सिन्धिया राज घरानाको सम्पत्ति विवादको नेपाल कनेक्सन
भारतको एउटा पुरानो राजघरानाको सम्पत्ति विवाद । जसमा नेपालको पनि नाम जोडिएको छ ।
झण्डै ४० वर्षदेखिको सम्पत्ति विवाद छिनोफानो हुँदा, एक जना नेपाली नेताले पनि लाभ पाउने खबरहरु आएपछि धेरै नेपालीको चासो बढेको छ ।
०००
भारतमा अंग्रेजहरुले शासन गर्दा विभिन्न क्षेत्रमा राजा रजौटाहरुको शासन थियो । जब भारत सन् १९४७ मा स्वतन्त्र भयो, त्यसपछि राजा रजौटा प्रथा पनि अन्त्य भयो । सन् १९५० देखि भारत आधिकारिक रुपमा गणतान्त्रिक राज्य भयो ।
भारतभित्र महाराजहरुले शासन रहेको एउटा राज्य थियो ग्वालियर । हाल यो भारतको मध्यप्रदेश राज्यमा पर्छ । ग्वालियर राज्यको अन्तिम राजा जीवाजी राव सिन्धिया हुन् । जसले सन् १९२५ देखि १९४७ सम्म शासन गरे ।
भारतबाट ब्रिटिश राज अन्त्य भएपछि उनले तत्कालिन मध्य भारत प्रदेशको गभर्नरको रुपमा काम गरेका थिए । तर भारत सरकारले उनलाई ग्वालियरको महाराज उपाधि कायमै राखेको थियो । जुन उपाधि सन् १९६१ मा उनको मृत्यु नहुँदासम्म रहिरह्यो ।
अहिले सम्पत्तिको विवाद भएको यिनै जीवाजीराव सिन्धिया राज परिवारमा हो । जसको छोरा, छोरी र नाति समेत भारतको राजनीतिमा सक्रिय छन् ।
छोरा माधवराव सिन्धियाले भारतीय नेशनल कंग्रेसबाट राजनीति गरे र सांसद अनि मन्त्रीसम्म भए । छोरीहरु बसुन्धरा राजे सिन्धिया राजस्थानकी मुख्यमन्त्री र यशोधरा राजे सिन्धिया मध्यप्रदेशको मन्त्री भइन् ।
जीवाजीराव सिन्धियाकै माइली छोरी उषा राजेले भने नेपालमा राणा खानदानमा विवाह गरिन् । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका नाति पशुपतिशमशेर राणासँग । जो राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष, पटक पटक सांसद र मन्त्रीसमेत भए ।
ग्वालियरका महाराज जीवाजी राव सिन्धियाका नाति ज्योतिरादित्य सिन्धिया हाल नरेन्द्र मोदी सरकारका सञ्चारमन्त्री छन् ।
यही परिवारमा झण्डै ४ दशकदेखि सम्पत्तिको विवाद छ, जुन विवाद अब टुंगिने चरणमा पुगेको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
सम्पत्ति विवाद मेलमिलापका आधारमा टुंग्याउने भन्दै परिवारका सदस्यहरुले ग्वालियरको अदालतमा सहमतिपत्र बुझाएका छन् । यो निवेदनमाथि अदालतमा २० जुलाइमा सुनुवाइ हुँदैछ ।
सम्पत्तिको विवाद मोदी सरकारका मन्त्री ज्योतिरादित्य सिन्धिया र उनका फुपुहरु उषाराजे राणा, बसुन्धरा राजे सिन्धिया र यशोधरा राजे सिन्धियाबीचको हो । ग्वालियरका महाराजका एक छोरा र चार छोरी हुन् । जसमध्ये छोरा र जेठी छोरीको मृत्यु भइसकेको छ । त्यसैले उनीहरुका छोराछोरी यो मुद्दामा जोडिएका छन् ।
के के छ सम्पत्ति ?
भारतको सबैभन्दा धनी राजघरानामध्ये एउटा हो सिन्धिया राजघराना । सिन्धिया परिवारको ग्वालियर, मुम्बई, दिल्ली, शिवपुरी र उज्जैनसहित देशभरि अर्बौंको चल अचल सम्पत्ति रहेको छ । यो परिवारको सम्पत्ति करिब ४० हजार करोड भारतीय रुपैयाँ रहेको अनुमान छ ।
सिन्धिया परिवारको बिरासत देशका कयौं शहरमा फैलिइसकेको छ, तर प्रमुख सम्पत्ति ग्वालियर दरबार नै हो ।
जहाँको मुख्य सम्पत्ति हो, जय विलास प्यालेस, यो ग्वालियरको प्रमुख राजमहल हो । यो दरबार सन् १८७४ मा तत्कालिन राजा जयाजी राव सिन्धियाले बनाएका थिए । यो दरबारको एक भागमा अहिले म्युजियम सञ्चालन भइरहेको छ ।
मोदी सरकारका मन्त्री ज्योतिरादित्य सिन्धिया यही महलमा बस्छन् । यो महलको केही भागमा उनकी फुपु बसुन्धरा राजे सिन्धिया पनि बस्दै आएकी छन् । यो एउटै दरबारको मूल्य १० हजार करोड रुपैयाँ मूल्यांकन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
त्यस्तै अर्को सम्पत्ति छ, उषाकिरण प्यालेस । यो प्यालेस जय विलास प्यालेस सँगै छ । यसलाई अहिले ऐतिहासिक हेरिटेज होटलको रुपमा ताज ग्रुपले सञ्चालन गरेको छ ।
अर्को सम्पत्ति छ, हिरण्य वन कोठी । यो चाहिँ राजमहल र उषाकिरण प्यालेस परिसरमै रहेको विश्राम गृह हो ।
यसबाहेक पुणेको पद्माविलास प्यालेस, मुम्बईको समुद्र महल फ्ल्याट, दिल्लीको लेखा विहार, सिन्धिया भिल्ला र उज्जैनको ऐतिहासिक कालियादेह प्यालेस पनि सिन्धिया परिवारकै हो ।
सिन्धिया परिवारको सम्पत्ति यति मात्र छैन । उनीहरुले ट्रष्टमार्फत स्कुल, कलेज र युनिभर्सिटी पनि चलाएका छन् । विभिन्न कम्पनीहरु पनि सञ्चालनमा छन् ।
सिन्धिया परिवारको सम्पत्ति जीवाजी राव ट्रष्ट, कृष्ण माधव ट्रष्ट जस्ता संस्थाको अधिनमा पनि छ । त्यस्तै सिन्धिया इन्भेस्टमेन्ट प्रालि जस्ता व्यवसायिक संस्थाको विरासत पनि जोडिएको छ ।
के हो विवाद ?
सन् १९६१ मा महाराज जीवाजीराव सिन्धियाको मृत्यु भएदेखि नै सिन्धिया परिवारमा सम्पत्तिको विवाद सुरु भएको थियो । त्यो विवाद बढ्दै जाँदा मुद्दामाथि मुद्दा खापिँदै गएको देखिन्छ । एउटा अदालतमा मात्र होइन, ग्वालियरसँगै दिल्ली, मुम्बई र पुणे अदालतसम्म मुद्दा छ ।
महाराज जीवाजीराव सिन्धियाले आफ्नी ४ छोरीका लागि जनही ५ लाख रुपैयाँ हालेर एउटा एउटा ट्रष्ट खोलिदिएका थिए । ताकी त्यो ट्रष्ट उनीहरु ठूलो भएपछि प्रयोग गर्न पाउन् । अनि उनले सन् १९६६ मा ग्वालियरको लस्करस्थित साख्य भिल्ला छोरी यशोधरा राजेलाई दान दिएका थिए ।
महाराजको निधनपछि महाराजका छोरा माधवराव सिन्धियालाई सरकारले ग्वालियर राजघरानाको चल अचल सम्पत्तिको एकल हकदार तोकिदियो ।
तर राजा जीवाजीराव सिन्धियाकी पत्नी विजयराजे सिन्धियाले आफ्नो इच्छापत्रमा ८० प्रतिशत सम्पत्ति ४ छोरीलाई र २० प्रतिशत ट्रष्टलाई दिने निर्णय गरिन्, छोरा माधवरावलाई सम्पत्तिबाट वञ्चित गरिदिइन् ।
सन् १९८४ मा फेरि विजयराजे सिन्धियाले भएका चल सम्पत्तिहरु सबै बाँडफाँड गरिदिन भन्दै मुम्बई उच्च अदालतमा मुद्ुदा दायर गरिन् ।
ग्वालियर राज खानदानको चल सम्पत्तिको विवरण नै ३०० पेज लामो थियो । जसमा देशका विभिन्न ठाउँमा भएका घरजग्गासँगै ६२३ किलो सुन, ३३२ केजी चाँदी र नवौं शताब्दीदेखिका विभिन्न पेन्टिङ पेन्टिङहरु पनि थिए ।
मुद्दा नटुंगिदै महारानी विजयराजे सिन्धियाको निधन भयो । उनको निधन भएपछि उनका निजी सचिवले मुद्दा लडे । त्यो मुद्दामा छोरा माधव राव, बुहारी माधवी राव, छोरीहरु उषाराजे, बसुन्धरा राजे, यशोधरा राजे र पद्मावती राजेका छोरीहरु विपक्षी थिए । पछि माधवरावको पनि मृत्यु भयो उनका छोरा ज्योतिरादित्य सिन्धिया र छोरी चित्रांगदा राजे सिन्धिया पनि प्रतिवादी भए ।
मुख्य मुद्दा चाहिँ माधवरावका छोरा ज्योतिरादित्य सिन्धियाले सन् १९८९ मा दिएको मुद्दा हो । उनले पैत्रिक सम्पत्तिमा आफ्नो मात्र एकल स्वामित्व दावी गर्दै अदालतमा मुद्दा दायर गरे ।
उनका फपुहरु उषाराजे, बसुन्धरा राजे र यशोधरा राजेले त्यो मुद्दालाई च्यालेन्ज गर्दै पैत्रिक सम्पत्तिमा आफ्नो पनि हक लाग्ने भन्दै मुद्दा हाले । उनीहरुको दाबीको आधार पैत्रिक सम्पत्तिमा छोरीहरुको पनि बराबर हक लाग्छ भन्ने थियो । राजा जीवाजीरावका ४ छोरीहरु रहेकामा जेठी पद्मावतीको भने मृत्यु भइसकेको छ
यी सबैथरि मुद्दाहरु विभिन्न अदालतहरुमा चलिरहे । तर मुख्य विवाद सम्पत्तिकै थियो । सिन्धिया परिवारका सदस्यबीच सम्पत्ति बाँडफाँट कसरी गर्ने भन्ने सहमति हुनेवित्तिकै सबै मुद्दाहरु टुंगिनेवाला थियो ।
तर यो मुद्दा टुंगिने टर्निङ प्वाइन्ट बन्यो ज्योतिरादित्यको भाजपा प्रवेश । महाराज जीवाजीराव सिन्धियाका छोरा माधवराव सिन्धियाले कांग्रेसबाट राजनीति गरे । उनका छोरा ज्योतिरादित्यले पनि कांग्रेसबाटै राजनीति गरे ।
सन् १९७१ मा जन्मेका उनी सन् २००१ मा कांग्रेस पार्टीमा आवद्ध भएका थिए । सन् २००१ मा बुबा माधवराव सिन्धियाको निधन भएपछि भएको उपचुनावमा उनी मध्य प्रदेशको गुना क्षेत्रबाट निर्वाचित भए ।
त्यसपछि उनी २००४, २००९ र २०१४ को आम चुनावमा पनि निर्वाचित भए । २००८ देखि २०१४ सम्म कांग्रेस सरकारमा राज्यमन्त्री पनि भए । २०१४ मा कांग्रेस संसदीय दलका प्रमुख सचेतकसम्म भए । तर २०१९ को चुनावमा भने उनी भारतीय जनता पार्टीका नेतासँग पराजित भए ।
त्यसपछि उनी सन् २०२० मा भारतीय जनता पार्टीमा प्रवेश गरे । तुरुन्तै उनी भाजपाको तर्फबाट माथिल्लो सदन राज्यसभा सदस्यमा निर्वाचित भए । २०२४ को लोकसभा चुनावमा उनी फेरि गुना क्षेत्रबाटै निर्वाचित भए । चुनाव जितेपछि मोदीले तेस्रो कार्यकालमा उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
उनको भाजपा प्रवेश नै पारिवारिक सम्पत्ति विवाद समाधानको एउटा सूत्र बन्यो ।
००००
राजनीतिमा होस् कि कोर्टमा, ज्योतिरादित्य सिन्धिया आफ्ना फुपुहरु भन्दा विपरीत ध्रुवमा उभिएका थिए ।
जेठी फुपु पद्मावती बितिन् भने माइली उषाको नेपालमा विवाह भयो ।
साहिली बसुन्धरा राजे सिन्धिया र कान्छी यशोधरा राजे सिन्धिया भारतीय जनता पार्टीका ठूला नेता थिए । बसुन्धरा राजस्थानकी मुख्यमन्त्री नै भइन् भने यशोधरा मध्यप्रदेशको मन्त्री भइन् ।
जब ज्योतिरादित्य पनि भाजपामा नै गए, त्यसपछि फुपुहरुसँगको दूरी घट्दै गयो । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनीहरुको विवाद समाधानमा सन् २०२१ देखि नै सकारात्मक संकेतहरु देखिएका थिए । त्यसले अहिले मूर्त रुप पाउन लागेको हो ।
सम्पत्ति विवादमा कसरी समाधान हुँदैछ ?
पारिवारिक सूत्रलाई उधृत गर्दै एनडीटीभीले लेखेको छ सम्झौतामा व्यवहारिक फर्मुला अपनाइएको छ । जुन सम्पत्ति अहिले जसले उपयोग गरिरहेको छ, त्यो सम्पत्ति उसकै स्वामित्वमा हुने भनिएको छ । यद्यपि यसमै सबैको सहमति भयो भन्ने होइन तर विवाद समाधानको सबैभन्दा सजिलो उपाय यसैलाई मानिएको छ ।
भारतमा यो सम्पत्ति विवाद सेटलमेन्टतिर जाँदा नेपालका सञ्चार माध्यमहरुमा पनि समाचारहरु आएका छन् । जसमा राप्रपा नेता पशुपति शमशेर जबराको नाम पनि जोडिएको छ ।
सिन्धिया राज खानदानको सम्पत्ति विवाद समाधान हुँदा जबराकी पत्नी उषालाई पनि करोडौंको सम्पत्ति आउने ती समाचारहरुमा उल्लेख छ ।
ग्वालियरका महाराजको सम्पत्ति ४ छोरी र एक छोराबीच भागबण्डा गर्दा ५ भागको एक भाग उषाराजे राणाको पनि हुनेछ । भारतीय सञ्चार माध्यमहरुका अनुसार ४० हजार करोडको सम्पत्ति छ ।
त्यसको ५ भाग लगाउँदा ८ हजार करोड उषा राजेको नाममा आउन सक्छ । यद्यपि यो मुद्दा टुंगिसकेको छैन र अदालतले कस्तो फैसला गर्ने हो भन्ने पनि बाँकी नै छ ।
नेपालको शाह र राणा खानदानमा भारतीय राजा रजौटासँग विवाह हुने चलन धेरै पुरानो हो । पशुपति शमशेर जबरा र उषाको विवाह २०२४ सालमा भएको थियो ।
दुई परिवारको सम्बन्ध उनीहरुको विवाह हुनुभन्दा अगाडिदेखि नै थियो । पशुपति शमशेर जबराका बाबु विजयशमशेर जबरा भारतका लागि राजदूत पनि भएका थिए । त्यो बेलामा नै सिन्धिया परिवारमा आउजाउ थियो ।
पशुपति शमशेर बेलायतमा अक्सफोर्ड पढ्न जाँदा उषाका भाइ माधवराव पनि अक्सफोर्डमै पढिरहेका थिए । त्यतिबेला माधवराव पनि पशुपति शमशेरको व्यक्तित्वबाट प्रभावित भएका थिए । एक अन्तर्वार्तामा उषाराजेले भाइ र आमाको सरसल्लाहपछि पशुपति शमशेरसँग आफ्नो विवाह भएको बताएकी छन् ।
उनले के पनि खुलाएकी छन् भने उनको विवाहपछि भारतमै रहेको मोहनशमशेरको दरबारमा भित्र्याइएको थियो । नेपालमा राणा शासन समाप्त भएपछि मोहनशमशेर भारतमै गएर बसेका थिए र उहीँ उनको निधन भएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा रायमाझीलाई ४ वर्ष, खाँणलाई २ वर्ष कैद
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. क्षेत्री
सेनाको निशाना छलेर बितन्डा मच्चाइरहेको एउटा हात्ती
भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु रायमाझी र खाण दोषी ठहर







