'चुनाव जितेर सत्तामा गइहालौं भनेर पार्टी खोलेको होइन'
बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत अब राजनीतिमा आउँदैछन् । उनीसहितको संलग्नतामा गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको छ ।
यो पार्टीले आफूलाई लोकतान्त्रिक प्रगतिशील पार्टी भनेको छ । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक समाजशास्त्र अध्यापन गराउने दिनेश प्रसाईं यस पार्टीको अध्यक्ष छन् । गतिशील लोकतान्त्रिक पार्टी स्थापना गर्नुको उद्देश्य, पार्टीको योजना र नेपालका पुराना राजनीतिक दलबारे प्रसाईंसँग नेपाल शोका विनोद ढकालले गरेको कुराकानीको सारसंक्षेप :
म २०६० सालदेखि नै सामाजिक राजनीतिक आन्दोलन/अभियानहरुमा संलग्न भएकै मान्छे हुँ । २०६२/६३ सालतिर हामीले शान्ति, मानव अधिकार र लोकतन्त्र परिपूरक हुन्, एउटा बिना अर्को रहन सक्दैन भनेर अभियान चलाएका थियौं ।
त्यसबीचमा मैले ५ वर्ष लगाएर भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीतिक समाजशास्त्रमा पीएचडी गरेँ ।
सन् २०१० देखि पोहोरसम्म त्रिभुवन विश्वविद्यालयको एमफिल पीएचडीमा राजनीतिक समाजशास्त्र अध्यापन गराएँ ।
हामी धेरै समय राजनीतिक दलहरु नै सुध्रिनुपर्छ भनेर बस्यौं, किनभने लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण संस्था राजनीतिक दलहरु नै हो । ती संस्थागत रुपमा राम्रो हुँदा लोकतन्त्रलाई राम्रो हुन्थ्यो भनेर आग्रह गर्यौं । तर बाहिर बसेर सुध्रिनुपर्छ सुध्रिनुपर्छ भनेर मात्र हुन्न रहेछ ।
अब हामीले देखेको गतिलो राजनीतिक दल कस्तो हुनुपर्छ त आफैं पनि कोशिस गरौं न त भनेर हामीले एक दुई वर्षदेखि छलफल गरिरहेका थिर्यौं । जेनजी मुभमेन्टले धेरै कुरा बदलिदियो ।
हाम्रो लक्ष्य आउँदो माघमा दल दर्ता गर्ने र २०८४ को चुनावका लागि तयारी गर्ने भन्ने थियो । तर परिस्थितिले गर्दा हामीले चाँडै दल दर्ता गर्नुपर्यो ।
मैले एक वर्षजति विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य भएर काम गरे ।
विवेकशील नेपाली दलका तत्कालिन अध्यक्ष उज्जव थापा र म बुढानीलकण्ठ स्कुलका विद्यार्थी हौं । म उहाँ भन्दा दुई ब्याच सिनियर थिएँ ।
उनले विवेकशील नेपाली दल खोल्दा पनि मैले सपोर्ट गरेको हुँ ।
तर विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने समयमा उज्जव थापाले विवेकशील पार्टीमा युवाहरु बढी रहेको र साझा पार्टीमा पाको पुस्ता बढी भएकाले केही असहज हुन सक्छ, तपाई आएर सहयोग गरिदिनुपर्यो भनेपछि म एक वर्ष केन्द्रीय सदस्य भएर बसेँ ।
तर त्यहाँभित्र केही साथीहरुको लोकतन्त्रलाई हेर्ने स्पष्ट दृष्टिकोण नदेखेपछि मैले एक वर्षपछि त्यो पार्टी छाडेँ र अहिले अर्को पार्टी गठन गरेका छौं ।
यो पार्टीमा बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टी गठनका लागि मैले पनि उहाँलाई आग्रह गरेको हुँ र उहाँले पनि मलाई आग्रह गर्नुभएको हो ।
वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयर आफ्नो ढंगले चल्छ, म संलग्न भइरहन पर्दैन, अब मुलुक र देशका लागि केही गरौं भन्ने हिसाबले पार्टीमा आउनुभएको हो ।
हाम्रो राजनीतिले कहिल्यै पनि मुलुकमा दिगो रोजगारी र उद्यमशीलता विकास गर्न सकेन, त्यसैले हरेक १०/१० जस्तो समयको फरकमा आन्दोलन भइरह्यो । अब त्यसलाई सच्याउनुपर्छ ।
दिनेश प्रसाईंसँगको पूरा अन्तर्वार्ता यहाँ हेर्नुहोस्
दलभित्रै लोकतन्त्र छैन, त्यसैले अध्यक्षमा दुई कार्यकाल
'सिक्ने भनेकै फेल भएर हो, स्कुलमा फेल हुनै दिँदैन'
रास्वपाले कसरी छान्दैछ १६४ उम्मेदवार ?
चिनियाँ रेल आए भारत हेरेर बस्दैन
'वैशाख–जेठमा चुनाव, प्रतिशोधले बंगलादेश बन्छौं'








