महामन्त्री राणाले राप्रपा छाडे, अब नयाँ पार्टी खोल्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छाडेका छन् । उनले राप्रपा जनताको नजरमा गिरिसकेको, पार्टीमा धमिरा लागिसकेको र आफ्नो निष्ठाका मानकहरुको संरक्षणसमेत गर्न नसक्ने निश्चित भएको भन्दै अब नयाँ पार्टी गठन गर्ने बताएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीमा विगत चार वर्ष तनाव र दूषित भावमा बितेको बताए । संस्थापनले नेता, कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने गरी लखेटिरहने, कारबाही गरिरहने र आफूहरु अन्यायविरुद्ध बचाउमा लागिरहने काम मात्र भएको राणाले बताएका छन् ।
निजी स्वार्थमा संस्थापनबाट नै स्व:पक्षीय गुट बनाइयो, त्यसको एकमात्र ध्येय पार्टी कब्जामा सीमित रह्यो। आत्मियता, परस्पर सद्भाव धुजाधुजा बनाइयो । वैचारिक आदर्शसंग धोका र खेलवाड प्रतिविम्व भयो कि, राप्रपा भित्रभित्रै मक्कियो। प्रतिफलस्वरूप राप्रपा जनताको नजरमा गिर्यो र जनमतबाट तिरस्कृत बन्यो', उनले भनेका छन् ।
जनस्तरबाट प्राप्त सद्भाव र विश्वासलाई आत्मसात गर्दै समयको माग र राष्ट्रको आवश्यकताअनुरूप एक कर्मनिष्ठ राष्ट्रवादी राजनीतिक दलको नवनिर्माणको प्रक्रियाको थालनी भएको राणाले बताएका छन् ।
उनले संवैधानिक राजसंस्थात्मक जनप्रतिनिधिमूलक आधुनिक प्रजातान्त्रिक राज्यप्रणाली तथा हिन्दु, बौद्ध, किरात सहितको सनातनी पहिचान अब बन्ने पार्टीको आधारशीला हुने बताएका छन् ।
२०७८ साल मंसिरमा भएको महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित हुँदा धवल महामन्त्री निर्वाचित भएका थिए । त्यतिबेलाका अध्यक्ष कमल थापाविरुद्ध लिङ्देन र राणाले मिलेर मोर्चाबन्दी गरेका थिए । तर उनीहरुको सहकार्य लामो समय टिकेन ।
लिङ्देन पक्षले राणाले पार्टी हित विपरीत गुटबन्दी गरेको आरोप लगाए भने राणा पक्षले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि आपत्ति जनाए ।
पार्टीभित्र गुटगत झगडा बढ्दै गएपछि राणा पक्षका १८३ जना नेताले बिहीबार नै पार्टी छाडेका छन् । जसमा उपाध्यक्ष मुकुन्दश्याम गिरी, नेता दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुन लावती, धनसुर शाहीलगायत रहेका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








