रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र
माओवादी सशस्त्र युद्धको उद्गम भूमि रुकुम पूर्वबाट चुनाव उठेका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जितमा धेरै ठूलो आशंका छैन ।
तर यसपटक उनका प्रतिस्पर्धीका रुपमा आएका छन्, माओवादी सशस्त्र युद्धकै शहीद पुत्र, २८ वर्षका सन्दीप पुन ।
सन्दीपका बाबु सूर्यप्रकाश पुन र आमा परम्परा गौतमको माओवादी सशस्त्र युद्धकै क्रममा मृत्यु भएको थियो । २०६२ साल जेठमा बझाङमा भएको सैन्य कारबाहीमा उनीहरुले ११ दिनको फरकमा ज्यान गुमाएका थिए ।
त्यसपछि आफन्तको आश्रयमा हुर्किएका सन्दीपले शहीद तथा बेपत्ता परिवार फाउन्डेसनमा पनि काम गरे । उनले पूर्वाञ्चल विश्वविद्यालयबाट बी टेकको अध्ययन पूरा गरेका छन् ।
सन्दीप प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी भनेको माओवादी छाडेका डा. बाबुराम भट्टराई र जनार्दन शर्माको पनि पार्टी हो । रुकुम जनार्दन शर्माको प्रभाव क्षेत्र हो । उनले २०६४ देखिका सबै चुनाव जितेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरुबीच एकता हुँदा जनार्दन शर्मा भने पार्टीबाट अलग्गिए । उनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरण गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाए ।
रुकुम पश्चिमबाट जनार्दन आफैं उम्मेदवार बनेका छन् भने रुकुम पूर्वमा सन्दीप पुन उम्मेदवार छन् । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ । एमालेका उम्मेदवार लिलामणि गौतमको उम्मेदवारी कायम रहने छैन, एमालेले आफ्नो मत अब प्रलोपाका सन्दीपलाई दिनेछ ।
प्रलोपा उम्मेदवार पुनका अनुसार विप्लव नेतृत्वको नेकपा माओवादीसँग पनि तालमेलको विषयमा छलफल भइरहेको छ ।
रुकुम पूर्वमा ११ जना उम्मेदवार छन् । नेपाली कांग्रेसबाट कुसुमदेवी थापा,राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा, राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, नेकपा माओवादीबाट जुद्धबहादुर बुढामगर, मंगोल नेशनल अर्गनाइजेसनबाट ज्योति रोकामगर, नेशनल रिपब्लिक नेपालबाट धर्मकुमार बुढा उम्मेदवार छन् ।
रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता रहेका छन् । यो भनेको २०७९ सालको चुनावमा भन्दा करिब १२ सय बढेको हो ।
२०७९ को चुनावमा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पूर्णबहादुर घर्ती १२ हजार २६२ मत ल्याएर निर्वाचित भएका थिए । नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २६२ मत ल्याएर दोस्रो भएका थिए ।
समानुपातिकतर्फ माओवादी केन्द्रले ८ हजार २७१ मत ल्याएको थियो ।
नेपाली कांग्रेसले ५ हजार ६९२, नेकपा एमालेले ३ हजार ६५९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४६६ मत ल्याएको थियो ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



