नेभिगेशन
3 Minute

को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?


एक जना मजदुर नेता, जो सडकमा मजदुरको पक्षमा बोल्दाबोल्दै ढले र मृत्युवरण गरे । 

यो दुःखद् घटना हो, भैरहवाको । 

बिजुलीको डेडिकेटेड लाइनको बक्यौता नतिरेको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले भैरहवाको २ दर्जन उद्योगको लाइन काटेको छ । त्यसैले उद्योगहरु बन्द छन् । 

उद्योगको लाइनको विरोधमा भैरहवामा मजदुरहरुले बिहीबार बिहानैदेखि आन्दोलन सुरु गरेका थिए । भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र अगाडि एक घण्टा धर्नाको कार्यक्रम थियो । 

मजदुरको ठूलै उपस्थिति थियो । आन्दोलनको क्रममा ‘कुलमान कानुन मान’, डेडिकेटेडको बिल फिर्ता ले जस्ता नारा लागिरहेको थियो ।  

यो आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघको समर्थन थियो । सँगै एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) पनि उद्योगी र मजदुरको पक्षमा उभिएको थियो । विरोध कार्यक्रममा जिफन्टका उपाध्यक्ष कमल गौतम पनि पुगेका थिए । उनी रूपन्देहीकै स्थानीय हुन् ।

केहीबेर नाराबाजी रोकेर उनले भाषण सुरु गरे । उनले सुरुमा लामो समयदेखि महसुल विवादका कारण मजदुरले ठूलो मूल्य चुकाउनुपरेको बताए । 
सरकार र प्राधिकरणलाई तत्काल समाधानमा लाग्न आग्रह गरे । उनले यो मजदुर आन्दोलनलाई सांघातिक आन्दोलन भएको बताए । २५ हजार श्रमिकको रोजगारी गुमेको भन्दाभन्दै उनी असन्तुलित भए र ढलिहाले । 

लगत्तै मजदुर र प्रहरीले उनलाई उद्धार गरेर मणिग्रामस्थित क्रिमसन अस्पताल लगेका थिए । अस्पताल पुगेपछि उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।  

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार गौतम ३० वर्षदेखि मजदुर आन्दोलनमा सक्रिय थिए । विगतमा उनी सामुदायिक विद्यालयका शिक्षक थिए । त्यसैबेलादेखि उनी जिफन्टमा जोडिएर काम गरिरहेका थिए । 

भैरहवाका धेरै उद्योगमा मजदुरले काम गर्न नपाएपछि गौतम उनीहरुको पक्षमा आन्दोलनमा गएको अध्यक्ष श्रेष्ठले बताए । मजदुरको पक्षमा बोल्दा बोल्दै बितेको भन्दै श्रेष्ठले गौतमको योगदानलाई सधैं सम्झिनुपर्ने बताए ।  

रुपन्देहीका २१ वटा उद्योग र नेपाल विद्युत् प्राधिकरणबीच २०७७ सालदेखि बक्यौता विवाद छ । विद्युत् काटिएका कारण अहिले पञ्चकन्या स्टिल, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड्स, घराना फुड्स, गोयनका फुड्स, भलबारी चामल मिललगायत उद्योग बन्द छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute