नेभिगेशन
विश्व

दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट

भारतको एक भव्य र महत्वाकांक्षी सडक आयोजना हो दिल्ली–मुम्बई एक्सप्रेस वे । 

राजधानी दिल्लीलाई आर्थिक राजधानी मुम्बईसँग जोड्ने यो एक्सप्रेस वे भारतकै लामोमध्येमा पर्छ । 

सन् २०१९ को मार्च महिनामा शिलान्यास गरिएको एक्सप्रेस वे को लम्बाई १३५० किलोमिटर छ । यसको धेरै खण्ड पूरा भएर सञ्चालनमा पनि आइसकेका छन् । अब केही खण्ड मात्र बाँकी छ । 

सन् २०२५ को अक्टोबरमा उद्घाटन गर्ने भनिएको आयोजनाका सबै काम पूरा हुन सन् २०२७ सम्म पुग्ने अनुमान छ । 

नरेन्द्र मोदी सरकारले धेरै महत्व दिएर निर्माण गरेको आयोजनामध्ये एक हो, दिल्ली मुम्बई एक्सप्रेस वे । यसले दिल्ली र मुम्बईको सडक यात्रालाई २४ घण्टाबाट १२ घण्टामा झार्नेछ । 

यो एक्सप्रेस वे १३५० किलोमिटर मध्ये ११५० किलोमिटर भन्दा बढी तयार भइसकेको छ । अब केबल २०० किलोमिटर हाराहारी मात्र बाँकी छ । 

नेपालमा पनि राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश फास्ट ट्रयाक छ । यो नेपालको पहिलो एक्सप्रेस वे हो । फास्ट ट्रयाकको लम्बाई जम्मा ७२ किलोमिटर छ । 

यसको शिलान्यास २०७४ साल जेठ १५ गते अर्थात् सन् २०१७ मा भएको थियो । फास्ट ट्रयाक सुरु भएको ८ वर्षमा करिब ४३ प्रतिशत मात्र प्रगति भएको छ । 

तर, भारतले नेपालको फास्ट ट्रयाकभन्दा २ वर्षपछि निर्माण थालेर पनि यति लामो एक्सप्रेस वेको निर्माण तिब्र गतिमा गरिरहेको छ । दिल्ली–मुम्बई एक्सप्रेस वेको लम्बाई नेपालको पूर्वपश्चिम राजमार्ग भन्दा पनि बढी छ । नेपालमा झापाको काकडभिट्टादेखि कञ्चनपुरको महेन्द्रनगर जोड्ने पूर्वपश्चिम राजमार्गको लम्बाई जम्मा १०२८ किलोमिटर मात्र छ । तर दिल्ली–मुम्बई एक्सप्रेस वे को लम्बाई १३५० किलोमिटर छ । 

दिल्ली मुम्बई एक्सप्रेस वे ले भारतका दुई ठूला शहरी केन्द्रहरु दिल्ली र मुम्बईलाई आपसमा जोड्नेछ । एक्सप्रेस वे बाट दिल्ली, हरियाणा, राजस्थान, मध्य प्रदेश, गुजरात र महाराष्ट्र पनि जोडिनेछन् । यो आयोजनाको लागत १‍ दशमलब ३ लाख करोड भारतीय रुपैयाँ रहेको छ । 

यो एक्सप्रेसवे को रेखदेख भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणले गरेको छ । अनी निजी कम्पनीहरुले लगानी, निर्माण र सञ्चालन गर्नेछन् । निजी क्षेत्रले आफ्नो लगानी टोल ट्याक्समार्फत उठाउनेछन् । 

आठ लेनको यो सडकले दिल्लीदेखि मुम्बईसम्मको यात्रा २४ घण्टाबाट १२ घण्टामा झार्नेछ । एक्सप्रेस वेले केवल यात्रा समय मात्र घटाउँदैन, भारतमा आर्थिक गतिविधि पनि बुस्ट गर्नेछ । 

यो सडक भारतकै सबैभन्दा छिटो र अत्याधुनिक एक्सप्रेस वे हुनेछ । जसमा धेरै सुविधाहरु राखिएको छ र यसको डिजाइन वातावरणमैत्री हुने गरी गरिएको छ । 

यो एक्सप्रेस वे लाई भविष्यमा १२ लेनसम्म फराकिलो बनाउन सक्ने गरी बनाइएको छ । भविष्यमा लेन थप्नका लागि सडकको बीचमा खाली ठाउँ राखिएको छ । 

०००००

दिल्ली मुम्बई एक्सप्रेसवेलाई ई–हाइवे पनि भन्न सकिन्छ । इलेक्ट्रिक गाडीका लागि डेडिकेटेड लेन नै छुट्याइएको छ । 

यो एक्सप्रेस वे किनारामा रहेका सुविधाहरुका कारण पनि विशेष बनेको छ । एक्सप्रेस वेको किनारमा विभिन्न ९४ थरिका सुविधाहरु रहेका छन् । जसमा फुडकोर्ट, फ्युल स्टेसन,  एटिएम मसिन, चार्जिङ स्टेशन, होटल आदि रहेका छन् । एक्सप्रेस वे मा आपतकालमा उद्ुदारका लागि प्रत्येक १०० किलोमिटरमा ट्रमा सेन्टर र हेलिप्याड पनि रहेका छन् ।

यो एक्सप्रेस वे डिजाइन गर्दैमा दिगो विकासलाई हेरेर गरिएको छ । यो एक्सप्रेस वे को किनारमा २० लाख रुखहरु रोपिनेछन् । 

अनि हरेक ५०० मिटरमा वर्षाको पानी संकलन गर्न रेन वाटर हार्भेस्टिङ सिस्टम राखिनेछ । यसले पानी संरक्षण, हरियालीको विकास र वातावरण सफा राख्न मद्दत गर्नेछ । एक्सप्रेस वे मा उज्यालो बनाउन सोलार इनर्जी र राज्यको स्टेट ग्रिड इलेक्ट्रिसिटी प्रयोग हुनेछ । 

०००० 

एक्सप्रेस वे मा ठाउँ ठाउँमा वन्यजन्तुले सडक वारपार गर्ने बाटो पनि राखिएको छ । वन्यजन्तु पार गर्ने ५ वटा क्रसिङ रुट रहेका छन् । भारतमा वन्यजन्तु पार गर्ने क्रसिङ राखेर बनाइएको यो पहिलो एक्सप्रेस वे हो । 

एक्सप्रेसवे को २.५ किलोमिटर क्षेत्र क्रसिङ रुटका लागि छुट्याइएको छ । 

वन्यजन्तुका लागि छुट्याइएको बाटोमध्ये एउटा चाहिँ जमिनमुनि सुरुङ खनेर बनाइएको छ, यो सुरुङ मुकुन्दरा हिल्स नेशनल पार्कमा रहेको छ । 

यो एक्सप्रेस वे सुरक्षित यात्राका लागि ढुक्कको बनाइएको छ । यो सडकमा वन्यजन्तुको वासस्थान रहेको ठाउँमा ध्वनि प्रदूषण कम गर्न ध्वनि छेक्ने पर्खाल बनाइएको छ । 

त्यस्तै सीसी क्यामेरा, ट्राफिक म्यानेजमेन्ट सिस्टम र इमर्जेन्सी रेस्पोन्स टिमको स्टेशनहरु पनि राखिएको छ । जसले अकस्मात दुर्घटना भयो भने तत्कालै रेस्क्यु गर्न सक्ने बनाइएको छ । 

००००

यो एक्सप्रेस वेले भारतको अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । किनभने यसले दुई आर्थिक नगरी दिल्ली र मुम्बईको ट्राभल टाइम आधाले घटाउनेछ । एक्सप्रेसवेबाट वस्तु र सेवाहरुको मुभमेन्ट छिटो बनाउनेछ । 

यसले व्यापार व्यवसाय स्वतः बढाउनेछ । यो एक्सप्रेसवे ले भारतका दिल्ली र मुम्बई मात्र होइन, सुरत, बडोदरा, इन्दोर र नागपुरजस्ता शहरसँगको कनेक्टिभिटी पनि बढाउनेछ । एक्सप्रेस वे सञ्चालनमा आएसँगै ती क्षेत्रको व्यापार विस्तारमा पनि यसले महत्वपूर्ण भूमिका खेल्नेछ । 

यो एक्सप्रेसवे ले महाराष्ट्र, गुजरात, राजस्थानका उत्पादनलाई दिल्लीको बजारमा धेरै छिटो ल्याइपुर्‍याउनेछ । सँगसँगै दिल्लीका उद्योगहरुले मुम्बईको अन्तर्राष्ट्रिय बन्दरगाहबाट फाइदा लिन सक्नेछन् । 

यो एक्सप्रेस वे निर्माण र मेन्टिनेन्समा हजारौं हजार रोजगारी सिर्जना भएको छ । निर्माणसँगै यातायात, हस्पिटालिटी र पर्यटनमा पनि उत्तिकै रोजगारी सिर्जना हुनेछ । एक्सप्रेसवे का कारण नयाँ शहरी केन्द्रहरु बन्न सक्छन्, जसले रियलस्टेट क्षेत्र पनि विस्तार हुने अनुमान छ । 

यो एक्सप्रेस वेका कारण बडोदरा, सुरत, इन्दोर जयपुरमा पर्यटकहरु बढ्ने र त्यसले स्थानीय अर्थतन्त्र विस्तार गर्ने अनुमान गरिएको छ । भारतको दिल्ली र मुम्बइ घुम्ने पर्यटकले पनि यात्रा समय छोटिँदा धेरै लाभ लिन सक्नेछन् । 

दिल्ली मुम्बई एक्सप्रेस वे को ४० ठाउँमा इन्टरचेन्ज अर्थात् क्रसिङहरु रहेका छन् । 

यो सडकमा गाडीको स्पिड अधिकतम १२० किलोमिटर प्रतिघण्टा हुनेछ । 

सन् २०२५ को नोभेम्बरसम्म यो एक्सप्रेस वे को ८२ प्रतिशत काम पूरा भइसकेको छ । यसको ७७४ किलोमिटर सडक तयार भइसकेको छ । १२२ किलोमिटर क्षेत्रमा ९० प्रतिशत काम पूरा भइसकेको छ । 

सुरुमा एक्सप्रेस वे सन् २०२५ मा सक्ने भनिएको थियो । तर तोकिएको समयमा निर्माण पूरा भएन । सुरथ र गुजरात–महाराष्ट्रबीचको खण्डमा धेरै काम बाँकी छ । यहाँ ठेकेदारले काममा ढिलाइ गर्नुका साथै जग्गा अधिग्रहणको पनि समस्या छ । 

यो सडकमा दुईपांग्रे र तीन पांग्रे गाडीहरु जस्तै बयलगाडा, अटोरिक्सा, बाइकहरु प्रवेश गर्न पाउँदैनन् । यदि प्रवेश गरेमा ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व