नेभिगेशन
Podcasts
पुकार बमसँग अन्तर्वार्ता

'बल कुलमानजीको कोर्टमा छ'

जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सबै वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको छ । त्यसका लागि नेता पुकार बमको नेतृत्वमा एउटा कार्यदल गठन गरेको छ ।

कार्यदलले विभिन्न राजनीतिक शक्ति र व्यक्तिहरुसँग छलफल गरिरहेको छ । यस क्रममा रास्वपा र कुलमान घिसिङ समूहबीच श्रृङ्खलावद्ध छलफल भइरहेको छ । तर सहमति हुन सकेको छैन ।

यसै विषयमा रास्वपा कार्यदलका संयोजक बमसँग नेपाल शोका राजकुमार श्रेष्ठले गरेको कुराकानी : 

वैकल्पिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले तपाई‌ंकै नेतृत्वमा कार्यदल बनाएको थियो । कहाँ पुग्यो तपाईंहरुको छलफल ?

मेरो लागि हिजोको दिनमा विवेकशील पनि पार्टी थिएन, अभियान थियो । अहिले रास्वपासम्म आउँदै गर्दाखेरि मेरा लागि त्यो अभियान नै हो । त्यो अभियानमा जोडिएका साथीहरु र नयाँ आउने साथीहरुले एक ठाउँमा ल्याउनुपर्छ, सम्वाद गर्नुपर्छ भनेर रास्वपाले एउटा कार्यदल बनायो ।

कार्यदलमा गणेश कार्की, सोविता गौतम, ज्वाला संग्रौला, क्रान्तिशिखा धिताल पनि हुनुहुन्छ । हामीले अहिलेसम्म हर्क साम्पाङजीसँग प्रत्यक्ष सम्वाद गर्न सकेका छैनौं । उहाँबाहेक तपाई हामीले नाम सुनेका रक्षा बम, सुदन गुरुङ, भावना राउत, युजन राजभण्डारी, प्रदीप ज्ञवाली, आदित्य कर्ण, शिव यादव, केपी खनाल, पुरुषोत्तम यादव, बब्लु गुप्ता, डा. बाबुराम भट्टराई, रेशम चौधरीहरु सबैसँग सम्वाद गरेका छौं ।

कुलमानजीसँग त तीनचोटी होला । उहाँको सेकेन्ड–थर्ड लेयरसँग धेरै सम्वाद गरेका छौं । 

यो सम्वाद, सबैलाई रास्वपामा ल्याउनका लागि हो कि नयाँ वैकल्पिक शक्ति बनाउन हो ?

संवाद गर्दै गर्दा हामीले रास्वपालाई मन पराउने, रास्वपाको मुद्दा विचार सिद्धान्तसँग मिल्नेसँग मात्र होइन, हामीभन्दा फरक विचार भएका साथीहरुको पनि धारणा बुझ्ने कोशिस गर्‍यौं । त्यसपछि कम्तीमा हामीसँग नजिक भएका, मुद्दा विचार र सिद्धान्त मिल्नेहरु एकठाउँमा आउनुपर्छ भनेर लागेका छौं ।

किनभने हिजोको दिनमा चौथो शक्ति रास्वपा हो । वैकल्पिक धारको प्रमुख शक्ति पनि रास्वपा नै हो । त्यसैले वैकल्पिक धारको अभिभावकत्व लिनुुपर्छ, हामी नै सबैभन्दा उदार हुनुपर्छ भनेर अगाडि बढेको हो ।

वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्छ भन्नेमा फरक मत राखेको देखिएन । तर कसरी भन्ने मिलेको देखिएन । कहाँ अडिएको छ सम्वाद ?

हामीले हेर्दा त मिलिरहेकै देखेका छौं । अहिलेलाई स्पष्ट भन्नुपर्छ, कम्तीमा रास्वपा, कुलमानजीको टिम र बालेनजीको टिमहरु एक ठाउँमा आउनुपर्छ भनेर लागियो । 

गणेश (कार्की) जीलाई बालेनजी र उहाँको टिमसँग सम्वाद गर्ने जिम्मेवारी दिएका थियौं । सम्वादका क्रममा बालेनजीको स्पष्ट आशय के पायौं भने ठूलो शक्ति बन्नुपर्छ, एकल बहुमत ल्याउनुपर्छ । यसका लागि जसले विचार, व्यवहार र सिद्धान्त मिल्ने शक्तिहरु एक ठाउँमा ल्याउनसक्छ, उहाँहरुलाई मेरो समर्थन हुन्छ । 

यसरी हेर्दा ‘म पार्टी खोल्दिनँ, अध्यक्ष बन्दिन प्रधानमन्त्री पनि बन्दिन’ भनेर उहाँले बाटो क्लियर गरिदिइसक्नुभयो । 

Pukar-Bam-4-1762435719.jpg
धनगढीका मेयर गोपाल हमालजीसँग पनि हामी निरन्तर छलफल, सम्वादमा छौं । उहाँले पनि प्रत्यक्ष रुपमा राजनीतिमा आउने चासो छैन, तर चेन्जका लागि कंक्रिट रुपमा कोही आउँछ भन्ने समर्थन हुन्छ भन्नुभएको छ ।

नेगोसिएसन अगाडि बढ्दै जाँदा हाम्रो चिन्ता र चासो कहाँ रह्यो भने रास्वपा एउटा संगठन हो । ४०० भन्दा बढी पालिकाहरुमा कमिटी गठन भइसकेको छ । माथिदेखि तलसम्म अधिवेशनहरु भएर चुनिएर आएका साथीहरु छन् । विधान छ, विधि छ । भोलि साथीहरु यहाँ आउँदा त त्यो विधि फलो गर्नुपर्ला ।

त्यसैले स्वर्णिमजी र म, रवि लामिछानेसँग करिब तीन घण्टा जति बस्यौं । त्यसक्रममा उहाँले कुलमानजीहरुको टोलीबाट लिखित रुपमा प्रस्ताव आयो भने टेबलमा बस्न सक्छौं । विधान, पद्धति र केन्द्रीय समितिमा भएका साथीहरुले डिसिजन गर्छन् भने म जस्तो सुकै त्याग गर्न तयार छु भन्नुभयो । तर केही साथीहरुले अध्यक्षभन्दा तल माथि हुँदैन भन्न थालेपछि हामीले मिडल ग्राउन्ड खोज्नुपर्‍यो ।

अहिले कुलमान घिसिङ र तपाईँहरुको टिममा भइरहेको सम्वाद के हो त ?

कुलमानजीको टिममा जो–जो भन्नुहुन्छ, सबैसँग कुराकानी भइसक्यो । उहाँहरुले कुलमानजीले डिसाइड गर्नुहुन्छ भन्नुभयो । कुलमानजीसँग कुरा गर्दा साथीहरुबाट यस्तो यस्तो आउँदैछ भन्नुभयो । त्यसपछि कुलमानजीसँग निर्णायक वार्ता गरौं भनेर उपसभापति स्वर्णिम वाग्लेसहित सम्वाद गर्‍यौं ।
 
प्रस्ताव भनेर बाहिर अनेक चर्चा भइरहेको छ, तपाईंहरुको छलफल भइरहेको के हो ? 

समान हैसियतमा रवि लामिछाने र कुलमान घिसिङ संयोजकको हिसाबमा रहने । कुलमानजीलाई चुनावी कमान्डर र प्रधानमन्त्रीको क्यान्डिडेट बनाएर जाने । चुनाव लगत्तै अधिवेशन गरेर एक व्यक्ति एक पदमा जाने भन्ने हाम्रो प्रस्ताव हो ।

किनभने बालेनजीले त्यो रेसमा सहभागी छैन भनेपछि सोलोडोलो कुलमानजी र रविजीमै कुरा भयो । रविजीको केस एउटा दिनमा टुंगोमा पुग्छ, उहाँ बाहिर आउनु हुन्छ । त्यो बेला एकजना प्रधानमन्त्री, एकजना अध्यक्ष भएर चलाउन मिल्छ । अब बल कुलमानजीको कोर्टमा छ ।

एउटा समय त मुद्दा नटुंगिएसम्म रविजी कार्यकारी भूमिकामा नरहने, कुलमानजी सभापति हुने सहमति भयो, भयो भन्ने आएको थियो । तर रास्वपाका नेताहरुले सभापति आयात गर्दैनौं भनेपछि बिग्रिएको हो ?

छलफलमा आएका धेरै प्रस्तावमध्ये यो पनि एउटा हो । वैकल्पिक शक्तिहरु एक ठाउँमा ल्याउन हामी उदार पनि छौं । तर यसको अर्थ सबै चिज जिम्मा लाउने भन्ने पनि हुँदैन । जहाँसम्म सभापति आयात गर्दैनौं भनेको विषय छ, स्वर्णिमजी र सोविताजीको  स्टेटमेन्ट आएपछि मैले फोन गरेर सबै ब्रेक थ्रू भइरहेको बेलामा आयातित चाहिँ नभनिदिएको हुन्थ्यो भनेर भनेँ । तर उहाँहरुको आशय विधि पद्धतिलाई मान्नुपर्छ भन्ने हो ।

कुलमानजी र रविजीसँग बस्दा पनि मैले एउटा कुरा प्रष्ट भनेको छु, रविजीले भन्दैमा वा ४/५ जना नेताले भन्दैमा कुलमानजीलाई पार्टीले अध्यक्ष स्वीकार गर्छ भन्ने होइन । त्यसैले हामीले मिडिल ग्राउण्ड खोज्नुपर्छ । त्यसैले हामीले दुई जना संयोजक, कार्यकारी अधिकार बराबर र, अन्य कुराहरु विधि सम्मत रुपमा गरौं भनेका हौं ।

यो सम्वादका क्रममा कुलमानजीले मुद्दा नटुंगिए सम्म रविलाई सभापति मान्दिन भनेको हो या होइन ?

होइन त्यो छैन । त्यसैको काउन्टर चाहिँ मैले सार्वजनिक गरेको सातबुँदे हो । मैले तर्साएको होइन, तर अहिले ७७ जिल्लामा सुदनजी, सुमनाजी सबैमाथि किटानी जाहेरी गएको छ । अहिले जेनजीको सरकार भएर पो दर्ता नभएको हो । परिस्थिति फेरिएको दिनमा पुराना दलहरु आए भने छाड्छन् ?

कुलमानजीकै हकमा भ्रष्टाचारको मुद्दा लाग्ला । संगठित अपराधको मुद्दा लाग्ला । ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुलमा कति धेरै  कन्ट्रोभर्सी आइराखेको छ त्यसको मुद्दा लाग्ला । त्यो बेला तपाई पनि छोड्नुस् भनेर अर्को ल्याउने ? त्यसपछि सन्दुक रुइतलाई अध्यक्ष मान्दिनु पर्ने हो ? एकदम चोखो भनेर हर्कजीलाई अध्यक्ष मान्दिनु पर्ने हो ?

किनभने जुन अवस्था रवि लामिछानेले फेस गरिराख्नुभएको छ, सिमिलर कन्डिसन फेस गर्दै गयो भने सबैले अध्यक्ष छोड्दै जाने, अर्को ल्याउँदै गर्ने हो ? यही विधि पद्धति बनाउने हो भनेर मैले प्रश्न गरेको हुँ ।

अनि, कुलमान, रवि र बालेन पालैपालो प्रधानमन्त्री हुने प्रस्ताव चाहिँ के हो नि ?

एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ता २५ मिनेटको छ, त्यसको २५ सेकेन्डलाई भाइरल बनाइयो ।

वार्ता संयोजकको हिसाबले आएका कुराहरु जस्ताको तस्तै राख्नुपर्‍यो भनेर मिलन बिन्दु खोज्दै गर्दा आएको प्रस्तावहरुमा यस्तो पनि छ है भनेको मात्र हुँ ।

मिलेर गएपछि बहुमत त आउला । त्यो बेला दलको नेता त चुन्नुपर्ला ।

अहिले रेसमा देखिएको भनेको कुलमानजी र रविजी हो । बालेनजीले म केही पनि बन्दिन भनिसक्नु भा’छ । उहाँले नचाहनु होला, तर उहाँको (मेयरको) कार्यकाल सकिसकेपछि उहाँको टिमले उहाँको नेतृत्व पनि हेर्न चाहला ।

त्यसैले कलेक्टिभ लिडरसिपमा जाँऔं । डेढ दुई वर्ष कुलमानजीलाई हेरौं । सबै क्लिन भएर आइसकेपछि रविजीले पनि लिडरसिप देखाउने अवसर आउनुपर्छ । त्यसबेला साथीहरुले बालेनजीलाई पनि हेरौं भन्नुलाई नाजायज त भन्न मिलेन नि त । यसरी भनेको कुराको २५/४५ सेकेन्डलाई भाइरल बनाइयो ।

त्यसो भने अहिले तपाईहरुले फाइनल गर्न चाहेको प्रस्ताव चाहि चारबुँदे हो, जसमा कार्यकारी अधिकार बराबर रहने गरी रवि र कुलमान पार्टी सभापति, अनि ... ?  

सभापति होइन, संयोजक । प्रधानमन्त्रीको क्यान्डिडेटको रुपमा कुलमान घिसिङलाई अगाडि सार्ने । रविजीको मुद्दा किनारा लाग्नेबित्तिकै विधान सम्मत वैधानिक तरिकाले त्यो अधिवेशन गर्ने र एक व्यक्ति एक पदमा जाने ।

यसो गर्दा एउटा संसदीय दलको नेता हुन्छ, प्रधानमन्त्री हुन्छ । अर्को एक जना पार्टी अध्यक्ष हुन्छ । भोलिको दिनमा अध्यक्ष पनि मै बन्छु, प्रधानमन्त्री पनि मै हुन्छु भन्दा गाहो हुनसक्छ । त्यसलाई लिखित रुपमै जानुपर्छ भन्ने पनि छ ।

फेरि यो पुकार बमको प्रस्ताव होइन । मिलन बिन्दु खोज्ने क्रममा आएका प्रस्तावहरु लेख्ने क्रममा बनेको हो । केही प्रस्ताव कुलमानजी लगायतका साथीहरुबाट आयो, केही जेनजी लगायतका साथीहरुबाट पनि आएको हो ।

जे जे भनेपनि यो हिजो नेकपा हुँदा प्रचण्ड र केपी ओली, अनि पाँचदलको गठबन्धनमा प्रचण्ड, देउवा र माधव नेपालको जस्तो भागवण्डा त भयो नि । रबिलाई पनि प्रधानमन्त्री नै चाहिने, अध्यक्ष नै चाहिने ।कुलमानलाई पनि प्रधानमन्त्री नै चाहिने, अध्यक्ष नै चाहिने । तपाईंहरु र तपाईंहरुले पुराना दल भनेकहरुमा के फरक भयो र ?

एकदमै गहिरो र जवाफबाट कसैले नि भाग्न पाउँदैन । मैले सुरुमै पनि भनेको थिएँ कि विवेकशील, विवेकशील साझा मेरा लागि कहिले पनि पार्टी थिएन । रास्वपामा आउँदै गर्दाखेरि पनि मेरो लागि पार्टी होइन, मेरो अभियान हो । जसले आगामी दिनहरुमा चाहिँ एउटा उज्यालो भविष्य देखाओस् ।

तपाईंले भनेको कुराहरुमा हामी फरक कहाँ हुने भन्दा अन्तिममा नियतमै रहेछ । अनेस्टी नै हो । त्यो भन्दा बाहेकमा केही पनि छैन ।

हिजोको दिनमा उहाँहरुले गरेको प्राक्टिस राजनीति शास्त्रको विद्यार्थीका हिसाबले भन्दा एक हदसम्म अप्रोच गलत थिएन । नियत गलत भयो । तपाईँले भन्न सक्नुहुन्छ नियत फेरि बिग्रिन सक्छ, जसको पनि बिग्रिन सक्छ ।

यसका लागि रास्वपा या वैकल्पिक भनेका साथीहरुमा नेतामा भन्दा बढी जिम्मेवारी छ । नेता बनाइदिने मान्छेहरु साथीहरु सुभेच्छुकहरु सबभन्दा बढी पावरफुल हुनुपर्छ । त्यसले मैले अभियानकै रुपमा साथीहरुसँग भनिरहेको छु, अब ओलीजी, देउवाजी, प्रचण्डजीलाई गाली दिन बन्द गरौं । 

वैकल्पिक र नयाँ भनिएका टाउकेहरुलाई खबरदारी गर्ने, औला उठाउने र प्रश्न गर्नेतिर लगाउनुपर्‍यो । किनभने म ठुलो, तिमी सानो भन्ने खालको इगो, एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने अवस्था मैले वार्ताका क्रममा देखेँ ।

पुराना पार्टीका नेताहरु बरु मिलिहाल्न सक्ने रहेछन् । हेर्नुस् त, ८ दल एक ठाउँमा आइहाले । तर वैकल्पिक, नयाँ भनेका साथीहरु, जो नेतृत्व गरिराख्नुभएको छ, उहाँहरुमा अलिकति अहमता, आफू भन्दा बाहेक अरुलाई एक्सेप्ट नगर्ने बिडम्बना छ । 

त्यसैले तपाईंले जे भन्नुभएको छ, त्यसको जवाफ अनेस्टी नै हो, नैतिकता नै हो । सत्तामा गइसकेपछि, पावर पुगेपछि अलिकति पावर करप्ट्स हुने रहेछ । त्यसलाई सुधार्न वैकल्पिक अभियानमा लागेको, यसमा विश्वास गरेका, सचेत पुस्ताले आवाज उठाउनुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Podcasts