पत्नीको उपचार खर्च नपाएको झलनाथको गुनासो
भदौ २४ गते विहानैदेखि राजनीतिक दलको कार्यालय र नेताहरुको घरमा तोडफोड सुरु भयो ।
डल्लुस्थित घरमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि एउटा समूह आफ्नो घरतिर आइरहेको सूचना पाए । तर उनले गम्भीर रुपमा लिएनन् ।
केहीबेरमा सुरक्षाकर्मीहरुले प्रदर्शनकारी आइसकेको भन्दै घरबाट निस्कन आग्रह गरे । यसो तल झरेका खनाललाई नेपाली सेनाको टोलीले तानेर लगिहाल्यो ।
घरमा भने तोडफोड भयो । आगजनी गरे । खनालका छोरा र श्रीमती घरमै थिए । छोरा निर्भिक कसोकसो बचे, तर खनालबी पत्नी रविलक्ष्मी चित्रकार बाहिर निस्किन पाइनन् ।
दिउँसो नेपाली सेनाको टोली अर्को घरबाट भर्याङ लगाएर खनालको घरमा पस्यो । बेहोस अवस्थामा भेटिएकी उनको शरीरको केही भाग समेत जलेको थियो ।
तत्काल कीर्तिपुर अस्पताल लगियो । उपचारका क्रममा उनको बायाँ हात समेत काटियो ।
त्यसपछि थप उपचारका लागि भारत लगिएको छ । उनको अहिले भारतकै एपोलो अस्पतालमा भइरहेको छ ।
रविलक्ष्मी प्राध्यापक समेत हुन् । उनले चार दशकभन्दा लामो समय अमृत साइन्स क्याम्पस (अस्कल) मा भौतिक शास्त्र पढाएकी थिइन् । आफ्नो प्राध्यापकको स्वास्थ्य अवस्थाबारे सरकारले सोधीखोजी समेत नगरेको खनालको गुनासो छ ।
‘सरकारले जेन–जी आन्दोलनका हत्या र घाइतेहरूको छानबिन, शहीद घोषणा र निःशुल्क उपचारको कुरा गर्यो । तर प्रधानमन्त्रीको घोषणामा रविलक्ष्मी चित्रकारलाई किन बिर्सियो ? प्रधानमन्त्रीलाई सोध्छु— उहाँ घाइते हुनुहुन्छ कि हुनुहुन्न ? उपचारको दायित्व सरकारको छ कि छैन ? आजसम्म एक शब्द सोधिएको छैन, कसैलाई पठाइएको छैन, खर्चबारे पनि चासो छैन’, उनले भने ।
एमालेको अध्यक्ष भइसकेका खनाल अहिले नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध छन् । इलामका खनाल पटकपटक सांसद भए, २०६७ माघदेखि २०६८ भदौसम्म गरी ६ महिना प्रधानमन्त्री पनि थिए । तर खनालले पछिल्लो समय सार्वजनिक रुपमै आफ्नो आर्थिक अवस्था राम्रो नभएको बताउने गरेका छन् । २०७८ सालमा खनालले भारतमा मिर्गौला प्रत्यारोप गराएका थिए, त्यसबेला पनि सरकारले ८१ लाख रुपैयाँ उपचार खर्च व्यहोरेको थियो ।
खनालका अनुसार यो पटक रविलक्ष्मीलाई एयर एम्बुलेन्सबाट भारत लैजाने बेला समेत आर्थिक समस्या भएको थियो । कतैबाट सहयोग नपाएको त्यो बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले साथीभाइलाई भनेर सहयोग गरेका थिए ।
खनालले इलाममा भएको पुख्र्यौली सम्पत्तिमध्ये ५५ रोपनी सरकारलाई दिएका थिए । त्यहाँ सीटीइभिटीको कार्यालय बनेको छ । डल्लुमा भएको घर, भदौ २४ मा जल्यो ।
श्रीमती एपोलोमा अस्पतालमा उपचाररत छन् । उपचारको दायित्व सरकारले नलिएको खनालको गुनासो छ ।
‘सयौं रोपनी जग्गा छैन, ७० रोपनी थियो– ५५ रोपनी सरकारलाई दिएँ । इलामको सिटीइभिटी हेर्नुस्, प्रधानमन्त्रीज्यु । यस्तो व्यक्तिको श्रीमती घाइते होइनन् र ? उपचार सरकारको दायित्व होइन र ?’ खनालले भने ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



