भारतबाट फर्किए रवि, सीमा समस्याबारे के भने ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्केका छन् । स्वदेश फर्किएपछि शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भारतसँग समृद्धिको विषयमा कुराकानी भएको बताए ।
सभापति लामिछानेले भने, ‘हामीले अगाडि बढ्न चाहेको क्षेत्र समृद्धिसँग जोडिएको क्षेत्र हो । खेलकुददेखि आईटीसम्मको वाइडर पिक्चरको कुराकानी गरेको छु ।’
आफूले भारतसँग कस्तो साझेदारी खोजेको भन्ने विषयमा प्रष्ट खाका राखेको पनि रविले खुलाए । विगतमा भएका राम्रो कुरालाई निरन्तरता दिने र कमजोरीको भारी नबोक्ने भन्दै भारतसँगको सम्बन्ध रिसेट भएको पनि टिप्पणी गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अरु नेताहरुसँगको कुराकानी पारदर्शी रुपमा भएको र परराष्ट्र मन्त्रालयका प्रतिनिधिका रुपमा भारतका लागि नेपालका कार्यबाहक राजदूत सहभागी भएको पनि उनले बताए ।
पत्रकारले रविलाई आफू टेलिभिजन प्रस्तोता हुँदा भारतसँगको सीमा सम्बन्धी विषय जोडतोडले उठाएको सम्झाउँदै अहिले उठाउनुभयो कि उठाउनुभएन भन्दै प्रश्न गरेका थिए ।
जवाफमा रविले पत्रकार र एक्टिभिस्ट हुँदा उठाएको कुरा देशको ठूलो पार्टीको नेताका रुपमा उठाउन नमिल्ने जवाफ दिए ।
‘एक्टिभिस्टले उठाउने विषय, पत्रकारले उठाउने विषय र एउटा देशको सबैभन्दा धेरै जनाले पत्याएको राजनीतिक दलका रुपमा त्यसले उठाउने विषय । त्यसका फरक फरक जिम्मेवारी र फरक फरक संवेदनशीलता र जिम्मेवारी बुझ्न सकिएन भने कुटनीतिमा त्यसको महत्व हुँदैन’, उनले भने ।
लोकप्रियताका लागि कुरा उठाउन सजिलो भए पनि समस्या समाधान गर्न गाह्रो रहेको भन्दै रविले नेपालले सही ठाउँमा सही ढंगले आफ्ना कुरा राख्ने बताए । ‘ती कुरा कुटनीतिक माध्यमबाट अगाडि बढ्ने भएका हुनाले ती सडकका, सदनका वा मिडियाका चासो भन्दा माथि हुन्छन्’, रविले भने ।
प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ नै आधिकारिक भएको बताए ।
अनि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला के हो भनेर पत्रकारले सोधेको प्रश्नमा रविले भने, ‘निर्वाचन अगाडि हामीले लेखेको कागज पढ्न भन्न चाहन्छु । हामी अस्थिरताको पक्षमा होइन, स्थिरताको पक्षमा छौं ।’
चार दिने भारत भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने जेठ १८ गते नयाँदिल्ली प्रस्थान गरेका थिए । भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनलगायतसँग भेट गरेका थिए । उनले भारतमा नेपाली समुदायसँग पनि भेटघाट र संवाद गरेका थिए ।
रविसँगै रास्वपा नेता तथा सांसदहरु विपिनकुमार आचार्य र दीपकराज बोहरा पनि भारत भ्रमणमा गएका थिए ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








