'सिक्ने भनेकै फेल भएर हो, स्कुलमा फेल हुनै दिँदैन'
विद्यार्थीमा वैज्ञानिक सोचको विकास गर्न सानैदेखि शिक्षामा विशेष ध्यान दिनुपर्छ । उनीहरुले आफैं अभ्यास गर्दै सिक्दै जाने वातावरण पाउनुपर्छ । हाम्रा धेरै स्कुलमा अहिले पनि त्यो वातावरण छैन ।
विज्ञान विषयको पढाइ पनि प्रयोगात्मक हुँदैन, घोकाउने तरिकाले नै पढाइ भइरहेको छ । हाम्रो शिक्षामा देखिएको यही समस्याकै कारण नेपालीहरुमा वैज्ञानिक सोचको विकास नभएको र ठूलो भएपछि जोखिम बहन गर्ने र उद्यमशील बन्ने चाहना नदेखिएको हो भन्छन्, कारखाना प्रा.लिका सहसंस्थापक सुनोज दास श्रेष्ठ ।
इन्जिनियरिङ पास गरेपछि उनी र उनीजस्तै साथीहरु मिलेर नेपालमै प्रडक्ट डिजाइनिङ कम्पनी खोले र नाम राखे कारखाना । तर १२ वर्षको अवधि उनीहरुले सोचेजस्तो भएन । आफूले गर्दै आएको काम पटक पटक परिमार्जन गर्दै गए ।
अहिले कारखाना प्रा.लि. ले कक्षा १ देखि कक्षा ९ सम्मका विद्यार्थीका लागि विज्ञान विषयको शैक्षिक सामग्री बनाउने काम गर्छ, सँगै शिक्षकलाई तालिम दिने काम पनि गर्छ । कारखानाको यात्रा, यसको काम र भविष्यको योजनाबारे सहसंस्थापक श्रेष्ठसँग नेपाल शो का विनोद ढकालले गरेको कुराकानीको सारसंक्षेप :
सुरुवाती दिनमा कारखाना नेपालमै नेपाली इन्जिनियरले खोलेको, नेपाली समस्या समाधान गर्ने एउटा प्रडक्ट डिजाइन कम्पनी थियो । विगत १०–१२ वर्षमा हामी फेल हुँदै परिमार्जित हुँदै आजको दिनसम्म आइपुगेका छौं । अहिले पनि हामी प्रडक्ट डिजाइन त गर्छौं तर विद्यालयको विज्ञान विषयको शैक्षिक सामग्रीका रुपमा ।
स्कुलदेखि नै वैज्ञानिक सोच विकास गर्नुपर्छ भन्ने हामीलाई महसुस भयो । हामी सबै जना इनोभेसनको कुरा गर्छौं, देशमै बस्नुपर्छ, स्वरोजगार हुनुपर्छ भन्छौं । त्यसका लागि चाहिने मुख्य कुरा भनेको वैज्ञानिक सोच हो, सोधखोज गर्ने, समस्या देख्यो भने समाधान गर्न खोज्ने, असफलतासँग नडराउने । त्यसको विकास वैज्ञानिक सोच र संस्कृति आवश्यक पर्छ । हामी त्यसकै लागि काम गरिरहेका छौं ।
हामीले पाठ्यक्रम विकास केन्द्रले डिजाइन गरेको पाठ्यक्रममा आधारित रहेर शैक्षिक सामग्री र शिक्षकको क्षमता विकासका काम गर्छौं । अहिले देशभरका ४० देखि ५० हजार विद्यार्थीले हाम्रो साइन्स किट प्रयोग गर्छन् । ६०० जना विज्ञान शिक्षक, २५० स्कुल र ३१ शहरमा हामी काम गरिरहेका छौं ।
शिक्षकहरुले विद्यार्थीमा किन वैज्ञानिक सोच विकास गर्न सकेका छैनन् भने हाम्रो शिक्षा अहिले पनि घोकन्ते छ । यसमा शिक्षकहरुको पनि गल्ती छैन, किनभने न उनीहरुले पढ्दा त्यसरी पढे, न अहिले विद्यालयहरुले पढाउने तरिका सिकाएको छ, न शैक्षिक सामग्री दिएको छ ।
क्रियाकलाप गराउँदै पढाउन त शिक्षकलाई पनि मन हुन्छ, तर न सक्षमता छ, न शैक्षिक सामग्री नै ।
शिक्षकले आफैं पाठ योजना बनाउने, शैक्षिक सामग्री बनाउने र वर्कसिटहरु बनाउने काम धेरै कठिन काम हो । यसका लागि शिक्षकले धेरै राम्रो स्टडी गरेको हुनुपर्छ । हाम्रा विद्यालयका शिक्षकहरुले अध्ययनका लागि त्यति धेरै समय पनि कहाँ पाउँछन् र ? त्यसैले कारखानाले सामग्री तयार गर्ने, लेसन बनाउने जस्ता लजिस्टिक च्यालेन्ज समाधान गरिदिएको छ ।
आफ्नो सिकाइको जिम्मा विद्यार्थीले पनि लिनुपर्छ भनेर हामीले एउटा कारखाना साइन्स किट बनाएका छौं । यसले शिक्षक र विद्यार्थी दुबैलाई सजिलो भएको छ । कक्षा १ देखि ९ सम्मको विज्ञान विषयका सबै पाठको क्रियाकलाप यसमा छ ।
थप कुराकानी भिडियोमा हेर्नुहोस् :
रास्वपाले कसरी छान्दैछ १६४ उम्मेदवार ?
चिनियाँ रेल आए भारत हेरेर बस्दैन
'वैशाख–जेठमा चुनाव, प्रतिशोधले बंगलादेश बन्छौं'
'दोस्रो पटक सरकारमा नगएको भए राम्रो हुन्थ्यो'



-1765351207.jpg)



