ग्यास संकट : दैलेखको ग्यास निकाल्न मिल्दैन ?
भारतले एक दिन मात्रै ग्यास दिएन भने नेपालमा अभाव चर्किहाल्छ ।
इरान युद्धका कारण अहिले भारत आफैं ग्यासको हाहाकार भोगिरहेको छ ।
आफैंलाई अभाव हुँदाहुँदै भारतले नेपालमा धेरै ग्यास पठाउने कुरै भएन ।
नेपालमा अहिलेसम्म एउटा पनि एलपी ग्यासको भण्डारण केन्द्र छैन ।
अनि नेपालकै दैलेखमा ग्यास भेटिएको होइन ? त्यो ग्यास चाहिँ कहिलेदेखि निकाल्न मिल्छ ?
अब बालेन नेतृत्वको सरकारले दैलेखको ग्यास निकाल्न सक्ला ?
००००
नेपालमा प्रयोग हुने पेट्रोल, डिजेल, एलपी ग्यासदेखि हिउँदको बिजुलीसम्म भारतबाटै आयात गर्नुपर्छ ।
त्यसैले त विश्व बजार वा भारतमै ऊर्जा संकट बढ्यो भने नेपालमा तुरुन्तै असर देखिन्छ । अझ भारतले नियतवश रोकिदियो भने के हुन्छ भन्ने त हामीले २०७२ को नाकाबन्दीमा भोगिहाल्यौं । त्यतिबेला महिनौंसम्म नेपालीले ग्यास पाउन सकेनन् । अहिलेजस्तो बिजुली पनि आउँदैनथ्यो, दिनमै १२–१३ घण्टा लोडसेडिङ थियो ।
सर्वसाधारणको घरमा चुलै बल्न नसक्ने स्थिति देखिएपछि सरकारले नै काठमाडौंमा दाउरा बेचेको थियो ।
त्यही परिघटनाले नेपाललाई सोच्न बाध्य बनायो, के नेपालले आफ्नै ऊर्जा स्रोत खोज्न सक्दैन ? यही प्रश्नले सरकारलाई दैलेखका विभिन्न गाउँमा बलिरहेका अखण्ड ज्योति, खोल्सामा बग्ने पानीमाथि तैरिने तेल अनि तिनले देखाएको सम्भावना खोज्न प्रेरित गर्यो ।
दैलेखका जनताले अखण्ड ज्योतिलाई दैवी शक्ति मान्थे । तर, सरकारको प्रारम्भिक अध्ययनमा यहाँ पेट्रोल वा ग्यास छ भन्ने त देखाएकै थियो । तर, परिमाण कति छ, निकालेर बेच्न सम्भव छ कि छैन भन्ने कुरा धेरै समयसम्म गर्भमै थियो ।
सन् १९७० को दशकमा विश्व बैंकको सहयोगमा यहाँ पहिलो पटक भूगर्भीय सर्वेक्षण गरिएको थियो । यसले दैलेख क्षेत्रमा पेट्रोलियम भण्डारको सम्भावना देखाएको थियो । तर त्यसपछि पनि लामो समयसम्म गम्भीर अनुसन्धान भएन ।
भारतको नाकाबन्दीपछि नेपाल सरकारले दैलेखको सम्भावना खोतल्न चीन सरकारसँग हात मिलायो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सररकारको पहलमा नेपाल र चीनबीच पेट्रोलियम अन्वेषणमा सहकार्यको समझदारी भयो । चीनले आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा विस्तृत अध्ययन थाल्यो ।
यसका लागि चरण–चरणमा सिइस्मक सर्भे, जिओलोजिकल सर्भे र भित्री चट्टानहरुको परीक्षण गरियो । दैलेखका करिब ३ हजार ठाउँमा प्वाल पारेर सर्भे गरिएको थियो ।
त्यसपछि दैलेखको भैरवी गाउँपालिका जलजले क्षेत्रमा गहिरो ड्रिलिङ गरियो । त्यहाँ ४ हजार १३ मिटर गहिरो खनेर निकालिएका हजारौं चट्टानी नमुना परीक्षणका लागि चीन पठाइयो ।
चीनका प्रयोगशालामा गरिएको परीक्षणपछि रिपोर्टले भनेको छ, दैलेखमा पेट्रोल हैन, प्राकृतिक ग्यास छ । जसलाई निकालेर उपयोग गर्न सकिन्छ । यहाँ कम्तीमा ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको पुष्टि भइसकेको छ ।
यो करिब ४० वर्षलाई नेपाललाई पुग्ने परिमाणको ग्यास भएको दाबी यसअघिको सरकारले गरेको थियो । यद्यपी यो अध्ययनमा आधरित र प्रमाणित दाबी हैन ।
दैलेखको ग्यास भूगर्भकोे चट्टानमा च्यापिएर बसेको हुनाले चट्टान फुटाएर सबै ग्यास निकाल्न कठिन हुन्छ । प्राविधिक रुपमा भण्डारमा रहेकोमध्ये करिब २० प्रतिशत मात्रै ग्यास उत्खनन गरेर उपयोग गर्न सकिन्छ ।
ग्यास छ भन्ने त यकीन भयो, तर वास्तविक परिमाण र ग्यास कस्तो अवस्थामा छ भन्ने पत्ता लगाउन बाँकी नै छ । त्यसका लागि वेल टेस्टिङ गर्नुपर्छ ।
त्यसैले दैलेखको ग्यास कसरी निकाल्ने भन्ने अहिलेसम्म यकीन छैन ।
यो कस्तो ग्यास हो त ?
धेरैले त यसलाई नेपालमा पेट्रोल र ग्यास भेटियो भन्ने बुझेका छन् । तर, यो न पेट्रोल हो, न डिजेल । यो तपाईं हाम्रो भन्छामा प्रयोग भइरहेको एलपी ग्यास पनि होइन ।
यो प्राकृतिक मिथेन ग्यास हो । तपाईंले गोबरग्यास अर्थात् बायो ग्यास देख्नुभएको छ ? हो ठ्याक्कै त्यही गोबरबाट निस्किने ग्यासजस्तै हो दैलेखमा भेटिएको । फोहोरबाट निकाल्ने भनेर चर्चा हुने ग्यास पनि यस्तै हो ।
यो लाखौं वर्षसम्म जमिनभित्रको दबाब र तापमा जैविक पदार्थ अर्थात् बोट विरुवा र जीवजनवर कुहिँदा बन्ने जीवाश्म इन्धन हो । यो ग्यासलाई प्रशोधनपछि ‘कम्प्रेसड् न्याचुरल ग्यास’ (सीएनजी) वा ‘पाइपलाइन न्याचुरल ग्यास’ (पीएनजी)मा रुपान्तरण गर्न सकिन्छ । यसको प्रयोग खाना पकाउन, बिजुली उत्पादन गर्न, उद्योग चलाउन, गाडी चलाउन समेत गर्न सकिन्छ ।
तपाईं हाम्रो भन्छामा आउने एलपीजी ग्यास तरल अर्थात् पानीजस्तै फर्ममा हुन्छ । यो कच्चा तेललाई प्रशोधन गरेर पेट्रोल, डिजेल बनाएपछि बाँकी रहेको तरल पथार्थबाटै तयार हुने ग्यास हो । सिलिन्डरमा तरल ढंगले भरेपनि बाहिर ग्यासका रुपमा आउँछ । यो १५ किलोको फलामे सिलिन्डरमा १४ किलो ग्यास भर्न सकिन्छ ।
तर, मिथेन ग्यास यसरी सानो सिलिन्डरमै धेरै भर्न सकिँदैन । किनकी यो तरल हैन, ग्यास फर्ममै हुन्छ । त्यसले गर्दा यसलाई भर्न ठूला सिलिन्डर चाहिन्छन् । त्यसैले यसको ढुवानी जटिल र महँगो छ । जटिल भएपनि विश्वमा यस्तो ग्यासको प्रयोग धेरै क्षेत्रमा भइरहेका छन् ।
त्यसैले दैलेखमा भेटिएको ग्यास सिलिन्डरमै भरेर तपाईं हाम्रो भान्सामा ल्याउन कठिन छ । किनकी खाना पकाउने भन्सामा ठूला सिलिन्डर राख्नु उपयुक्त हुँदैन । यस्तो अभ्यास विदेशतिर पनि छैन ।
अब तपाईंको मनमा प्रश्न हुनसक्छ, त्यसो भए त्यो ग्यास के काम ?
यस्तो ग्यास तपाईं हाम्रो घरको चुलोसम्म नै आउनसक्छ । त्यसका लागि सरकारले व्यवस्थित ग्यास वितरणलाइन बनाउनुपर्छ । केपी शर्मा ओलीले नाकाबन्दीका बेलामा ‘घर–घरमा ग्यासको पाइप ल्याउँछु भनेको याद छ ?’ हो, केपी ओलीले भनेको जस्तै घर–घरमा ग्यासको पाइप जोडेर प्राकृतिक ग्यास भन्सामा उपयोग गर्न सकिन्छ ।
२०४० सालतिर गरिएको अध्ययनमा काठमाडौं उपत्यकाको भूगर्भमा पनि यस्तै मिथेन ग्यास प्रचुर मात्रामा रहेको देखिएको थियो । टेकुमा एउटा प्लान्टबाट यस्तो ग्यास निकालेर टेकु हस्पिटलमा पाइपलाइनबाटै ग्यास लगेर बालिएको थियो ।
उपत्यकाका अरु ९ स्थानमा पनि यस्ता ग्यासका कुवाहरु भेटिएका थिए । ओलीले २०७२ को संकटका बेलामा काठमाडौंमा भेटिएको ग्यासकै आधारमा घरघरमा ग्यासको योजना सुनाएका थिए । तर, अहिले उपत्यकामा अनियन्त्रित ढंगले भएको डिप बोरिङले यस्तो ग्यासको ठूलो हिस्सा मासिएको अनुमान छ ।
तर, दैलेखमा त्यस्तो छैन । त्यो क्षेत्र ग्यास उत्खननका हिसाबले भर्जिन ल्यान्ड हो । त्यसैले सरकारले चाह्यो दैलखको ग्यास उत्खनन र बिक्री वितरण गर्न सक्छ ।
अब के गर्नुपर्छ त ?
व्यवसायिक रुपमा यसको उत्खनन र वितरणको सम्भावनाको अध्ययन र परीक्षण गर्नुपर्छ । सम्भाव्य देखियो भने सरकारले प्राविधिक र व्यवसायिक योजना बनाउनुपर्छ । बजार सुनिश्चित गर्नुपर्छ ।
यस्ता ग्यास अहिले भारतबाट आयात गरेर उद्योगहरुमा प्रयोग हुन थालेको छ । नेपाल आयल निगमले हैन, निजी क्षेत्रकै कम्पनीले नेपालमा यस्तो ग्यास आपूर्ति गरिरहेका छन् ।
नेपालमा रासायनिक मल कारखाना खोल्न खोल्ने चर्चा भएको धेरै भयो । तर, ऊर्जाको उपलब्धता नभएकाले त्यो सम्भव भएको छैन । नेपालमै प्राकृतिक ग्यास उपलब्ध हुन्थ्यो भने सायद यतिबेलासम्म यस्तो उद्योग खुल्न सक्थ्यो ।
त्यसैले दैलेखको ग्यास व्यावसायिक रुपमा नेपालमा उपयोग गर्न सकिने सम्भावना छ । विज्ञहरुका अनुसार दैलेख नजिकका सुर्खेतको वीरेन्द्रनगर लगायतका शहररुमा घर–घरमा ग्यासको पाइपलाइन विस्तार गरेर ग्यास बिक्री वितरण गर्न पनि सकिन्छ ।
तर, ग्यास उत्खनन, खानी र प्लान्ट व्यवस्थापन अनुभव नेपालसँग छैन ।
त्यसैले चीन सरकारसँग नै समझदारी गर्नुपर्छ । चीनलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ । सुरुमा त प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्छ । ग्यास प्रशोधन गर्न रिफाइनरी प्लान्ट बनाउनुपर्छ । उपभोक्तासम्म पुर्याउन पाइपलाइन र पूर्वाधार बनाउनुपर्छ ।
यो काम अब नयाँ बन्ने बालेन नेतृत्वको सरकारले गर्नसक्छ । यसका लागि आधार तयार भइसकेको छ । अब सरकारको इच्छाशक्ति नै ठूलो कुरा हुनेछ ।
चीनले दैलेखमा पहिलो चरणमा यो अन्वेषण गर्न २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरिसकेको छ । चीनसँगको पहिलो चरणको सम्झौतामा अन्वेषणपछि परीक्षण उत्पादनमा सघाउने विषय उल्लेख छैन । खानी विभागले दोस्रो चरणमा परीक्षण उत्पादनको लागि प्राविधिक तथा आर्थिक सहयोगको सम्झौता गर्न चिनियाँ पक्षलाई अनुरोध गरिरहेको छ ।
तर, चीन नेपालमा चुनावपछि आउने नयाँ सरकारलाई पर्खिरहेको छ । नेपाल आयल निगमका पूर्वनिमित्त प्रमुख सुशील भट्टराई यो परियोजना तत्कालै अघि बढाउनुपर्ने बताउँछन् । उनका अनुसार नेपालमा यस्तो ग्यास उपयोग हुनसक्ने क्षेत्र ठूलो छ ।
भट्टराईका अनुसार अहिलेको विश्व संकटकै बीचमा नै दैलेखको ग्यास उपयोग गर्न सकिन्छ भन्ने हैन । तर, आफ्नो प्राकृतिक स्रोत साधनलाई छिटो र अधिकतम् उपयोग गर्नुपर्छ भन्ने पाठ नेपालले फेरि सिकेको छ ।
यसैपनि ऊर्जा आयातमा निर्भर देश सधैं जोखिममा हुन्छन् । सप्लाई रोकियो भने पूरै अर्थतन्त्र प्रभावित हुन्छ । त्यसैले ऊर्जामा दैलेखको ग्यास आत्मनिर्भरतामा महत्वपूर्ण कदम हुन सक्छ ।
अहिलेसम्म त दैलेखको जमिनमुनि रहेको ग्यासबाट घर–घरमा खाना पकाउने कुरा सम्भावना मात्रै हो, तर त्यो सम्भावनालाई यथार्थमा कन्भर्ट गर्न थप अध्ययन, दीर्घकालीन नीति, ठूलो लगानी र दरिलो व्यवस्थापन आवश्यक हुन्छ । दैलेखको जमिनमुनि लुकोको नेपालको भविष्य खोतल्न अबको सरकारले ढिलाइ गर्नुहुँदैन ।
भिडियो हेर्नुस्
रास्वपाको सरकारले कर घटाउँछ ?
नेपालको भविष्य बदल्ने एउटा सुरुङमार्गको दुःखान्त
नजोडी सुख छैन इम्बोस्ड नम्बर प्लेट
बालेनले 'विदेशी चलखेल' भनेर रोकेको फोहोरको प्रोजेक्ट




-1773239709.jpeg)
-1773656815.jpeg)

