नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
हरेक वर्ष ५ लाख जनालाई रोजगारी । अनि विदेशबाट फर्केका १ लाख रिटर्नीलाई उद्यमी बनाउने ।
५ वर्षभित्र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, १० हजार मेगावाट बिजुली निकाल्ने, २० वटा शहरलाई स्मार्ट सिटी बनाउने ।
१०० वटा गाउँलाई स्मार्ट भिलेज बनाउने । पूर्वपश्चिम रेलमार्ग तयार गर्ने । देशको आर्थिक वृद्धि १० प्रतिशत पुर्याउने ।
अहिले २० प्रतिशत रहेको गरिबीलाई ५ प्रतिशतमा झार्ने । यो घोषणा हो, नेपाली कम्युनिस्ट पार्टीको । फागुन २१ गतेको चुनावका लागि नेपाली कम्युनिस्ट पार्टीले ४५ पानाको घोषणापत्र ल्याएको छ ।
००००
नेपाली कम्युनिस्ट पार्टीले अहिले नेपालमा ४ थरि राजनीतिक दल भएको निश्कर्ष निकालेको छ ।
उसले कांग्रेस–एमालेलाई यथास्थितिवादी शक्ति भनेको छ । उनीहरुसँग नवीन अवधारणा नभएको दाबी गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले रास्वपालगायत नयाँ दलहरुलाई पपुलिस्ट शक्ति भनेको छ । उनीहरुलाई सिद्धान्तहीन र दृष्टिकोणविहीन शक्ति भनेको छ । भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको शक्ति हो भनेको छ, अनि यसले मुलुकका समस्या समाधान गर्ने कुनै दृष्टिकोण प्रस्तुत गर्न नसकेको उसको जिकिर छ ।
अनि राप्रपालाई प्रतिगामी शक्ति भनेको छ । यसले राजतन्त्र फर्काउन चाहेको र यसले देशलाई अगाडि होइन पछाडि धकेल्ने नेकपाको भनाइ छ ।
नेकपाले आफूलाई क्रान्तिकारी शक्ति भनेको छ । र आफूले मात्र समाज रुपान्तरणको स्पष्ट दृष्टिकोण दिन सक्ने दाबी गरेको छ ।
०००
नेपाली कम्युनिस्ट पार्टीले अहिलेको निर्वाचन प्रणालीबाट एउटै पार्टीले बहुमत ल्याउने सम्भावना न्यून रहेको निष्कर्ष निकालेको छ । त्यसैले राजनीतिक स्थिरताका लागि संविधान संशोधन गरेर नयाँ व्यवस्था गर्ने उसको घोषणा छ । तर नयाँ भनेर कस्तो व्यवस्था राख्ने भन्ने प्रष्ट दृष्टिकोण दिन सकेको छैन ।
निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो छ, यसले भ्रष्टाचारलाई बढावा दिएको छ । कमजोर आर्थिक अवस्थाकाहरु चुनाव नै लड्न नसक्ने नेकपाको दाबी छ । त्यसैले यसलाई सरल र कम खर्चिलो बनाउने भनेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले सांसदहरु मन्त्री नबन्ने व्यवस्थाको परिकल्पना गरेको छ । सांसदहरुलाई कानुन बनाउने भूमिकामा मात्र राख्ने भनेको छ । अनि संघीय सरकारको मन्त्रालय २५ बाट घटाउने । विषय विज्ञ सम्मिलित सानो आकारको मन्त्रिपरिषद गठन गर्ने उसको योजना छ ।
०००
नेकपाले हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । भ्रष्टाचार काण्डहरुको छानबिन गर्न एक वर्ष समय तोकेर अधिकार सम्पन्न स्वतन्त्र आयोग गठन गर्ने भनेको छ ।
त्यस्तै अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभाग समेतलाई मर्ज गरेर उच्चस्तरीय लोकपाल गठन गर्ने घोषणा पनि गरेको छ ।
नेकपाले ५ वर्षभित्रमा सरकारी सेवामा ३० प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने घोषणा गरेको छ । सरकारी कामलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाउने पनि घोषणा गरेको छ ।
सरकारी नियुक्तिमा राजनीतिक भागबण्डा अन्त्य गर्न योग्यता प्रणाली लागू गर्ने पनि उसको घोषणा छ ।
००००
नेकपाले भविष्यमा आफ्नो सरकार बनेमा प्राथमिकता दिइने ६ वटा क्षेत्र पनि तोकेको छ । जसमा पहिलो छ, कृषि तथा ग्रामीण अर्थतन्त्र रुपान्तरण ।
दोस्रोमा छ, ऊर्जा तथा पूर्वाधार विकास । तेस्रोमा छ, औद्योगिक तथा उद्यमशीलता प्रवर्द्धन ।
चौथोमा छ, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्र । पाचौंमा छ, पर्यटन तथा सेवा क्षेत्रको गुणस्तरीय विकास । छैटौंमा छ, सामाजिक क्षेत्र ।
नेकपाले प्रतिवर्ष १ लाख ५० हजार अतिरिक्त रोजगारी सिर्जना गरेर वर्षमा ५ लाख जनालाई जागिर सुनिश्चित गर्ने घोषणा गरेको छ ।
विदेशबाट फर्केकाहरुलाई नेपालमै काम गर्ने वातावरण बनाउने र कम्तीमा १ लाख रिटर्नीलाई उद्यमी बनाउने घोषणा गरेको छ ।
साना किसानको जमिन एकीकृत गरेर ठूला कृषि पशुपन्छी र जडिबुटी फार्म सञ्चालन गर्ने भनेको छ ।
एक वर्षभित्र सबै किसानलाई परिचयपत्र वितरण गर्ने । किसान परिचयपत्रका आधारमा अनुदान, ऋण, सेवा सुविधा र सामाजिक सुरक्षा दिने पनि घोषणा गरेको छ ।
धान, मकै, गहुँ, तरकारी, फलफूल दूध र माछामासुमा २ वर्षभित्र आत्मनिर्भर हुने भनेको छ ।
२ वर्षभित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने घोषणा गरेको छ । अनि नेपाललाई भूमिहीनता र सुकुम्बासीमुक्त घोषणा गर्ने दाबी गरेको छ ।
५ वर्षभित्र ८० प्रतिशत सिँचाइयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने भनेको छ ।
सिँचाइ गर्दा किसान परिवारलाई ५० प्रतिशत र सहकारीलाई ६० प्रतिशत विजुली महसुलमा अनुदान दिने भनेको छ ।
तराई मधेशमा अहिले ४ हजार २८० सोलार सिँचाइ छ । ५ वर्षभित्र १० हजार पुर्याउने लक्ष्य राखेको छ ।
स्टार्टअपहरुको निशुल्क दर्ता र ५ वर्षसम्म पूर्ण कर छुट दिने भनेको छ ।
०००००
खेलकुद क्षेत्रमा पनि नेकपाले ठूला ठूला घोषणा गरेको छ । केन्द्रमा ५० हजार क्षमताको राष्ट्रिय रंगशाला । ५ वर्षभित्र सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला र विभिन्न खेलका कभर्ड हलहरु बनाउने भनेको छ ।
प्रत्येक विद्यालयमा कम्तीमा ५ खेलको प्रशिक्षण दिन सक्ने खेलकुद प्रशिक्षक नियुक्त गर्ने घोषणा गरेको छ । पहिलो चरणमा ५ हजार निम्न माविमा खेलकुद प्रशिक्षक राख्ने भनेको छ ।
०००
२०८८ सम्म सबै नागरिकको स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । गरिब अशक्त दीर्घरोगी र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले तिर्ने भनेको छ ।
नेपालमा हाल आत्महत्याको दर प्रति १ लाख जनामा २३.४ जना रहेको छ । यसलाई २०८८ सालसम्म प्रति एक लाखमा ४.७ जनामा झार्ने भनेको छ ।
विज्ञान प्रविधि विकासका लागि प्रत्येक प्रदेशमा एउटा अनुसन्धान केन्द्र स्थापना गर्ने नेकपाको घोषणा छ । त्यहाँ कम्तीमा १० देखि १०० वैज्ञानिक राख्ने भनेको छ।
०००
५ वर्षमा पूर्वपिश्चम रेलमार्ग तयार बनाउने नेकपाको घोषणा छ । अनि काठमाडौंमा मेट्रो रेल र मोनोरेल निर्माण प्रक्रिया अगाडि बढाउने दाबी गरेको छ ।
निजगढ विमानस्थल पनि ५ वर्षभित्र निर्माण पूरा गर्ने भनेको छ ।
अनि ५ वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने नेकपाको घोषणा छ ।
नेकपाले अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो सहुलियत ब्याजमा १५ लाखसम्म ऋण दिने घोषणा गरेको छ ।
हेर्नुहोस् भिडियो
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं




-1770390804.jpeg)

-1770820002.jpeg)
