुला गरियो ।
जब १७८९ मा फ्रान्सेली राज्यक्रान्ति भएर राजतन्त्र समाप्त भयो त्यसपछि, १० अगस्ट १७९३ मा यो महल सर्वसाधारणका लागि खुला गरियो र यसको नाम ‘सेन्ट्रल म्युजियम अफ द आट्र्स अफ द रिपब्लिक’ राखियो । यसरी लुब्र पहिलो पटक सार्वजनिक कला संग्रहालय बनेको थियो ।
फ्रान्सेली राज्यक्रान्तिका बेला पनि लुब्र संग्रहालयले ठूलो क्षति ब्यहोर्नुपरेको थियो । आन्दोलनका बेला धेरै गरगहना, सुनका भाँडाकुँडा, राजकीय धन र विभिन्न रत्नहरूको चोरी भएको थियो ।
फ्रान्सेली राज्य क्रान्तिपछि जब नेपोलियन बोनापार्टको शासन सुरु भयो त्यतिबेला लुब्र म्युजियमलाई ‘नेपोलियन म्युजियम नाम दिइयो । नेपोलियनले युद्धका क्रममा युरोपका विभिन्न देशहरूबाट आकर्षक कलाकृति ल्याएर यही संग्रहालयमा राखे । यसले लुब्रलाई झन् आकर्षक र समृद्ध बनाउँदै लग्यो ।
१९ औँ र २० औँ शताब्दीसम्म आउँदा लुब्रको संरचना धेरै पटक पुनर्निर्माण र विस्तार गरियो । अहिले लुव्रमा साढे तीन लाख भन्दा बढी वस्तुहरू संग्रहित छन् जसमध्ये करिब ३५ हजार कलाकृति प्रदर्शनमा राखिएको छ ।
लुब्र संसारकै सबैभन्दा धेरै अवलोकन गरिने संग्रहालय हो । जहाँ हरेक वर्ष करिब ८० लाखभन्दा बढी पर्यटक पुग्छन् । ५ वर्षअघि यसको शाखा युएईको अबुधावीमा पनि खोलिएको छ ।
लुब्रको सुरक्षा
लुब्र संग्रहालयको सबै प्रदर्शनी कक्ष, गल्ली र प्रवेशद्वारमा सयौं सीसी क्यामेरा राखिएका छन् । बन्दुकधारी सुरक्षागार्ड र कर्मचारीहरु चौबिसै घण्टा ड्युटीमा हुन्छन् । पर्यटक आउने सबै क्षेत्रमा गार्डहरू छन् । भल्ट, भण्डारण, र मूल्यवान् प्रदर्शनी वस्तुहरूमा उच्च तहका कर्मचारीले मात्र प्रवेश गर्न पाउँछन् ।
संग्रहालयमा सेन्सरहरु पनि पर्याप्त छन्, कोही अवलोकनकर्ताले प्रदर्शनीमा राखेका सामान छुनेबित्तकै अलार्म बजिहाल्छ । प्रदर्शनी कक्षमा राखिएको सीसामा कम्पन सेन्सर, गति पत्ता लगाउने सेन्सर, तापमान सेन्सर र गलत गतिविधि भएमा थाहा दिने सेन्सर जडान गरिएको छ ।
त्यस्तै केही मूल्यवान् वस्तुहरूमा आरएफआईडी ट्याग वा विशेष ट्रयाकिङ उपकरण राखिएका छन् । पर्यटक प्रवेश गर्ने र निस्कने गेटमा धातु पत्ता लगाउने यन्त्र, झोला स्क्यानर, र कहिलेकाहीँ शारीरिक जाँच समेत गरिन्छ ।
यति धेरै सुरक्षा प्रणाली हुँदाहुँदै पनि गत १९ अक्टोबरमा लुब्रको अपोलो ग्यालरीमा चोरी भयो ।
संग्रहालय स्थानीय समय अनुसार बिहान ९ बजे खुल्छ । १९ अक्टोबरको दिन मानिसहरु संग्रहालय अवलोकन गर्न गइसकेका थिए । त्यसको आधा घण्टामा नै ४ जना चोरहरु गहना चोर्न गए ।
उनीहरुले जम्मा ४ मिनेटमा मूल्यवान र ऐतिहासिक ९ वटा गहनाहरु चोरे । भाग्ने क्रममा एउटा गहना भने बाटैमा खसाए ।
चोरहरु सेन नदी किनारको साइडबाट संग्रहालयमा आएका थिए ।
सफाइ कर्मचारीले जस्तो पहेँलो ज्याकेट लगाएर आएका कारण चोर भन्ने धेरैलाई शंका नै थिएन ।
अनि सामान बोक्ने बास्केट लिफ्ट प्रयोग गरेर चोरहरु दोस्रो तलामा रहेको ग्यालरी अफ अपोलोमा पुगेका थिए । ग्यालरी अफ अपोलोमा तत्कालिन राजपरिवारको २३ गहना संकलन गरिएको थियो ।
दुई जना चोरले ब्याट्रीबाट चल्ने डिस्क कटरको मद्दतले झ्यालको सीसा काटेर गहना भएको ठाउँमा पुगे । त्यहाँ पनि सीसा काटेर भित्र राखेको गहना निकालेका थिए ।
चोरहरुले जम्मा दुईवटा डिस्प्ले केसमा रहेका ९ वटा गहनाहरु चोरेका थिए ।
जसमा राजपरिवारको मुकुट, नेकलेस, कानमा लगाउने गहना आदि छन् । यी सबै १९ औं शताब्दीको हो । यी गहनाहरु फ्रान्सेली राज परिवार वा फ्रान्सेली साम्राज्यको सम्पत्ति हो ।
चोरी भएका गहनामा नेपोलियन तृतीयकी पत्नी महारानी युजिनको ताज । महारानी मेरी लुजको पन्ना हार, महारानी मेरी अमेली र महारानी हर्तेसको निलमको ताज, हार र एउटा बाला रहेको छ ।
यी गहनामा धेरै हीरा र रत्नहरु जोडिएका थिए ।
घटनास्थलमा महारानी युजिनको एउटा ताज भेटिएको छ । जुन फुटेको अवस्थामा भेटिएको थियो ।
उनीहरु बास्केट लिफ्टबाटै भुइँतलामा झरे र दुईवटा स्कुटरमा चढेर भागे । चोरहरुले भाग्ने क्रममा दुईवटा ज्याकेट छाडेर भागेका थिए ।
लुब्र म्युजियमको इतिहासमा यो सबैभन्दा खतरनाक चोरीमध्ये एक हो ।
चोरी भएका गरगहनाहरु फ्रान्सको तत्कालिन राजपरिवार र शासक वर्गको इतिहास थियो । चोरी भएका गहनाहरुको मूल्य १०० मिलियन डलर भन्दा बढी रहेको छ ।
तर ती गरगहनाहरु ऐतिहासिक महत्वको भएका कारण तिनीहरुको मूल्य पैसामा मात्र हिसाब गर्न सकिन्न ।
००००
सीसीटीभी फु्टेजमा नकाब लगाएका चोरहरु ढुक्कसँग म्युजियममा प्रवेश गरेका थिए, सोकेस तोडेका थिए । यो घटनामा कसैलाई चोटपटक र हिंसात्मक घटना भएन । त्यसैले चोरहरु पेशेवर र अनुभवी भएको देखिन्छ ।
चोरहरुले गहना चोर्दाचोर्दै जब म्युजियमको आलार्म बजेको थियो, कर्मचारीहरुले म्युजियमको प्रोटोकलअनुसार सुरक्षाकर्मीलाई खबर गरे । त्यसपछि सुरक्षाकर्मीहरु चोर भएको ठाउँमा पुगेका थिए, तर उनीहरुले चोरलाई पक्राउ गर्न सकेनन् । संग्रहालयका सुरक्षाकर्मीहरु प्रहरी नभई निजी कम्पनीबाट ल्याइएका सुरक्षागार्डहरु थिए । त्यसैले उनीहरु चोरलाई आक्रमण गर्न डराएको हुन सक्ने अनुमान छ ।
म्युजियममा चोरी भएको घटना अनुसन्धानका लागि १०० भन्दा धेरै अनुसन्धानकर्ताको समूह खटिएको छ ।
अनुसन्धानकर्ताहरुले १५० भन्दा बढी डीएनए नमुना, औठाछाप र अरु आवश्यक प्रमाणहरुको अनुसन्धान गरिसके । सीसा फुटाउँदा प्रयोग भएको हात चिन्न उनीहरुले औंठाछापको नमुना र डीएनए परीक्षण गरेका थिए ।
प्रहरीले शंकास्पद २ जनालाई पक्राउ गरेको छ । तर चोरी भएका गरगहना फिर्ता पाउने सम्भावना ज्यादै न्यून रहेको छ ।
लुब्रमा यसअघि भएको चोरी
लुब्र संग्रहालयमा यसअघि सन् १९११ को अगस्ट २० मा पनि चोरी भएको थियो । त्यतिबेला प्रसिद्ध कलाकार लियोनार्दो दा भिञ्चीले बनाएको मोनालिसाको चित्र चोरी हुँदा पनि फ्रान्समात्र नभई विश्वभर हल्लीखल्ली भएको थियो ।
फ्रान्सका अन्तर्राष्ट्रिय सीमा बन्द गरिए, देशभित्रको यातायात व्यवस्थालाई रोकियो । सुरक्षाकर्मीले देशका कुना काप्चामा पनि खानतलासी गरे । तर लुब्र संग्रहालयबाट चोरीएको मोनालिसाको तस्वीर कहिँ पनि फेला परेन ।
त्यो चित्र चोर्ने व्यक्ति थिए, इटालीका नागरिक विन्सेन्जो पेरुजिओ । उनी लुब्र म्युजियममा नै कलाकृतिहरुको रसायनले सरसफाइ गर्ने व्यक्ति थिए ।
उनले त्यो चित्र आफ्नो देश इटली लगेका थिए । दुई वर्षसम्म पनि उनले मोनालिसाको चित्र चोरेको कसैले पत्तो पाएन ।
पछि पेरुजिओले मोनालिसालाई लिओनार्दो दा भिन्चीको शहर फ्लोरेन्स पुर्याए । त्यहाँ गएर बिक्री गर्न खोज्दा उनी पक्राउ परे ।
उनले न्यायालयमा बयान दिँदा आफू ठूलो देशभक्त भएकाले आफ्नो देशको अमूल्य सम्पत्तिबाट अर्को देशले फाइदा उठाएको देख्न नसकेर चित्र चोरेको बयान दिएका थिए ।
चोरीका कारण केही सजाय पाए पनि पेरुजिओलाई पछि इटलीले देशभक्त नागरिकको रुपमा सम्मान गर्यो । मोनालिसाको तस्वीरलाई ठूलो राष्ट्रिय सम्मानका साथ इटालीका विभिन्न शहरमा प्रदर्शन गरिएको थियो ।
दुई वर्ष चार महिनापछि सन् १९१३ डिसेम्बर ३१ का दिन पुन त्यो चित्र लुब्र संग्रहालयमा फिर्ता पठाइएको थियो ।
चोरी हुनु अघिसम्म मोलालिसा चित्र त्यति प्रसिद्ध थिएन । चोरी भएपछि भने यसको प्रसिद्धी निकै बढेको थियो । चित्र हेर्न आउनेहरु पनि असाध्यै बढेका थिए ।
हालसालै फ्रान्सका अरु दुईवटा म्युजियममा पनि चोरी भएका छन् ।
लुब्र संग्रहालयमा गहना चोरी भएकै दिन केही घण्टापछि प्रसिद्ध दार्शनिक डेनी डिडेरोको नाममा स्थापित संग्रहालयबाट सुन र चाँदीका २ हजार सिक्का चोरी भएका थिए ।
यसको मूल्य करिब १ लाख डलर रहेको छ । चोरीएका सिक्काहरु सन् १७९० देखि १८४० को बीचको अवधिका थिए ।
गत महिना पेरिसको न्याचुरल हिस्ट्री म्युजियमबाट ६ वटा सुनका डल्लाहरु चोरी भएका थिए । त्यसको मूल्य करिब १५ लाख डलर रहेको छ । यो म्युजियम चोरीको अभियोगमा स्पेनको बार्सिलोनामा एक चिनियाँ महिला पक्राउ परेकी छन् ।
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?






-1765982600.jpg)


