नेभिगेशन
3 Minute

१ लाख ३३ हजार निर्वाचन प्रहरी माग, कति हुन्छ तलब ?

के तपाईं नेपालभित्रै छोटो समयको काम खोज्दै हुनुहुन्छ ? 

तपाईं १८ देखि ५४ वर्ष उमेर समूहको हुनुहुन्छ भने तपाईंका लागि उपयुक्त विकल्प हुन सक्छ, निर्वाचन प्रहरी । 

पहिले पहिले यसलाई म्यादी प्रहरी भनिन्थ्यो । यस वर्षदेखि निर्वाचन प्रहरी भन्न थालिएको छ । नेपाल प्रहरीले आउँदो फागुन २१ गतेको चुनावका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । 

निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेले पुस २५ गतेदेखि माघ १ गतेसम्म निवेदन दिन पाउनेछन् । त्यसका लागि सबै जिल्लाका प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ । 

निर्वाचन प्रहरी हुन साधारण लेखपढ गर्न जान्ने भए पुग्छ । तर नैतिक पतन देखिने कुनै फौजदारी मुद्दामा सजाय पाएको हुनु हुँदैन । अनि भर्ना हुने बेलामा कुनै राजनीतिक दलको सदस्य हुनु हुँदैन । शारीरिक रुपमा स्वस्थ हुनुपर्‍यो, आतंककारी तथा विध्वंसात्मक संगठनमा लागेको हुनुभएन । 

पुरुषको हकमा ५ फिट उचाइ र ५० किलो तौल, अनि महिलाको हकमा ४ फिट १० इन्च उचाइ र ४२ केजी तौल हुनुपर्‍यो । अनि गर्भवती महिलाले पनि निर्वाचन प्रहरी हुन पाउने छैनन् । 

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सेवाबाट अवकाश पाएका वा भर्ना हुन जाँदा मेडिकल पास भएका व्यक्तिले निर्वाचन प्रहरीका लागि प्राथमिकता पाउँछन् । 

निर्वाचन प्रहरीमा भर्ना भएमा माघ १० देखि २४ गतेसम्म १० दिनसम्म तालिम पाउनेछन् । 

नियुक्ति पाएको मितिले ४० दिनसम्म उनीहरुले काम गर्नुपर्नेछ । 

तलब सुविधा के कति हुन्छ त ? 

निर्वाचन प्रहरीले नेपाल प्रहरीको जवानको तलब स्केल सरहको तलब सुविधा पाउँछन् । त्यो भनेको दिनको ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७७६ रुपैयाँ पाउँछन् । 

अनि नेपाल प्रहरीका जवानहरुले पाउने बराबरकै ४० दिनको खाद्यान्न वापतको रकम एकमुस्ट रुपमा पाउँछन् । 

अनि निर्वाचनमा खटाएको ठाउँमा आउने जाने तयारी स्वरुप ८४६ रुपैयाँ पाउँछन् । चुनाव हुने समयमा ४ दिनका लागि खाजा खर्च वापत दिनको ३०० रुपैयाँका दरले १२०० रुपैयाँ पाउँछन् । 

निर्वाचन प्रहरीले पोशाकका लागि छुट्टै पैसा पनि पाउँछन् । 

तर जिम्मेवारी पूरा नगरी भागेमा भने कुनै तलब सुविधा पाउने छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute