नेभिगेशन
अर्थ

स्वर्णिम-विश्व सम्बन्धको तितोमिठो: मित्रता कि मतभेद ?

कुनै बेलाका मिल्ने दौंतरी... 

सँगै काम गरे, एकले अर्कालाई सफल पनि बनाए । 

तर, कठोर राजनीतिले सम्बन्धमा दरार ल्याइदियो । 

दुबै दुई किनार हुनुर्‍यो । 

तर, समयको खेल...

उनीहरु आँधीमा फसेको ‘अर्थतन्त्रको डुंगा’मा भेटिएका छन् । 

यो संकटलाई अब दुई जना मिलेरै पार लगाउनुपर्ने भएको छ । 

हामी कुरा गर्दैछौं, अर्थमन्त्री स्वर्णिम वाग्ले र गर्भनर विश्व पौडेलको । 

जो अब जिोका तितोमिठो भुलेर नमिली सुखै छैन । 
००००
अर्थमन्त्री स्वर्णिम वाग्ले र गभर्नर विश्व पौडेल दुबैको घर चितवन पनि हो । स्वर्णिमको परिवार गोरखाबाट र विश्वको परिवार बाग्लुङबाट चितवन झरेको हो । चितवनकै भएपनि उनीहरु बाल्यकालका साथि हैनन् । 

स्वर्णिमले काठमाडौंको बूढानिलकण्ठबाट एसएलसी दिएका हुन् भने विश्वले चितवनकै नेपाल माविबाट । 

स्वर्णिमले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरे, विश्वले चीनबाट इन्जिनियरिङमा स्नातक पूरा गरे ।
 
स्वर्णिमले अमेरिकाकाको हाभर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा मास्टर डिग्री सकेर अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरे । 

विश्व पौडेल चीनबाट इन्जिनियरिङमा स्नातक सकेर अमेरिककाको क्यालिफोर्नियामा अर्थशास्त्रमा मास्टर डिग्री र पीएचडी गरेका विज्ञ हुन् ।  

स्वर्णिमसँग विश्व बैंक र यूएनडीपीको अर्थशस्त्रीका रुपमा काम गरेको अनुभव छ । अनि विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकार भएर काम गरेको । 

दुई अर्थशास्त्रीहरुको गृह जिल्लाबाहेक अध्ययन र कार्यस्थल बिल्कुलै अलग थियो । दुबै जना नेपालबाट विदेश पुगेर स्थापित अर्थशास्त्री बनेका थिए । उनीहरु अन्तर्राष्ट्रिय एजेन्सीहरुमा काम गर्दै थिए । 

उनीहरुबीच सामान्य चिनजान थियो, घनिष्टता थिएन । तर नेपाली अर्थशास्त्रीका रुपमा एकले अर्काप्रति गहिरो सम्मान राख्थे । 

२०७१ मा स्वर्णिम वाग्ले अमेरिकाबाट नेपाल फर्किए । तत्कालै उनी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भए । त्यतिबेला गोबिन्दराज पोखरेल योजना आयोगको उपाध्यक्ष थिए । 

योजना आयोगमा बसेर स्वर्णिमले प्रभावशाली ढंगले काम गरे । विशेषगरी अर्थतन्त्रको संरचनात्मक सुधारको लागि अनुसन्धनमूलक काममा उनले भूमिका खेले । 

२०७३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष बने । यसपछि सुरु भयो, सहयात्रा । 

सुरुमा स्वर्णिमले विश्व पौडेल चाहिँ योजना आयोगमा वरिष्ठ अर्थशास्त्रीका रुपमा भित्र्याए  । त्यसको कारण विश्वको प्राज्ञिक क्षमता थियो । त्यतिबेला विश्व पौडेल अमेरिकाबाट फर्किएर काठमाडौं विश्वविद्यालयमा पढाइरहेका थिए । कृषि, अर्थराजनीति, इतिहास र अनुसन्धानात्क क्षेत्रमा काबिल थिए ।

इन्जिनियरिङ पृष्ठभूमिबाट अर्थशास्त्री बनेका कारण पनि विश्वलाई स्वर्णिमले सल्लाहकार राख्न धक मानेनन् । 

त्यसपछि स्वर्णिम र विश्वको जोडी जम्यो । यो जोडीले योजना आयोग हाँक्यो । त्यतिबेला उनीहरुले नेपालको आर्थिक विकासको समस्या, योजनावद्ध पूर्वाधार विकासका उल्झन र त्यसको समाधानको विषयमा विभिन्न अनुसन्धानमुलक प्रतिवेदनहरु तयार गरे । प्रोजेक्ट बैंकको अवधारणा ल्याउनेदेखि गौरबका आयोजनाहरुको समस्या सुल्भाउन यो टिमले निकै मिहिनेत गर्‍यो । 

यो जोडीबारे यो एउटा समान धारणा थियो, अब ढिलो चाँडो रामशरण महतहरुको स्थान स्वर्णिम र विश्वहरुले नै लिन्छन् । 

स्वर्णिककै फेरो समातेर विश्व पौडेल तत्कालीन प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवाको टिममा जोडिए । देउवाले पनि २०७४ को चुनावमा कांग्रेसको घोषणापत्रमा आर्थिक सुधारका योजनाहरु तयार गर्न स्वर्णिम र विश्वले भूमिका खेले । तर त्यो बेलासम्म स्वर्णिम हावी थिए । 

कतिसम्म भने कांग्रेसका उम्मेदवारहरुलाई कति चुनाव खर्च दिने भन्ने निर्णय स्वर्णिमलाई जिम्मा दिएका थिए । त्यसैले आलोचकहरुले उनलाई देउवा परिवारको खजान्ची समेत भन्थे ।

चुनावमा वाम गठबन्धनको बहुमत आयो, स्वर्णिम र विश्वले योजना आयोग छाडे । आ–आफ्ना व्यावसायिक काममा लागे । स्वर्णिमकै सिफारिसमा विश्व पौडेलले नेपालमा आउन लागेको एमसीसी परियोजनाको अध्ययन गर्ने संस्थामा प्रमुख अर्थशास्त्रीका रुपमा समेत काम गरेका थिए ।

नेकपाको विभाजनपछि २०७८ मा फेरि देउवा प्रधानमन्त्री भए । त्यो बेला स्वर्णिम फेरि योजना अयोगको सदस्य बन्न चाहन्थे, विश्व चाहिँ सदस्य । तर देउवाले अप्रत्यासित रुपमा विश्वलाई उपाध्यक्ष बनाए । कांग्रेस नेताहरुका अनुसार विश्वलाई रोज्नुको कारण देउवा पत्नी आरजु हुन् । 

स्वर्णिम, तत्कालीन महामन्त्री गगन थापासँग पनि निजिकिएका थिए । त्यो देउवा दम्पत्तिलाई मन परेको थिएन । त्यही समयमा स्वर्णिमले देउवा दम्पत्तिबारे नकारात्मक टिप्पणी गरेको अडियो समेत बुढानीलकण्ठ पुग्यो । त्यो अडियोले स्वर्णिमसँग आरजुको विश्वास टुट्यो । त्यसमाथि अर्का अब्ब्ल अर्थशास्त्री विश्व पनि विकल्पमा थिए । त्यसैले होला,  योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल सहजै नियुक्त भए । 

यो नियुक्तिले स्वर्णिमको मन कुँडियो । स्वर्णिमले देउवा परिवारसँग त रिसाए नै, विश्वसँग पनि टाढिन थाले । 

विश्व पौडेलले जब योजना आयोगमा काम थाले, स्वर्णिमले आफूलाई असफल बनाउन खोजेको कुरा निकटस्थहरुसँग बताउन थाले । पुरञ्जन आचार्य, गोविन्दराज पोखरेल र स्वर्णिम वाग्लेले आफूविरुद्ध षडयन्त्र रचेको कुरा विश्वले साथिभाइलाई सुनाउँथे । भलै पुष्टि भएका कुरा थिएनन् र, सतहमा पनि आएका थिएनन् । यो भित्रभित्र सल्किएको भुसको आगोजस्तो मात्रै थियो । 

स्वर्णिमले भने निकटस्थहरुसँग योजना आयोगमा पुगेपछि विश्व पौडेलले आफूलाई वास्ता नगरेको गुनासो गर्थे । विश्वकै कारण देउवा परिवारसँग आफ्नो सम्बन्ध बिग्रिएको उनको बुझाइ थियो । 

यस्तै–यस्तै तिता गुनासा बढ्दै जाँदा दुई जनाको दूरी बढ्दै गयो । त्यसलाई उत्कर्षमा पुर्‍याए, २०७९ को चुनावले । 

त्यतिबेला विश्व पौडेल योजना आयोगको उपाध्यक्षमै काम गरिरहेका थिए । अनि, स्वर्णिम चाहिँ प्रत्यक्ष चुनाव लड्ने तयारीमा थिए । स्वर्णिम वाग्ले गोरखा–१ वा चितवन–१ मध्ये कुनै एक क्षेत्रमा चुनाव लड्न जान चाहन्थे । गोरखा–१ मा शेखर कोइराला समूहका राजेन्द्र बजगाइँले टिकट पाए । 

त्यसपछि स्वर्णिमसँग चितवन–१ विकल्प रह्यो । तर यहाँ ट्विस्ट त्यतिबेला आयो, जब स्वर्णिम विश्व पौडेलले टिकट हात पारे । योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर उनी चितवन १ मा चुनाव लड्न गए । विश्वको यो निर्णय स्वर्णिमका लागि निकै ठूलै सरप्राइज थियो ।

यसपछि कांग्रेसका तत्कालीन महामन्त्री गगन थापाले आफूले चुनाव लड्दै आएको काठमाडौं–४ स्वर्णिमलाई दिन चाहे । आफू सर्लाही–४ जाने बताए । तर देउवा दम्पत्ति कुनै हालतमा स्वर्णिमलाई रोक्न चाहन्थे । त्यसैले तर काठमाडौं–४ को टिकट आफ्ना विश्वास पात्र नैनसिंह महरले दिएर पठाए । 

त्यसपछि गगनले सर्लाही नगई काठमाडौं ४ मा चुनाव लडे । तर स्वर्णिमको सांसद बन्ने चाहना पुरा भएन । त्यतिबेला स्वर्णिमले आफूलाई निकै अपहेलित महसुस गरे । देउवा दम्पत्तिबारे कडा अभिव्यक्ति समेत दिए । तत्कालीन महामन्त्री गगनको पक्षमा खुलेर प्रस्तुत भए । 

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेलले राजीनामा दिएपछि उपचुनाव घोषणा भयो । उनलाई लागेको थियो, आफ्नो पुरानो थातथलो भएकाले तनहुँ–१ को टिकट पाउँछु । तर, कांग्रेस नेतृत्वमा यसमा पनि अनुदार देखियो । त्यसपछि भने स्वर्णिमले कांग्रेससँगको सहयात्रा नै टुंग्याउने निर्णय लिए । 

स्वर्णिमले कांग्रेसबाट विदा माग्दै लेखेका थिए, प्रिय शेखर दाइ, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी, हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें ।’  

यसपछि स्वर्णिम राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरे । उनले रास्वपाबाट तनहुँ–१ मा उपचुनाव जितेर सांसद बने ।  

स्वर्णिम कांग्रेस र देउवा दम्पत्तिमाथि पटक–पटक खरो प्रतिक्रियाहरु दिन्थे । विश्व पौडेल भने सामाजिक सञ्जालबाट घुमाउरो जवाफ फर्काउँथे । 

जस्तो, रवि लामछिनेको बचाउमा अनिलकेशरी शाह र स्वर्णिम वाग्लेले एउटा पत्रकार सम्मेलन गरेका थिए । त्यतिबेला विश्व पौडेलले घुमाउरो ढंगले लेखेका थिए, ‘आजको दिनमा सभापतिको विरुद्ध खुलारुपमा आफ्नो समूहको मिटिङ राख्न सक्ने दल नेपाली कांग्रेस मात्र हो । पहिला एमाले पनि ‘भाइब्रेन्ट’ थियो । तर अहिले ओलीजीको विरुद्ध खुला मिटिङ राख्न सक्ने स्थिती छैन । माओवादीमा पनि त्यस्तो स्थिती छैन । बाँकी त झन ‘ओन म्यान शो’ भइरहेका छन । सबै दलहरु भेडाहरुको समूह हैन, स्वतन्त्र विचार राख्नेहरुको साझा मञ्च हुनसकुन् । यही शुभकामना ।’ 

यसरी कुनै बेला ‘तिमी’ मा रहेको सम्बन्ध अब औपचारिकतामा सिमित थियो । स्वर्णिम वाग्ले रास्वपामा रमाए, विश्व पौडेल चाहिँ देउवाकै वरिपरि रहे । दुबैको आ–आफ्नै संसार बनेको थियो । 


ओली सरकारमा डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा विश्व पौडेल अर्थ मन्त्रालयको सल्लाहकार भए । त्यही क्रममा गत जेठमा कांग्रेसको रोजाइमा विश्व पौडेल राष्ट्र बैंकको गभर्नर समेत नियुक्त भए । 

भदौमा जेनजी विद्रोह भयो, फागुन २१ को चुनावबाट रास्वपा झण्डै २ तिहाई बहुमतसहित संसदमा आयो ।

रास्वपाबाट स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने चुनाव अगाडि नै पक्का जस्तै थियो । त्यसैले मानिसहरुको चासो थियो, गभर्नर र अर्थमन्त्रीबीच सम्बन्ध कस्तो होला ? रास्वपाले गभर्नरसहित सबै राजनीतिक नियुक्ति लिएकाहरुलाई पद छाड्न आग्रह गरेपछि यो प्रश्नले अझ बल पाएको थियो । 

गर्भनरले राजीनामा देलान् कि नदेलान ? नदिए अर्थमन्त्रीले हटाउलान् कि नहटाउलान् ? धेरैमा यस्तै प्रश्न थियो ।

१३ चैतमा अर्थमन्त्री नियुक्तिकै दिनमा देखिएको दृश्यले थोरै जवाफ दियो । त्यो दिन अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रीको स्वागतका लागि कार्यक्रम राखिएको थियो । गभर्नर पौडेल निर्धारित समयमै पुगे, तर मन्त्री आइपुगेका थिएनन् । त्यसपछि गभर्नर पौडेल मन्त्रीकै कार्यकक्षमा पुगे ।

मन्त्री पत्रकारहरुसँग सम्वाद सकिन्जेल कुरे । अनि, अर्थमन्त्रीलाई भने–मैले फोन गरेको थिएँ, तपाईंले उठाउनुभएन त !’ 

अर्थमन्त्री वाग्लेको स्वभाविक जवाफ थियो, फोन नै मसँग थिएन ।’ 

त्यसपछि सचिवसहित दुबै सुवर्ण हलतिर लागे । स्वागत कार्यक्रममा मन्त्री वाग्लेले गभर्नर पौडेलसँग हार्दिकता देखाए । एउटा सन्दर्भमा ‘फिस रट्स फ्रम द हेड’ अर्थात् माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन्छ भन्ने चिनियाँ उखान सनाउँदा गभर्नरतिर हेरेर भने, ‘गभर्नर साप त चिनियाँ भाषामा पोख्त हुनुहुन्छ ।’

अर्थमन्त्रीले यसो भनिरहँदा गभर्नर मुस्कुराइरहेका थिए । हुन त यो सामान्य कुरा हो । तर, उनीहरु बीचको केमेस्ट्री मिल्ला कि नमिल्ला भन्ने आशंका राख्नेहरुमाझ यो बडी ल्यांग्वेजले केही कुरा बोलेको थियो । अर्थमन्त्री वाग्ले, गर्भनरमा विश्व पौडेललाई स्वीकार्न तयार छन् भन्ने संकेत थियो । 

त्यसपछि पनि अर्थमन्त्री र गभर्नरबीच भेटघाट र छलफल भइसकेको छ । प्रधानमन्त्री बालेन शाह र गभर्नर पौडेलबीच पनि भेटवार्ता भएको छ । यसको मतलब के हो भने तत्काल विश्व पौडेललाई गभर्नरबाट हटाउने जोखिम लिने पक्षमा सरकार छैन । बरु पौडेलको विज्ञतालाई उपयोग गर्ने रणनीतिमै छ । 

यसको अर्थ गभर्नर र अर्थमन्त्रीबीचको सम्बन्ध सुधार भइक्यो भन्ने चाहिँ होइन । तर, विगतलाई लिएर गर्भनरसँग कर्के नजर लगाइराख्ने छुट सरकार र खासगरी अर्थमन्त्री वाग्लेलाई छैन । अनि गभर्नर पौडेललाई पनि विगतको तिक्तता सम्झिाएर सरकारलाई असहयोग गर्ने छुट छैन ।

किनभने अर्थ मन्त्रालय र राष्ट्र बैंक नमिली वर्तमान आर्थिक समस्याहरुको हल खोज्न मुस्किल छ । सरकारको आर्थिक सल्लाहकार नै राष्ट्र बैंक हो । सरकारले ल्याउने आर्थिक नीतिहरुलाई कार्यान्वयन गर्न सहज बनाउने र मौद्रिक नीतिमार्फत आर्थिक नीतिले ल्याउने जोखिम कम गर्ने भूमिका राष्ट्र बैंककै हो । 

त्यसैले राष्ट्र बैंक र सरकार एक–अर्काका परिपूरक हुन् । राष्ट्र बैंकको सहयोग विना सरकारले लिएका आर्थिक लक्ष्यहरु पुरा गर्न समेत मुस्किल हुन्छ । त्यसमाथि अहिले देशको आन्तिरिक अर्थतन्त्र शिथिल छ ।

बजारमा माग घटेको छ । त्यसले गर्दा आन्तरिक उत्पादन झन् कमजोर हालतमा पुगेको छ । उत्पादन नै कम भएपछि त्यसको असर विभिन्न क्षेत्रमा परेको छ । बैंकमा १२ खर्बभन्दा बढी पैसा थुप्रिएको छ । बैंकहरुबाट ऋण लिने बढ्न सकेका छैनन् । थप लगानी हुन सकेको छैन ।

घरजग्गा कारोबारमा मन्दी छ । बैंक ब्याजदर कम भएपनि मान्छे ऋण लिन डराइरहेका छन् । नागरिकहरुले स्वरोजगारका साना व्यवसायका लागि ऋण माग्दा बैंकले नपत्याउने विरोधाभाषपूर्ण अवस्था पनि छ । 

रोजगारीको अभाव छ, मान्छेहरु विदेश जान बाध्य छन् । यही बेला खाडी राष्ट्रमा युद्ध चर्किएपछि विदेशमा भएकाहरुको पनि कचिबेला उद्दार गर्नुपर्ने हो, टुंगो छैन । रेमिट्यान्स घट्ने जोखिम उत्तिकै छ । अहिले वर्षमा झण्डै १८ खर्ब रेमिट्यान्स आइरहेकाले विदेशी मुद्राको सञ्चिति बलियो छ । तर देशले वर्षमा १८ खर्बभन्दा बढीको वस्तु तथा आयात गरिरहेको छ । विदेशी विनियम सञ्चिती पर्याप्त भएपनि त्यसलाई उत्पादनमूलक र प्रतिफलमुखी परियोजनामा परिचालन गर्न सकिएको छैन । देशबाट हुने निर्यात ३ खर्बमा पुर्‍याउन समेत मुस्किल छ । 

आर्थिक वृद्धिदर २–३ प्रतिशतमा खुम्चिएको छ । खाडीमा चर्किएको युद्धको बाछिटाले अर्थतन्त्रमा झन् समस्या थपेको छ । सेयर बजार झन् अस्थिर छ । लगानीकर्ताहरुको मनोबल बढ्नुको साटो घटिरहेको छ । विदेशी लगानीको प्रतिवद्धता आउँछ, तर लगानी आउँदैन । सरकारको सार्वजनिक ऋण बढेको बढ्यै छ । 

सरकारले लक्ष्यअनुसार राजस्व पनि उठाउन सकेको छैन । निजी क्षेत्रलाई पूर्वाधार थप लगानीका क्षेत्रहरुमा प्रवेश दिन कानुनहरु बाधक छन् । राजनीतिक, प्रशासनिक बेथिति र प्रक्रियागत उल्झनको जालोले सबै वाक्क दिक्क छन् । 

सरकारले अघि बढाएका विकासे परियोजनाहरु अलपत्र छन् । ठूला परियोजनामा समयमै काम नहुँदा वर्षमा ४ खर्ब विकास बजेट पनि खर्च हुन सकिरहेको छैन । अलपत्र आयोजनाले नागरिकलाई सास्ती थपेको छ । देशको औद्योगिक, आर्थिक, वित्तीयदेखि सबै क्षेत्रहरुमा सुशासनको चरम अभाव छ । भ्रष्टाचार र अनियमितता देशको सबैभन्दा ठूलो शत्रु बनेको छ । 

अनि, यही बेलामा आम नागरिकले परिर्वतनको आकांक्षा राखेर रास्वपालाई झण्डै दुई तिहाई बहुमत दिएर पठाएका छन् । त्यसैले सरकारले आर्थिक तथा प्रशासनिक सुधारका धेरै महत्वपूर्ण कामहरु गर्नुपर्नेछ । सरकारी खर्चको नियन्त्रण र त्यसमा पारदर्शिता ल्याउनु पर्नेछ । 

निजी क्षेत्रको लागि सहज लगानीको वातावरण बनाउनु छ । उद्योग खोल्न वा व्यापार व्यवसाय गर्न परिरहेको अनेकन झन्झट हटाउनुपर्ने छ । साना व्यवसाय र स्टार्टअपलाई सहयोग गर्नुपर्ने दायित्व पनि सरकारमाथि छ ।स्टार्टअप र उत्पादनमुखी क्षेत्रमा कर्जाको पहुँच बढाउन काम गर्नुपर्ने छ । 


उत्पादनमुखी अर्थतन्त्र बनाउन कृषिमा आधुनिकीकरण, उद्योग विस्तार र निर्यात बढाउने नीति आवश्यक छ । ऊर्जा र पूर्वाधार क्षेत्रको सुधारमा काम नगरी सुख छैन । दीर्घकालीन रुपमा विद्युत उत्पादन बढाएर आन्तरिक खपत र निर्यात दुवै बढाउनै पर्छ । सडक, यातायात, डिजिटल नेटवर्क र औद्योगिक क्षेत्रको विकासलाई अर्थतन्त्रको आधार बनाउनुपर्नेछ ।  

अर्थतन्त्र सबल बनाउन शिक्षा र सीपको रुपान्तरण पनि जरुरी छ । प्राविधिक शिक्षा, सीप विकास र उद्योगसँग जोडिएको शिक्षा प्रणालीमा दीर्घकालीन आर्थिक सुधार गर्नुपर्ने छ । अर्थतन्त्रलाई सुशासन, उत्पादन र उद्यमशीलताको आधारमा सुधार गर्ने हो भने यस्ता काम गर्नैपर्छ । 

यसका लागि अर्थ मन्त्रालय नीति विधि बनाएर मात्रै सम्भव छैन । सरकारले बनाउने नीतिलाई सहयोग गर्ने मौद्रिक नीति चाहिन्छ । सरकारले कुन क्षेत्रलाई कसरी विकास गर्ने भन्ने नीति बनाएपछि त्यसलाई कार्यान्वयन गर्न आवश्यक लगानीका लागि राष्ट्र बैंकको मौद्रिक नीति नै मार्गदर्शक हो । 

एउटा उदहारण हेरौं, मानौं सरकारले उद्योगर कृषि क्षेत्रमा प्राथमिकता दिँदै लगानी बढाउने आर्थिक नीतिहरु ल्यायो । तर, राष्ट्र बैंकले यी क्षेत्रमा प्रवाह हुने कर्जामा उदार नीति लिएन भने सरकारको लक्ष्य प्रभावित हुन्छ । लगानी नै जुटाउन सक्दैनन् उद्योगी र कृषकले । त्यसैले भनिएको हो, राष्ट्र बैंक सरकारको आर्थिक नीतिको मेरुदण्ड राष्ट्र बैंकको मौद्रिक नीति हो ।   

अर्थतन्त्रको ड्राइभिङ सिटमा अर्थमन्त्री वाग्ले छन्, तर, उनलाई सफल बनाउन राष्ट्र बैंकका गर्भनरको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले अर्थमन्त्री स्वर्णिम वाग्ले र गर्भनर विश्व पौडेलले बीच मिलेर काम गर्नुको विकल्प छैन । 

विगतमा आफू अनुकुल नभएको भनेर थुप्रै अर्थमन्त्रीले गर्भनरलाई हटाउने कोसिस नगरेका होइनन् । तर जति पटक गर्भनरलाई हटाएको छ, सबै घटनामा गभर्नरले अदालतबाट मुद्दा जितेर फर्किएका छन् । 

अर्थमन्त्री महेश आचार्यले तिलक रावललाई, बाबुराम भट्टराईले विजयनाथ भट्टराईलाई र जनार्दन शर्माले महाप्रसाद अधिकारीलाई विभिन्न आरोपमा बर्खास्त गरेका थिए । तर तीन जना नै अदालतबाट पुनर्बहाली भए । किनकी राष्ट्र बैंक ऐनले गभर्नरलाई सजिलै हटाउन नसकिने व्यवस्था गरेको छ ।

त्यसैले अर्थमन्त्री वाग्लेले शायद, आफ्ना पुराना मित्रसँग सम्बन्ध सुधारको विकल्प देखेका छैनन् । गभर्नर पौडेलसँग पनि बलियो जनादेशसहित आएको सरकारलाई सहयोग गर्नुको विकल्प छैन । सरकारलाई सहयोग गर्दा राष्ट्र बैंकको स्वायत्तताको रक्षा गर्नु पनि उनको कर्तव्य हुनेछ । 

रास्वपाले ५ वर्षभित्र सय अर्ब डलरको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । अब सरकारको यो लक्ष्यसँग मेल खाने गरी वित्तीय उपरकणहरु परिचलान गर्न राष्ट्र बैंकको भूमिका हुनेछ । 

सरकारले वार्षिक ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । यो लक्ष्यतिर सरकार नीतिगत रुपमै सुधार गरेर अघि बढ्यो भने बजारमा महँगीदर पनि उत्तिकै बढ्नसक्छ । त्यसैले सजग भएर मनोटरी टुल्सको उपयोग गर्ने दायित्व गभर्नरको काँधमा छ । 

अहिले देशको ब्यालेन्स अफ पेमेन्ट, फरेन एक्स्चेन्ज रिजर्भ, रेमिट्यान्स लगायतका अर्थतन्त्रका बाह्य पक्ष सबल छन् । तर यस्ता पक्षलाई रेमिट्यान्सले थेगेर राखेको छ, जुन दिगो होइन । 

त्यसैले नेपाली अर्थतन्त्रका समस्या र चुनौतीलाई पार लगाउन स्वर्णिम वाग्ले र विश्व पौडेलले मिलेर काम गर्नुको विकल्प छैन । उनीहरुको हात र काँध मिल्यो भने अर्थतन्त्रको संरचना सुधार्न सकिन्छ । 

राजनीतिक आस्थाका आधारमा स्वर्णिम र विश्वबीच मतान्तर होलान् । तर अर्थतन्त्रको समस्या र त्यसको समाधानको बाटोमा उनीहरुको उस्तै मत सुनिन्छ । 

यो इतिहासले जुराएको अवसर पनि हो कि कुनै बेला सँगै योजना आयोग हाँकेका दुई दौैंतरीहरु अहिले एउटै उद्देश्य लिएर काम गर्ने ठाउँमा पुगेका छन् । बिरामी अर्थतन्त्रलाई दुई डाक्टर अर्थशास्त्री मिलेर उपचार गर्ने अवसर हो यो । सबैको चाहना होकि अब यो जोडीले विगतको तितोमिठो सबै भुलेर राष्ट्रिय स्वार्थलाई सबैभन्दा माथि राखेर कम गरुन् । उनीहरु फ्ट्दा हैन, मिल्दा देशको आर्थिक विकासले गति पाउने सम्भावना छ । यसलाई उनीहरुले अवसरका रुपमा उपयोग गरुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ