नेभिगेशन
अर्थ

कर्णालीको तिरमा फाइभस्टार होटलसहित केबलकार

कर्णाली नदी पहाडका कन्दराहरु छिचोल्दै जब कैलालीको चिसापानी आइपुग्छ, तब यसको रुप हेर्नलायक बन्छ । चिसापानी भन्नेबित्तिकै हाम्रो आँखा अगाडि आउँछ, त्यो एउटा खम्बामा ठिंग उभिएको प्रख्यात केबल स्टे ब्रिज । 

यहाँ कल–कल बगेको कर्णाली अनि वरिपरिका हरिया डाँडाहरु हेरेर जो कोही मोहित हुन्छ । त्यसैले कर्णाली वा सुदूरपश्चिम क्षेत्रमा पुग्नेहरु एकपटक चिसापानीको यो पुल र यहाँको सुन्दरता हेर्न सकेसम्म समय मिलाएकै हुन्छन् । 

वर्षौंदेखि कर्णााली र सुदूरपश्चिमको एउटै गुनासो छ, प्रकृतिले यो क्षेत्रलाई अथाह सुन्दरता त दियो, तर त्यो सुन्दरता केवल सम्भावनामै सीमित रह्यो । 

हो पनि यही चिसापानी आउने पर्यटकहरु पुलमा रोकिन्छन्, एक छिन टहलिन्छन्, अनि फर्किहाल्छन् । यहाँ पर्यटकलाई भुलाउने अड्याउने र स्थानीय स्तरमा पैसाको कारोबार गराउने ठूला पूर्वाधार नै छ्रैनन् । 

अब समय बदलिँदैछ । चिसापानी क्षेत्रको यो वर्षौंदेखि समस्या समाधान गर्न बनिरहेको एउटा ड्रिम प्रोजेक्ट छ, जालपादेवी केवलकार । यो त केबलकार मात्रै हैन, भविष्यमा सुदूरपश्चिमको आर्थिक भविष्य परिवर्तनको जग बसाल्ने टुरिजम ब्रान्ड पनि बन्नसक्छ । 

०००

झण्डै एक दशकअघि स्थानीय १०० जना व्यवसायीले चिसापानी क्षेत्रको विकासका लागि एउटा योजना बनाएका थिए, यहाँ केलबकार बनाउने । तर, न उनीहसँग पर्याप्त पूँजी थियो, न प्रविधि र न त यसको अनुभव नै ।

केवलकार बनाएर मात्रै भएन, त्यसको सञ्चालन, व्यवस्थापन र प्रवद्र्धन गर्नुपर्ने हुन्छ । जुन प्राविधिक रुपमा पनि कठिन काम हो । 

तर, जब देशकै प्रतिष्ठित व्यवसायिक घराना ‘आईएमई समूह’ यसमा जोडियो, तब यो परियोजना बन्ने सम्भावना बढेर गयो । किनभने आईएमई समूह काठमाडौंमा चन्द्रागिरी, चितवनमा मौलाकाली, बुटवलमा लुम्बिनी केबलकार चलाइसकेको अनुभव भएको समूह हो । सातवटै प्रदेशमा एक–एक वटा ठूला केबलकार प्रोजेक्ट बनाउन अघि बढेको यो कम्पनीले सूदूपपश्चिममा चिसापानीदेखि राजकाँडा जाने जालपादेवी केबलकारलाई रोज्यो । 

सबै प्रक्रिया पुरा गरेर २०८१ साल पुस १३ गते आयोजनाको शिलान्यास भयो । २०८२ जेठबाट तीव्र गतिमा काम भइरहेको छ । अहिले करिब ८५ प्रतिशत काम सकिएको छ । र निकट भविष्यमै यो केबलकार पनि सञ्चालनमा आउँदैछ । 

यसको सुरुवाती विन्दु अर्थात् ‘बटम स्टेसन’ कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ मा पर्ने चिसापानीमा छ । यो बटम स्टेशन कणाली पुलको नजिकै छ । यहाँबाट पर्यटकहरुलाई लिएर केबलकार चुरेभन्दा माथि महाभारत पर्वत शृंखलाको काखमा रहेको मोहन्याल गाउँपालिका वडा नम्बर ७, राजकाँडा पुग्ने छ । त्यहीँ छ यसको टप स्टेशन । 

यो केबलकारको कुल लम्बाई ३.१ किलोमिटर छ । यसमा ३४ वटा आकर्षक गोण्डला अर्थात् यात्रु बस्ने डिब्बाहरु प्रयोग गरिनेछन् । १५ वटा टावरहरु राख्ने काम लगभग सकिएको छ । अहिले केबल राखेर त्यसमा गोन्डला जोड्ने काम भइरहेको छ । 

अहिले बटम र टप स्टेसनका सिभिल संरचना निर्माणका कामहरु तीव्र गतिमा भइरहेका छन् । यसको अर्थ अबको केही महिनाभित्रै चिसापानी माथि आकाशमा जालपादेवी केबलकारका गोण्डलाहरु डुलिरहेको देख्न पाइनेछ ।

जालपादेवी केबलकारलाई एउटा कम्प्लिट पर्यटकीय ‘प्याकेज’ बनाइँदैछ । यो परियोजना अन्तर्गत दुवै स्टेशन र आसपासका क्षेत्रमा विश्वस्तरीय पूर्वाधारहरु निर्माण गरिँदैछ । चिसापानीमा बन्ने बेस स्टेशनमा आधुनिक सुविधायुक्त संरचनाहरु बन्दैछन् । यहाँ आउने पर्यटकहरूका लागि सुविधायुक्त फाइभस्टार होटल खोलिँदैछ । 

यहाँ ठूला सभा–समारोह र सम्मेलनका लागि ब्यांक्वेट हल पनि बनाइँदैछ । यस्तै रेस्टुरेन्ट, क्याफे र पार्किङको व्यवस्था पनि गरिँदैछ । 

केबलकारको टप स्टेशन राजकाँडालाई पनि हिल स्टेशनका रुपमा विकास गरिँदैछ । त्यहाँ जालपादेवी मन्दिरको दर्शन गर्न सकिनेछ । जालपादेवी मन्दिर सुदूरपश्चिम क्षेत्रमा पवित्र तीर्थस्थल हो । यो मन्दिर क्षेत्र विकासको काम पनि अहिले चलिरहेको छ । 

यसबाहेक यहाँ एड्भेन्चर रुचाउनेहरुका लागि सीसाको पुलमा स्काइवाकको सेवा दिइँदैछ । यहाँ आधुनिक रिसोर्ट समेत सञ्चालन हुनेछ । पहाडी भेगको चिसो मौसममा आरामदायी बसाइका लागि यो क्षेत्र नयाँ गन्तब्य बन्ने छ ।

यस्तै यहाँबाट कर्णाली नदीको घुमाउरो बगाइ र तराईका समथर फाँटहरुको मनोरम दृश्य नियाल्न सकिनेछ । यसका लागि भ्यूटावर र पार्कको निर्माण पनि गरिँदैछ । प्रकृतिको नजिक रहेर हिँड्न चाहनेहरुका लागि व्यवस्थित फुट ट्रयाक पनि विकास गरिँदैछ । 

कैलाली र आसपासको क्षेत्रमा चैत–वैशाखमा अत्याधिक गर्मी हुन्छ । यस्तो अवस्थामा चिसापानीबाट मात्र केही मिनेटको केबलकार यात्रा तय गरी राजकाँडाको शीतल मौसममा पुग्न सकिनु आफैंमा एउटा जादुमयी अनुभव हुनसक्छ । यसले गर्दा यो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट ‘समर रिट्रिट’बन्ने निश्चित छ ।

जालपादेवी केबलकार परियोजनाको सबैभन्दा बलियो र रणनीतिक पक्ष भनेको यसको भौगोलिक अवस्थिति र विशाल भारतीय बजारसँगको निकटता हो । सुदूरपश्चिम प्रदेशको सीमाना भारतका दुई ठूला र अत्यधिक जनसंख्या भएका राज्यहरु उत्तर प्रदेश र उत्तराखण्डसँग जोडिन्छ । यी दुई राज्यमा मात्रै २७ करोडभन्दा बढी मानिसको बसोबास छ । 

दिल्ली, लखनउ, बरेली, र देहरादून जस्ता ठूला शहरहरुबाट सडकमार्ग हुँदै नेपालको सीमासम्म आइपुग्न निकै सहज छ । सीमा नाकाबाट चिसापानीको दूरी हेर्ने हो भने धनगढीको गौरीफन्टा नाका करिब ८८ किलोमिटर दूरीमा छ । नेपालगन्जको रुपैडिया नाकाबाट ९३ किलोमिटर दूरीमा छ । कञ्चनपुरको गड्डाचौकी नाका करिब १२५ किलोमिटरको दूरीमा छ । 

यसको अर्थ के हो भने, सीमावर्ती भारतीय शहरका नागरिकका लागि केही घण्टाको सडक यात्राबाटै नेपालको यो सुन्दर पर्यटकीय क्षेत्रमा आउन सम्भव छ । गर्मी महिनामा भारतका समथर भूभागमा अत्यधिक गर्मी हुँदा त्यहाँका बासिन्दाहरु शीतल ठाउँको खोजीमा हुन्छन् । 

चिसापानीको कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने, बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्ने, जालपादेवीको दर्शन गर्ने र राजकाँडाको चिसो मौसममा रमाउने एकीकृत प्याकेज पाएपछि भारतीय पर्यटकहरुको पहिलो रोजाइ यो क्षेत्र बन्न सक्छ ।

त्यसैले यो परियोजना नेपाली पर्यटक मात्रै हैन, भारतीय पर्यटक लक्षित पनि हो ।   

०००

सुदूरपश्चिमको एउटा तीतो यथार्थ छ, यहाँका हजारौं युवाहरु रोजगारीका लागि कि त भारतका शहर पस्नुपर्छ  कि त खाडी मुलुक पलायन हुनुपर्छ । गाउँघरमा केवल वृद्धवृद्धा र बालबालिका मात्र बाँकी रहने अवस्था छ । 

तर, जालपादेवी केबलकार परियोजनाले यो बाध्यतालाई केही हदसम्म भएपनि कम गर्नेछ । जब यति ठूलो पूर्वाधार निर्माण हुन्छ, तब यसले रोजगारीका नयाँ ढोकाहरु खोल्छ । प्रत्यक्ष रूपमा केबलकार, होटल र रिसोर्टहरुमा सयौं प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले रोजगारी पाउनेछन् । 

अप्रत्यक्ष रूपमा यसको प्रभाव अझ व्यापक हुनेछ, पर्यटकको आवागमन बढेसँगै यहाँ पुग्ने बस र अन्य सवारी साधनमा यात्रु बढ्नेछन् । बटम स्टेसन वरपर नयाँ क्याफे र रेस्टुरेन्ट अनि पर्यटक लक्षित व्यवसायहरु खुल्नेछन् । 

होटल र रेस्टुरेन्टहरूका लागि चाहिने तरकारी, फलफूल, दूध, र मासुको आपूर्ति स्थानीय तबरबाटै हुनसक्छ । कर्णाली र सुदूरपश्चिमका रैथाने उत्पादनले यहाँ बजार पाउन सक्छन् । चिसापानी र आसपासका क्षेत्रमा रहेका थारु होमस्टेहरुले नयाँ जीवन पाउन सक्छन् । यसले सिधै ग्रामीण अर्थतन्त्रमा ठूलो योगदान दिनसक्छ । 

पर्यटन व्यवसायीहरूका अनुसार अहिले चिसापानी आउने पर्यटकहरु केही घण्टा मात्र बसेर फर्कन्छन्, जसले गर्दा उनीहरूले त्यो ठाउँमा पैसा निकै कम खर्च गर्छन् । तर केबलकार र अन्य साहसिक पूर्वाधार बनेपछि पर्यटकहरुको बसाइ कम्तीमा १–२ दिन लम्बिन सक्छ । पर्यटक जति धेरै दिन बस्छन्, स्थानीय बजारमा त्यति नै बढी आर्थिक गतिविधि चलायमान हुन्छ ।

आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार जालपादेवी केबलकार केवल एउटा व्यापारिक परियोजना मात्र होइन । यो देशका सातै प्रदेशमा ठूला पर्यटन पूर्वाधार विस्तार गर्ने र निजी क्षेत्रको लगानीमार्फत आर्थिक रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिको एउटा महत्वपूर्ण कडी हो । 

ढकालका अनुसार करिब २ महिनामा यो केलबकार सञ्चालनमा आउनेछ । निजी क्षेत्रले जिम्मा लिएका परियोजनाहरु तोकिएको समय, बजेट र गुणस्तरमा सम्पन्न गर्न सक्छ भन्ने यो आयोजनाले फेरि एक पटक प्रमाणित गर्न लागेको छ । 

व्यवसायी ढकालको भनाइ छ, ‘नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सके मात्र पर्यटकको संख्या बढाउन, बसाइ लम्ब्याउन, खर्च बढाउन र स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ । 

त्यसैले आफ्नो समूहले सातै प्रदेशमा यस्तै खालका पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्यसहित अघि बढको उनको भनाइ छ । उनका अनुसार यो केबलकार सुदूरपश्चिमको पर्यटन विकासका लागि नयाँ आकर्षण केन्द्र बन्नेछ ।

हो, यहाँ निजी क्षेत्रले पर्यटनको क्षेत्रमा लगानीको ‘जग’ हालेको छ, अब पालो राज्य र स्थानीय समुदायको । सरकारले सुदूरपश्चिमलाई पर्यटकीय गन्तब्य बनाउने सपना देखाएको वर्षौं भयो । तर, एउटा राम्रो निजी लगानी समेत त्यहाँ पुर्‍याउन पहल भएन । अहिले निजी क्षेत्र आफैंले जोखिम लिएर सम्भावनालाई अवसरमा बदल्न आँट गरेको छ ।   

अब सरकारले सडक पूर्वाधारको स्तरोन्नति, सीमा नाकामा पर्यटकहरुका लागि सहज वातावरण र यो परियोजनालाई बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोड्ने एकीकृत पर्यटन सर्किट बनाउन सरकारी तत्परता आवश्यक देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ