विवेकशील साझा पार्टी रास्वपामा एकीकरण हुने
विवेकशील साझा पार्टी अब राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण हुने भएको छ ।
विवेकशील साझा पार्टीको मंसिर १० गते बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको हो ।
पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारका अनुसार आगामी चुनावबाट पहिलो शक्ति हुने लक्ष्यसहित रास्वपासँग एकीकरण गरिएको हो ।
पार्टी एकता घोषणा आउँदो आइतबार राष्ट्रिय सभागृहमा हुनेछ । एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वबीचको उच्च समझदारीमा हुने भनिएको छ ।
पार्टीका प्रवक्ता आशुतोष प्रधानका अनुसार पार्टीका संस्थापक उज्वल थापाको योगदान र 'विवेकशील आन्दोलन'लाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने सहमतिमा दुई दलबीद्ब एकीकरण भएको हो ।
२०६९ सालमा स्थापना भएको विवेकशील नेपाली दल सामाजिक आन्दोलनमा सक्रिय थियो । यो पार्टीका कार्यकर्ताहरु नेपाल बन्दको दिन नेपाल खुला छ भनेर प्लेकार्ड बोकेर सडक प्रदर्शन गर्थे । उसले अन्य सामाजिक मुद्दामा पनि रचनात्मक तरिकाले विरोध प्रदर्शन र सरकारलाई खबरदारी गर्थ्यो ।
२०७० सालको संविधानसभा चुनावमा यो पार्टीका धेरै नेताले काठमाडौंबाट उम्मेदवारी दिएका थिए । तर जित हासिल गर्न सकेनन् । २०७४ सालको स्थानीय तह चुनावमा विवेकशील पार्टीबाट रञ्जु दर्शनाले काठमाडौंको मेयरमा प्रतिस्पर्धा गरेर २३ हजार ४३९ मत ल्याएकी थिइन् ।
पछि यो पार्टी रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकीकरण भएपछि विवेकशील साझा पार्टी बनेको थियो । तर दुई पार्टीबीच एकीकरण भएपछि विवाद बढ्दै गयो । पार्टी नै विभाजित हुन पुग्यो । पछि रवीन्द्र मिश्र पनि विवेकशील साझाको एउटा समूह लिएर राप्रपामा गए ।
अरु नेताहरु पनि अन्य पार्टीमा गएका र कतिपय निष्क्रिय बसेका कारण विवेकशील साझा पार्टी कमजोर हुँदै गएको थियो । यो पार्टीमा समीक्षा बाँस्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी भने २०७९ असारमा सञ्चारकर्मी रवि लामिछानेको सभापतित्वमा गठन भएको थियो । विवेकशील स्कुलिङबाट राजनीतिमा लागेकाहरु धेरै जना त्यतिबेला रास्वपामा गएका थिए ।
२०७९ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा यो पार्टीका २० सांसद चुनिए । पछि तनहुँमा भएको उपचुनावमा रास्वपाबाटै स्वर्णिम वाग्लेले जितेपछि २१ सांसद थिए ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



