नेभिगेशन
अर्थ

नेपालले जोगाउन नसकेको एउटा बहुराष्ट्रिय उद्योगको कथा

कुनै बेला कोलगेट नेपालमा उत्पादन हुन्थ्यो र भारतमा समेत निर्यात हुन्थ्यो । अहिले नेपालले त्यही कोलगेट टुथ पेस्ट भारतबाट आयात गर्छौं । 

धेरै होइन, १७ वर्षअघिसम्म कोलगेट पाल्मोलिभ, नेपालको उत्कृष्ट बहुराष्ट्रिय कम्पनी थियो । 

कोलगेट ब्राण्डको जन्म 

विलियम कोलगेट । यिनी अमेरिकाको न्यूयोर्क शहरको डच स्ट्रिटमा पिठो, साबुन र मैनबत्तीको व्यवसाय गर्थे । सन् १८०६ मा उनले थालेको यो व्यवसाय फैलिंदै थियो । १८२० मा कोलगेटले न्यू जर्सीको जर्सी सिटीमा पिठोको कारखाना खोल्यो । उत्पादन बढाउन थाल्यो । 

१८५७ मा संस्थापक विलियम कोलगेटको मृत्युपछि यो कम्पनीको व्यवस्थापन विलियमका छोरा समुएर कोलगेटले सम्हाले । 

१८७३ मा कोलगेटले पहिलो पटक जार अर्थात् भाँडामा राखेर सुगन्धित मञ्जन बेच्न थाल्यो । १८९६ मा कोलगेटले कोल्याप्सिबल ट्यूबमा टूथपेस्ट ल्यायो । 

उसले बीजे जोनसनको पाल्मोलिभ कम्पनीसँग मिलेर साबुन र अत्तर समेत उत्पादन गर्न थाल्यो । १९१४ मा कोलगेटले क्यानडामा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहायक कम्पनी स्थापना गर्‍यो । 

यसपछि यो कम्पनी बहुराष्ट्रिय ब्राण्ड बन्यो । १९२० ताका कोलगेटले युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा उद्योगहरु खोल्यो । 

१९२८ मा कोलगेट पाल्मोलिभ–पिट कम्पनीसँग औपचारिक रुपमै गाभियो । १९३० मा कोलगेट पहिलो पटक न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भयो । 

१९६२ मा कोलगेटले न्यूजर्सीेमा आफ्नो अनुसन्धान केन्द्र खोल्यो । १९६८ मा कोलगेट टूथपेस्टले क्लिनिकली स्वस्थ रहेको प्रमाणपत्र पायो । १९७२ मा कोलगेट ओरल फार्मास्युटिकल्सका रुपमा प्रमाणित भयो । 

१९८३ मा कोलगेट प्लस टूथब्रसको उत्पादन सुरु भयो । १९८९ मा कम्पनीको वार्षिक बिक्री ५ अर्ब डलर नाघ्यो । १९९५ मा कोलगेट मध्य युरोप र रुसमा प्रवेश गर्‍यो । यही कोलगेटले अहिले २०० भन्दा बढी देशमा आफ्ना सयौं उत्पादनहरु बेच्छ । 

कोलगेट नेपाल आएको भने सन् ११९५ पछि मात्रै हो । नेपाली मितिमा भन्ने हो भने विसं २०५४ मा । यो कोलगेट इन्डियाको सहायक कम्पनीका रुपमा नेपाल आएको थियो । र, सुरुमै करिब ८० करोड रुपैयाँ लगानी गरेको थियो । 

कोलगेट नेपाल प्रवेश गर्दा एउटा रोचक परिघटना समेत भएको थियो, त्यतिबेला विदेशी लगानी ल्याउन सहज थिएन । सरकारी तबरबाट झञ्झट ज्यादा थियो । 

तर, बहुराष्ट्रिय कम्पनी आउन लागेकाले तत्कालीन उद्योग सचिव डा. भोला चालिसे नै यो उद्योगलाई नेपालमा दर्ता गराउन आफैं दौडिए । भनिन्छ कि उनले अग्रसरता लिँदा कोलगेट पाल्मोलिभले ७ दिनमै नेपालमा कम्पनी दर्ता गरेर लगानी ल्याउन अनुमति पाएको थियो । 

तत्कालीन उद्योग सचिव चालिसे नेपालमा खुला अर्थतन्त्रको कट्टर पक्षपाती थिए, उनी विदेशी लगानी नल्याई उद्योग क्षेत्रले फड्को मार्दैन भन्ने मान्थे । राजपरिवारको आडमा लाइसेन्स राज रहेका बेला विदेशी लगानीलाई निम्तो दिनु र यसरी स्वागत गर्नु एउटा विद्रोही कामजस्तै थियो ।   

कोलगेटका लागि सरकारको सचिवस्तरबाट यो खालको सक्रियता उत्साहजनक र प्रोत्साहनमूलक थियो । यसरी कोलगेटलाई सरकारले दिएको महत्व र सम्मानले लगानीकर्ता कम्पनी उत्साहित थियो । 

त्यतिबेला सरकारले उत्पादन मात्रै हैन, निर्यात प्रोत्साहनको नीति लिएको थियो । निर्यातमा अनुदानको व्यवस्था नै थियो । त्यसैले कोलगेट नेपालमा टुथपेस्ट उत्पादन गरेर नजिकका भारतीय शहरमा पठाउन चाहन्थ्यो । 

नेपालमा पनि त्यतिबेला ठूला टुथपेस्ट ब्रान्डहरु थिएनन् । नेपालमा बहुराष्ट्रिय कम्पनीको प्रवेश ठूलो घटना मानिन्थ्यो । अन्तर्राष्ट्रिय ब्राण्डको आगमनले देशभित्र लगानीको माहोल नै फेरिएको थियो । 

कम्पनीले मकवानपुरको हेटौंडामा औद्योगिक क्षेत्रभित्र ठूलो उद्योग स्थापना गर्‍यो । उद्योगले सुरुबाटै टूथपेस्ट र टूथपाउडरको उत्पादन गरिरहेको थियो । त्यतिबेला पेस्ट भन्दा बढी पाउडर प्रचलनमा थियो । कोलगेटको ह्वाइट कलरको गुलियो टुथ पाउडर निकै लोकप्रिय थियो ।

कोलगेट हेटौंडा आएपछि धेरै स्थानीयले रोजगारी पाए । हेटौंडामा त्यतिबेला युनिलिभरपछि कोलगेटको जागिरलाई सबैभन्दा राम्रो मानिन्थ्यो । 

सुरुवातकै वर्षबाट कम्पनीले राम्रो गर्दै थियो । उद्योग दिनमा १२ घण्टासम्म चल्दै थियो । कामदारलाई ४ घण्टासम्म ओभर टाइम अर्थात् ओटी दिइन्थ्यो । नियमित तलबबाहेक हुने थप आम्दानीले मजदुर पनि खुशी थिए । 

उद्योगको उत्पादन नेपालभित्र मात्र होइन, भारतका विहार, उत्तरप्रदेश जस्ता छिमेकी राज्यहरुमा समेत निर्यात भइरहेको थियो । तर, परिमाण भने धेरै ठूलो थिएन । वर्षमा २ करोड रुपैयाँसम्मको टुथपेस्ट भारत निर्यात भइरहेको थियो । यो उद्योगलाई नेपालकै माग धान्न धौ–धौ भइरहेको थियो । 
सुरुबाटै कम्पनीले मार्केटिङमा पनि उत्तिकै फोकस गरेको थियो । कोलगेटका विज्ञापन रेडियो र टेलिभिजनमा पटक–पटक बजिरहेको हुन्थ्यो । 

त्यसपछि कोलगेट पाल्मोलिभले टुथपेस्ट मात्रै हैन, अरु उत्पादनहरु पनि नेपालमै उत्पादन गर्ने आशा गरिएको थियो । किनभने कोलगेटले विश्वका धेरै देशमा साबुनसहित अरु उत्पादन गर्न थालिसकेको थियो । 

माग बढ्दै गएपछि २०५६मै कम्पनीले उत्पादन क्षमता विस्तार गर्‍यो । २०५७मा त कोलगेटले नेपालमै नयाँ अनुसन्धान केन्द्र समेत खोल्यो । यसले स्पष्ट के देखाएको थियो भने कोलगेट नेपालमा आए खुशी छ । यही कारण दीर्घकालीन योजना बनाएर थप लगानी पनि ल्याउन सक्छ ।  

२०५८ सालको अन्त्यतिरबाट नेपालमा राजनीतिक अस्थिरता चर्कियो । २०५८मा दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र शाह राजा भए । उनी आफैं सत्ता चलाउन अग्रसर भए ।    

त्यही बेलामा माओवादीको सशस्त्र युद्ध चर्कियो । पटक–पटकको बन्द हड्तालले उद्योग क्षेत्रमा एकदमै नराम्रो असर पर्‍यो । माओवादीहरुले उद्योगीहरुसँग ठूला चन्दाहरु माग्ने क्रम बढ्यो । 

झन् बहुराष्ट्रिय कम्पनीहरु माओवादीको पहिलो निशानामा परे । उनीहहरुसँग मागिने चन्दाको परिमाण सानो हुँदैनथियो ।  

झन् कोलगेट अमेरिकन कम्पनी थियो, माओवादीले अमेरिकालाई साम्राज्यवादी भन्थ्यो भने उद्योपतिहरुलाई नवसामन्ती पुँजीवादीको रुपमा हेर्थ्यो । मागेअनुसार चन्दा नदिएको भन्दै २०५८ मा माओवादीले कोलगेटको हेटौंडा कारखानामा २ पटक बम विस्फोट गरायो ।

कोलगेटले केही समय टुथ पेस्टको उत्पादन नै बन्द गर्नुपर्‍यो । यसपछि  कम्पनीले उद्योग र कामदार सुरक्षा र ढुवानी समस्या भोग्न थाल्यो ।

सजिलोसँग चलिरहेको कम्पनीलाई दबाब पर्न थाल्यो । कोलगेटले असुरक्षाको कारण देखाउँदै पटक–पटक उद्योग बन्द गर्ने चेतावनी दिइरह्यो । 

थप विवरण भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ