‘छाती त थापेकै छु, तर काठमाडौंको केस फरक हो’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीनहरुको बस्तीमा डोजर चलाए आफूले छाती थाप्छु भनेका विषयमा स्पष्टीकरण दिएका छन् ।
आइतबार रास्वपा सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले भूमिहीनको बस्तीमा डोजर चलाएमा अहिले पनि छाती थाप्ने बताए । तर काठमाडौंको घटना भने अलग भएको उनले जिकिर गरे ।
काठमाडौंमा गैरकानुनी रुपमा जग्गा हडपिएको, खोला छेउमा असुरक्षित तरिकाले बसोबास गरिएको र वर्षौंदेखि पेन्डिङमा रहेकाले डोजर चलेको लामिछानेले बताए ।
तर अन्य ठाउँमा यस्तो समस्या नभएको उनको भनाइ छ ।
काठमाडौंमा पनि भूमिहीनहरुको बस्ती खाली गराउँदा यो भन्दा राम्रो तरिका अपनाउन सकिने भन्दै उनले यसलाई सुधार गर्नुपर्ने बताए ।
सुकुम्बासी बस्तीमा डोजर चलाएकोबारे रविको भनाइको सम्पादित अंश :
सुकुम्बासी समस्याको विषयमा हामीलाई गाह्रो भयो, हामीलाई (मतदाताले) यसो भनिरहनुभएको छ भन्नुहोला, गाह्रो मान्नै पर्दैन ।
यो समस्या रास्वपाले खडा गरेको हो र ? हाम्रो कारणले एउटा घर सुकुम्बासी बनेको छ ? हाम्रो कारणले खडा भएको एउटा पनि होइन, हामी त समाधान गर्दैछौं ।
यो त पुराना राजनीतिक दलले भोट बैंकका रुपमा खडा गरेर उनीहरुको समस्यालाई आफ्नो लाभका लागि प्रयोग गरेको भन्ने कुरा त जगजाहेर छ नि । हामी त्यसलाई समाधान गर्न चाहन्छौं । समाधान गर्ने क्रममा अझ राम्रो तरिकाले समाधान गर्न सकिन्थ्यो कि, सकिन्थ्यो होला, गरौंला पनि ।
तर फेरि पनि दोहोर्याउँछु, तपाईंहरु निर्धक्कका साथ के भन्न सक्नुहुन्छ भने अव्यवस्थित रुपमा खोलाको छेउमा असुरक्षित ढंगले बस्नुभएका, हाकाहाकी, देखादेखी, सोझै, गैरकानुनी ढंगले हडपिएको अवस्थामा कदम चालिएको हो ।
त्यसभन्दा बाहेक कसैले पनि आत्तिनु पर्दैन । त्यसका लागि छाती थाप्छु भनेको हो, छाती त थापिएकै छ नि अहिले पनि, सबैलाई लालपूर्जा दिन्छौं ।
समस्या त ३० वर्षदेखि उहाँहरुले खडा गर्नुभयो, छाती हाम्रो थापिएको छ, छाती अहिले पनि थापिरहेका छौं, छाती हटाउँदैनौं, तबसम्म हटाउँदैनौं जबसम्म भूमिहीनले आफ्नो अधिकार पाउँदैनन् ।
हामी व्यवहारिक रुपमा यो समस्यालाई स्थायी रुपमा समाधान गर्छौं । खोला छेउमा अव्यवस्थित रुपमा रहेकाहरुका लागि सरकारले चालेको कदम, लामो समयदेखि पेन्डिङमा रहेको काठमाडौको हकमा भएको विषयलाई लिएर कसैले पनि राजनीतिक रुपमा भूमिहीन साथीहरुलाई उचाल्नुपर्दैन । तपाईहरु उचाल्दै गर्नुस् हामी दिन्छौं लालपूर्जा ।
कतिपय साथीहरुले अहो सभापतिज्यू हाम्रोमा भूमिहीनहरुले अप्ठेरो पार्ने भए, हामीलाई भोटै दिँदैनन् कि क्या हो भन्नुहुन्छ ।
चुनावको बेलामा पनि भनेको छु म झु्टा वाचा गरेर चुनाव जित्नु भन्दा हार्न तयार छु । म झुटो वाचा गर्नेवाला छैन । यसलाई शक्तिशाली आयोग बनाएर (सुकुम्बासीहरुको) वर्गीकरण गरेर अधिकार दिने कुरा सुनिश्चित गर्न सक्छौं ।
तर अत्यन्त समस्याका रुपमा देखिएका, हाकाहाकी गैरकानुनी देखिएका, नागरिक असुरक्षित रहने खोला किनारमा बसेका साथीहरुको हकमा काठमाडौंमा जे भएको हो, देशैभरिको अवस्था त्यो होइन ।
उहाँहरु जजसलाई उठाइएको छ । उहाँहरुलाई (बसोबासको) सुनिश्चित गर्छौंं उहाँहरुले आफ्नो हक अधिकार पाउनुहुन्छ । एउटा पनि नागरिकलाई घरबारविहीन बनाइने छैन । तपाईंहरुले शानका साथ भन्न सक्नुहुन्छ, कसैले कुनै पनि अप्ठेरो मान्नुपर्दैन ।
सरकारबाट कमी कमजोरी भए होलान्, कमजोरी भएको रहेछ भने ती सुध्रिन्छन् । यत्तिका वर्ष सुकुम्बासीहरुलाई राजनीतिको शिकार बनाइयो । भोट जसलाई हाले पनि हुन्छ, तर समस्याको समाधान रास्वपा सरकारले गर्छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








