निर्वाचन आयोगको सुझाव : प्रतिनिधिसभामा १०५ र राष्ट्रियसभामा ३० सांसद
नेपालमा जनप्रतिनिधिहरु धेरै भएकाले घटाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्मका जनप्रतिनिधि झण्डै आधाले घटाउन सुझाव दिएको छ ।
संविधान संशोधनको बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदललाई २१ बुँदे सुझाव पठाउँदै निर्वाचन आयोगले प्रतिनिधिसभा १०५ सदस्यीय र राष्ट्रियसभा ३० सदस्यीय बनाउन सुझाव दिएको छ । स्थानीय तहका वडा सदस्यको संख्या ४ बाट २ जनामा झार्न पनि सुझाव दिएको छ ।
प्रतिनिधिसभामा हाल २७५ जना सांसद हुन्छन् । तीमध्ये १६५ निर्वाचन क्षेत्रबाट १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् ।
निर्वाचन आयोगले ७७ जिल्लाबाट १/१ जना गरी ७७ जना प्रत्यक्ष निर्वाचित हुने र २८ जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्थाको परिकल्पना गरेको छ ।
प्रत्यक्ष प्रणालीमा जिल्लागत प्रतिनिधित्व हुने र समानुपातिक प्रणालीमा प्रदेशगत रुपमा समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने आयोगको सुझाव छ ।
हाल ५९ सदस्यीय रहेको राष्ट्रियसभालाई ३० सदस्यमा झार्न पनि आयोगले सुझाव दिएको छ । जसमध्ये प्रत्येक प्रदेशबाट ४–४ जनाको दरले २८ जना र सरकारले मनोनित गर्ने एक महिलासहित २ जना हुने आयोगको सुझाव छ ।
हाल राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८/८ जना निर्वाचित हुने र सरकारले ३ जना मनोनित गर्ने व्यवस्था छ । आयोगले उपराष्ट्रपति छुट्टै निर्वाचन नगर्ने, बरु राष्ट्रियसभाका अध्यक्षले नै उपराष्ट्रपतिको काम गर्ने व्यवस्थ ागर्न सुझाव दिएको छ ।
आयोगले प्रदेशसभामा समानुपातिक प्रणाली नराख्ने र प्रदेशभित्रका प्रत्येक जिल्लाबाट दुई जना निर्वाचित हुने व्यवस्था राख्ने सुझाव दिएको छ । प्रतिनिधिसभामा एक जिल्लाबाट १ जना मात्र प्रत्यक्ष निर्वाचित हुनेछन् भने प्रदेशसभामा प्रतिनिधिसभाको दोब्बर संख्यामा निर्वाचित हुने व्यवस्था गर्नुपर्ने आयोगको सुझाव छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य हुन २१ वर्ष उमेर पूरा हुनुपर्ने र राष्ट्रियसभाका लागि ३० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्न पनि आयोगले सुझाव दिएको छ । हाल प्रतिनिधिसभा र प्रदेशसभाका लागि २५ वर्ष र राष्ट्रियसभाका लागि ४५ वर्ष पूरा भएको हुनुपर्छ ।
स्थानीय तहको चुनाव गैरदलीय गराउन पनि आयोगको सुझाव छ । अनि हाल प्रत्येक वडामा एक जना वडाध्यक्ष र ४ जना वडासदस्य रहने व्यवस्था छ ।
वडा सदस्य ४ बाट २ मा झार्न पनि सुझाव दिइएको छ । जसमा एक महिला अनिवार्य हुनुपर्नेछ ।
त्यस्तै जिल्ला सभा र जिल्ला समन्वय समिति खारेज गर्न सुझाव दिएको छ ।
संघीय सरकार र प्रदेश सरकारमा संसद सदस्य बाहिरबाट मन्त्री बनाउने व्यवस्था राख्न पनि निर्वाचन आयोगले सुझाव दिएको छ । त्यस्तै संवैधानिक आयोगहरुको संख्या घटाउन र त्यहाँका आयुक्त तथा सदस्यको संख्या घटाउन पनि निर्वाचन आयोगले सुझाव दिएको छ ।
निर्वाचन आयोगमा पनि प्रमुख आयुक्त र २ जना आयुक्त भए पुग्ने भनेको छ । प्रमुख आयुक्तसहित ३ आयुक्तमध्ये एक जना प्रशासन विज्ञ, एक जना कानुन विज्ञ र एक जना सूचना प्रविधि विज्ञ हुनुपर्ने सुझाव दिएको छ ।
संवैधानिक आयोगका पदाधिकारी हुन ४० वर्ष उमेर पूरा हुनुपर्ने र स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने सुझाव दिएको छ ।
निर्वाचन आयोगले चुनावको मिति तोक्ने र राजनीतिक दलहरुको नियमन र व्यवस्थापनको अधिकार निर्वाचन आयोगलाई दिन पनि सुझाव दिएको छ ।
आयोगले निर्वाचनसम्बन्धी विवाद हेर्न विशिष्टीकृत अदालतको गठन गरी निर्वाचन सकिएको एक वर्षभित्र निर्वाचन विवाद टुंगो लगाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








