को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
एक जना मजदुर नेता, जो सडकमा मजदुरको पक्षमा बोल्दाबोल्दै ढले र मृत्युवरण गरे ।
यो दुःखद् घटना हो, भैरहवाको ।
बिजुलीको डेडिकेटेड लाइनको बक्यौता नतिरेको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले भैरहवाको २ दर्जन उद्योगको लाइन काटेको छ । त्यसैले उद्योगहरु बन्द छन् ।
उद्योगको लाइनको विरोधमा भैरहवामा मजदुरहरुले बिहीबार बिहानैदेखि आन्दोलन सुरु गरेका थिए । भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र अगाडि एक घण्टा धर्नाको कार्यक्रम थियो ।
मजदुरको ठूलै उपस्थिति थियो । आन्दोलनको क्रममा ‘कुलमान कानुन मान’, डेडिकेटेडको बिल फिर्ता ले जस्ता नारा लागिरहेको थियो ।
यो आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघको समर्थन थियो । सँगै एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) पनि उद्योगी र मजदुरको पक्षमा उभिएको थियो । विरोध कार्यक्रममा जिफन्टका उपाध्यक्ष कमल गौतम पनि पुगेका थिए । उनी रूपन्देहीकै स्थानीय हुन् ।
केहीबेर नाराबाजी रोकेर उनले भाषण सुरु गरे । उनले सुरुमा लामो समयदेखि महसुल विवादका कारण मजदुरले ठूलो मूल्य चुकाउनुपरेको बताए ।
सरकार र प्राधिकरणलाई तत्काल समाधानमा लाग्न आग्रह गरे । उनले यो मजदुर आन्दोलनलाई सांघातिक आन्दोलन भएको बताए । २५ हजार श्रमिकको रोजगारी गुमेको भन्दाभन्दै उनी असन्तुलित भए र ढलिहाले ।
लगत्तै मजदुर र प्रहरीले उनलाई उद्धार गरेर मणिग्रामस्थित क्रिमसन अस्पताल लगेका थिए । अस्पताल पुगेपछि उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार गौतम ३० वर्षदेखि मजदुर आन्दोलनमा सक्रिय थिए । विगतमा उनी सामुदायिक विद्यालयका शिक्षक थिए । त्यसैबेलादेखि उनी जिफन्टमा जोडिएर काम गरिरहेका थिए ।
भैरहवाका धेरै उद्योगमा मजदुरले काम गर्न नपाएपछि गौतम उनीहरुको पक्षमा आन्दोलनमा गएको अध्यक्ष श्रेष्ठले बताए । मजदुरको पक्षमा बोल्दा बोल्दै बितेको भन्दै श्रेष्ठले गौतमको योगदानलाई सधैं सम्झिनुपर्ने बताए ।
रुपन्देहीका २१ वटा उद्योग र नेपाल विद्युत् प्राधिकरणबीच २०७७ सालदेखि बक्यौता विवाद छ । विद्युत् काटिएका कारण अहिले पञ्चकन्या स्टिल, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड्स, घराना फुड्स, गोयनका फुड्स, भलबारी चामल मिललगायत उद्योग बन्द छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



